काठमाडौं । गत आर्थिक वर्षको २०८१/८२मा २० वटा वाणिज्य बैंकहरुले ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका हुन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.६८ प्रतिशत बढि हे । सो अवधिमा बैंकहरूले ४९ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १६ वटा बैंकको नाफा बढेको छ भने चार वटाको घटेको छ । नाफा घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंक रहेका छन् ।
गत आवमा सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड कमाएको छ । सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । यसले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस्तै, तेस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । प्रभु बैंकले ५ अर्ब ४४ करोड नाफा कमाउँदा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ भने कृषि विकास बैंकले ४ अर्ब १५ करोड, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड र प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड खुद नाफा कमाएका छन् ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड नाफा कमाउँदा नेपाल बैंकले ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबि बैंकले ३ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारी बैंकले २ अर्ब ११ करोड र माछापुच्छ्रे बैंकको २ अर्ब १ करोड खुद नाफा रहेको छ।
गत आवमा नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड नाफा कमाएको छ । हिमालयन बैंकले १ अर्ब ५१ करोड र सिटिजन्स बैंकले १ अर्ब २९ करोड खुद नाफा आर्जन गर्दा एनआईसी एशिया बैंकले सबैभन्दा कम १६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।










