काठमाडौँ । अमेरिकाले ६,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अनुसन्धानमा तीमध्ये केहीले कानून उल्लङ्घन गरेको, केहीले भिसाको म्याद सकिएपछि पनि बसेको, भने केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको छ ।
अमेरिकामा रद्द गरिएका ६००० भिसामध्ये लगभग दुई तिहाइ अर्थात् लगभग ४००० भिसा धारकहरू अपराधमा संलग्न थिए ।
यसमा आक्रमण, चोरी र मादक पदार्थ सेवन गरी गाडी चलाउने समावेश छन् ।
अमेरिकी विदेश विभागले केही घटनाहरू आतंकवादसँग पनि जोडिएको पुष्टि गरेको छ । २०२३–२४ मा ११ लाखभन्दा बढी विदेशी विद्यार्थीहरू अमेरिकी कलेजहरूमा अध्ययन गरिरहेका थिए ।
केही व्यक्तिहरूले शिक्षा भिसाको दुरुपयोग गरिरहेका छन् भन्ने कुरामा सरकार चिन्तित छ । त्यसैले भिसा नियमहरूको छानबिनलाई अझ कडा बनाइँदैछ ।
आतंकवादसँग सम्बन्धित मुद्दाहरूको कारणले गर्दा अमेरिकाले २०० देखि ३०० विद्यार्थी भिसा रद्द गरेको छ । यी भिसाहरू आतंकवाद र सुरक्षासँग सम्बन्धित आप्रवासन र राष्ट्रियता ऐनको धारा अन्तर्गत रद्द गरिएको थियो । यी घटनाहरूको विवरण सार्वजनिक गरिएको छैन ।
अधिकारीहरूले यी घटनाहरूले अमेरिकी कानूनको उल्लङ्घन मात्र नगरी कलेज क्याम्पस र आम जनताको सुरक्षामा पनि खतरा निम्त्याएको बताएका छन् ।
अमेरिकी सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा दिने प्रक्रियालाई निरन्तर कडाइ गरिरहेको छ । केही दिन अघि अमेरिकी विदेश विभागले सेप्टेम्बर २ देखि भिसा ड्रप बक्स सुविधा अर्थात् अन्तर्वार्ता छूट कार्यक्रम (आईडब्लुपी) बन्द गर्ने घोषणा गरेको छ ।










