काठमाडौँ । संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरी देवी न्यौपानेले राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेपछि राजीनामा दिनु भएको हो ।
न्यौपानेले तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
राजीनामा पत्रमा लेखिएको छ ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै र तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु।’
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीका शीर्ष नेताको बैठकले उहाँलाई राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
नयाँ सभापतिका लागि यही भदौ ११ गते निर्वाचन हुँदैछ । आज दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ । कांग्रेस सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।










