काठमाडौं: पछिल्लो समय नेपाली समाजमा अङ्गदान गर्ने प्रचलन बढ्दै गएको छ । देहावसन भइसकेको अवस्थामा मानव अङ्गहरु विभिन्न व्यक्तिका लागि उपयोगीसिद्ध हुने गरेपछि अङ्गदान गर्नेक्रम बढेको छ ।
हालैका वर्षमा शताब्दी पुरुष सत्यमोहन जोशी र वरिष्ट पत्रकार भैरव रिसालले पनि शरीर दान गर्नु भएको थियो । उहाँहरुका शरीर मेडिकल अध्ययन, अनुसन्धान प्रयोजनका लागि अस्पतालमा राखिएका छन् ।
प्रत्यारोपण हुन काम लाग्ने मानव अङ्गहरु जस्तै, आँखा, कलेजो, मृगौला, छाला अहिले दान गर्नेक्रम बढेको हो ।
यहीक्रममा निजामती सेवा दिवसको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत सहसचिव डा. भिष्मकुमार भूसालले पनि आज शरीर दान गर्ने घोषणा गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, “आखिर खरानी हुने शरीर हो । ज्यान दान गरियो आजै । मरेपछि पनि काम लागूँ कसैका लागि ।”
डा भूसालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरबाट डोनर कार्ड (दाता कार्ड) लिनु भएको छ । उहाँको केन्द्रमा दर्ता नं. २७३० रहेको छ । केन्द्रले हाल मुख्यत: मृगौला र कलेजो प्रत्यारोपणको कार्य गरिरहेको छ ।










