२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको अपिल ,संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याउन आग्रह

कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको अपिल ,संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याउन आग्रह
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अपिल जारी गर्दे संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याउन आग्रह गर्नुभएको छ ।

आज एक बिज्ञप्ति जारी गर्दे महामन्त्रीद्वय थापा र शर्माले समाधान पहिल्याउन मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिड्न चाहने सबैमा आह्वान गर्नुभएको छ ।

उहाँहरुले जारी गर्नुभएको बिज्ञप्तिका पूर्णपाठ

-आदरणीय नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू

Gen-Z युवाहरूले सुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाएका होनहार युवाहरूप्रति फेरि पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी छ । नेपाल देशको समुन्नती र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ । मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिड्न चाहने सबैमा नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ ।

१. यो विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि सम्माननीय राष्ट्रपतिज्यूले लिनुभएको पहलकदमीको स्वागत गर्दछौं । सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्न हामी आग्रह गर्दछौं । नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न आ–आफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आम नागरिक, नागरिक समाज, संचार जगत, अन्तराष्ट्रिय समुदाय सबै तहबाट पनि साथ–सहयोगका लागि अपील गर्दछौं ।

२. हामी यो पहललाई Gen-Z पुस्ताको भावनाबमोजिम नै निष्कर्षमा पुर्‍याउन आग्रह गर्दछौं । त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधानबमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहन्छौं । विधि विहिनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।

३. सोमवारको प्रदर्शनका दिन अत्यधिक बल प्रयोगबाट भएको गम्भीर अपराधको उच्चस्तरीय आयोग मार्फत गहिरो छानबिन गरेर दोषीहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउनु पर्छ भन्ने कुराको पनि पुनः ध्यानाकर्षण गराउँदछौं ।

४. सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेका आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ । हाम्रो पटक पटकको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनैतिक नेतृत्वले स्थितिको सही आंकलन आफू गर्न सक्नुपर्छ या अरुले दिएको सहि सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौं ।

५. सोमबार भएको मानवीय क्षतिले दिएको चोटमाथि मंगलबारका घटनाहरुले थप पीडा थप्न पुग्यो । शान्तिपूर्ण प्रदर्शन मार्फत दबाब सिर्जना गराएर आफ्ना माग पूरा गराउने Gen-Z पुस्ताको उद्घोष विल्कुलै जायज थियो । तर सिंहदरबार, शितल निवास, संसद भवन, सर्वोच्च अदालत लगायतमा आगजनी गरेर देशको ऐतिहासिक धरोहर र खर्बौंको संरचना अनि लोकतान्त्रिक संस्था ध्वस्त गर्ने र सार्वजनिक सम्पत्तिमा नष्ट गर्ने घोषणा Gen-Zको थिएन, र त्यो Gen-Z को माग पनि होइन भन्ने हाम्रो विश्वास हो । कयौं सरकारी कार्यालय, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठान आदिमा गरिएको आगजनि अत्यन्तै दुःखद र निन्दनीय छ । Gen-Z आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर आन्दोलनको हुलमुलमा नियतवश पसेकाहरूले योजनाबद्ध रुपमा यो सब विध्वंश गरेका हुन् भन्ने हाम्रो बुझाइ छ । जेनजी युवाहरुको स्वस्फुर्त प्रदर्शनमा विभिन्न स्वार्थ समूहहरुले गरेको घुसपैठ, हिंसा, हत्या र योजनाबद्ध आगजनीको कठोर निन्दा गर्छौं । अबको सरकारले देशब्यापी रुपमा भएको यो सम्पूर्ण ध्वंसको छानबिन गर्न र पुनर्निर्माणका लागि यथासक्य चाँडो योजना निर्माण गर्नुपर्दछ ।

६. नागरिकको बोल्ने अधिकारको रक्षाका लागि लडेका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपर भएको आक्रमण एवं अन्य जो जसमाथि अमानवीय ढङ्गले भौतिक आक्रमण भएको छ, ती प्रत्येक घटना दुःखद र निन्दनीय छन् । यस्ता घटनाको हामी प्रष्ट शब्दमा भ्रत्सर्ना गर्दछौं ।

७. संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरुले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको बिषयलाई गम्भीर आत्मसमीक्षा गरिरहेका छौं । त्यस क्रममा सत्तालाई जवाफदेही बनाउन गरेका हाम्रा प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा हामी आत्मालोचित छौं । तर, अब फेरिएको यस परिस्थितिमा युवाहरुको आकांक्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं । हामी विश्वस्त छौं– आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको नेपाली कांग्रेस आम जनताको अपेक्षा, Gen-Z युवाहरुको भावना र अन्य भिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि आउनेछ ।

८. आम नागरिकको प्रतिनिधत्व, न्याय र समावेशिताका हकमा हामी जति अघि बढेका थियौं, त्यसबाट पछि फर्किनु भनेको अरु यस्तै आन्दोलन र विद्रोहहरुको श्रृंखलालाई निम्तो दिनु हो भन्ने स्मरण गर्दै, यस अघिका आन्दोलनका बेला अहिले जस्तै गरी सार्वभौम नागरिकहरुले ज्यू–ज्यान दिएर हात परेका उपलब्धि नउल्टियुन भन्नेमा र देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन अब हाम्रो सम्पूर्ण प्रयास केन्द्रित गर्नेछौं । परिवर्तनले सदैव अग्रगमनलाई बोक्नुपर्छ भन्ने मान्यतामा हामी दृढ ढंगले प्रष्ट छौं ।

९. हरेक देशको प्रगति यात्रा र राजनीतिमा अनुकुल र प्रतिकुल स्थिति आउँछ नै । नेपालले पनि पटक पटक यस्तो अवस्था सामना गर्दै आएको छ । दुबै अवस्थामा संयम एवं एकतासाथ कार्य गर्नु र नागरिकपंक्तिसँग जोडिइरहनु प्रत्येक पार्टी सदस्यको कर्तव्य हुन्छ । पछिल्ला दिनमा विकसित घटनाक्रमबाट देश र विदेशमा रहनुभएका साथीहरू चिन्तित हुनुहुन्छ, अलमलिनु भएको छ । नेपाली कांग्रेस धेरै पटक अनेकन आक्रमण खेप्दै, उठ्दै र जुट्दै अगाडि वढेको हो । त्यसैले अहिलेको विषम परिस्थितिमा सबै साथीहरूलाई कुनै पनि रुपमा विचलित नभई संयम रहन, विवेकपूर्ण ढङ्गले कार्य गर्न र एकताबद्ध रहन सबै सदस्य र शुभचिन्तकमा अपील गर्दछौं । हामी पुनः विश्वास दिलाउन चाहन्छौं– गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौं र समुन्नतीको यात्रालाई सम्हाल्ने छौं ।

अन्त्यमा, अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य छ । अत्यन्तै कठिन अवस्था र प्रतिकूलताबीच पनि ‘सामाजिक एकता र सदभाव’ नेपाली समाजको विशिष्ट चरित्र हो । अहिलेको अवस्थामा यो चरित्र बलियो ढंगले प्रस्तुत गर्न स्वदेश र विदेशमा रहेका समस्त नेपाली आमाबुबा, दिदिबहिनी दाजुभाइमा हार्दिक आह्वान गर्दछौं ।