१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना



अ+ अ-

काठमाडौँ । शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गतका ठूला आयोजनाको प्रभावकारी निगरानीका लागि ‘अनलाइन अनुगमन कक्ष’ सञ्चालनमा ल्याएको छ ।

प्राथमिकतायुक्त आयोजनाहरुको २४सै घण्टा अनलाइनमार्फत अनुगमन गर्न सकिने उक्त कक्षको बिहीवार एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गर्नुभयो । उक्त कक्षबाट मन्त्रालयका कर्मचारीहरुले आयोजना प्रमुखसँग लाइभ कुराकानी र छलफल गर्न सक्नेछन् । शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री सिंहले अनलाइन अनुगमन प्रणालीले समय र खर्च वचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या तत्काल समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विकास निर्माणका आयोजनाहरुलाई गति दिन यस कक्षले महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो । तत्कालका लागि अनलाइन अनुगमन कक्षबाट कीर्तिपुररस्थित क्रिकेट रंगशाला र नवलपुर जिल्ला सदरमुकाको आयोजना मनिटरिङ गरिएको छ । आउँदा दिनमा मन्त्रालयमातहतका प्राथमिकतायुक्त सबै आयोजनालाई अनुगमन गर्ने प्रक्रियामा जाने मन्त्री सिंहले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्राथमिकतायुक्त आयोजनाहरुको अनलाइन अनुगमन कक्षको प्रारम्भ भएको छ । प्रविधिको अधिकतम सदुपयोग गरेर विकास निर्माणका कामलाई तिब्रताका साथ सम्पन्न गर्नको लागि यी टुल्सहरुको हामीले प्रयोग गर्न जान्नुपर्ने हुन्छ । त्यहीअनुसार आज हामीले यो कार्य अगाडि बढाएका हौं । अब हाम्रो मन्त्रालयबाट प्राथमिकतामा परेका विकास निर्माणका आयोजनाहरुको अनुगमन गरिनेछ । यद्यपि भौतिक अनुगमन परम्परागत शैली पनि हामीले छोड्नु हुँदैन । फिल्डमै गएर अनुगमन गर्ने तथा भौतिक प्रगति के कस्तो छ बुझ्ने कार्यहरु त हुन्छन् नै । तर यो अनलाइन अनुगमनले समय तथा खर्च वचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या अनुगमन कक्षमा बसेका कर्मचारीहरुसँगको समन्वयमा समाधान गर्न सहयोग पुग्नेछ । अहिले नेपालमा विकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न नहुने समस्या छ । त्यो समस्या समाधान गर्नको लागि यसले महत्वपूर्ण सहयोग गर्ने हाम्रो विश्वास छ ।’ 

अनलाइनमार्फत अनुगमन गरेपनि भौतिक अनुगमन गरेर प्रगतिको अवस्था बुझ्ने कार्य नरोकिने मन्त्रालयले जनाएको छ ।