काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले प्रधानमन्त्रीलाई दमनको जिम्मेवारी लिएर तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।
भदौ २३ मा भएको आन्दोलनका क्रममा युवाहरूको ज्यान गएको घटनाप्रति तीव्र आक्रोश र दुःख व्यक्त गर्दै नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।
‘रातभर सुत्न सकिनँ। म जस्तै देशभित्र र बाहिरको सिंगो नेपाल सुत्न सकेको छैन’ भन्दै थापाले आन्दोलनमा मारिएका युवाहरूको अबोध मृत्युले आफूलाई गहिरो पीडा दिएको बताएका छन् ।
उनले प्रधानमन्त्रीकै नेतृत्वमा भएको यो घटनाको सम्पूर्ण जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले लिनुपर्ने र ‘अबिलम्ब पद त्याग्नुपर्ने’ बताएका छन् ।
थापाले यति गम्भीर अवस्थामा नेपाली कांग्रेस सरकारमा बसिरहनु नहुने पनि उल्लेख गरेका छन् । उनले कांग्रेस पार्टीलाई तत्काल सरकारबाट फिर्ता गराउने निर्णय गराउन आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्–
रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।
अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।











