३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नरम विद्या : एमालेमा धमिलिएको पानी सङ्लिने संकेत !

नरम विद्या : एमालेमा धमिलिएको पानी सङ्लिने संकेत !
अ+ अ-

काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गरेर ११औं महाधिवेशनमा अध्यक्ष बन्ने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता पार्टीले होल्ड गरिदिएपछि एमालेमा हलचल मच्चिँदै आएको छ । पूर्वराष्ट्रपति भण्डारीको महत्वाकांक्षी कदममा एमालेले धक्का दिएपछि पार्टी दुई ध्रुवमा बाँडिएको छ । पदाधिकारी, पोलिटब्यूरो हुँदै केन्द्रीय कमिटी बैठकमा पनि बादविवाद भयो । अन्तत: पार्टीले भण्डारीको सदस्यता होल्ड गरिदिने निर्णय गरेपछि भण्डारी पक्ष आक्रोसित भएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टी विभाजनसम्म गर्ने अड्कलबाजी भइरहेका बेला शुक्रबार पूर्वउपाध्यक्षको हैसियतमा पत्रकार सम्मेलन गर्दै आफू एमालेको सदस्य भएको र कसैले पनि सदस्यता खोस्न नसक्ने बताउनुभयो । उहाँले आफू राजनीतिमा पुनरागमन गरेर पदका लागि नभई जनताका लागि काम गर्ने उद्घोष गर्नुभयो । २०७२ साल कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित हुनु अघि भण्डारी एमालेको उपाध्यक्ष हुनुहुन्छ । दोस्रो कार्यकाल पार्टी उपाध्यक्ष रहेकी भण्डारीलाई एमालेले राष्ट्रपति बनाएर शीतलनिवास पठाएको थियो ।

राष्ट्रपतिमा पनि दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतलनिवासबाट फर्किएकी भण्डारीले गत १४ असारमा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो । त्यति मात्र होइन, उहाँले एमालेको ११ औं महाधिवेशनबाट अध्यक्ष बन्ने अभिव्यक्ति दिनुभएको थियो । तर यो कुरा तेस्रो कार्यकाल अध्यक्ष हुने लालसामा रहेका केपी शर्मा ओलीलाई चित्त बुझेको थिएन । त्यही कारण ओलीले नै भण्डारीको सदस्यता होल्ड गराउने निर्णय गर्नुभएको थियो ।

भण्डारीको चाहनाअनुसार एमाले नेतृत्व अघि बढ्न नसकेपछि विवाद चुलिएको थियो । एमाले केन्द्रीय कमिटी बैठकले पार्टी सदस्यता होल्ड गरिदिएपछि भण्डारी झन् आक्रोसित हुनुभएको थियो । लगत्तै आफ्नो कठोर निर्णय सुनाउने उद्घोषसमेत गर्नुभयो । त्यही सिलसिलामा उहाँले शुक्रबार पत्रकार सम्मेलन गर्नुभएको थियो ।

धेरैको अपेक्षा थियो– भण्डारीले एमाले नेतृत्वविरुद्ध कडा टिप्पणी मात्र गर्नुहुने छैन, आगामी कदमबारे स्पष्ट समेत पार्नुहुने छ । तर त्यसअनुसारको पत्रकार सम्मेलन भएन । भण्डारी निकै शान्त शैलीमा प्रस्तुत् हुनुभयो । उहाँले नेतृत्वको आलोचना गर्नुभएन । बरु राजनीति गर्न पाउने आफ्नो संवैधानिक अधिकार भएको जिकिर गर्नुभयो ।

पत्रकार सम्मेलनमा भण्डारी एमालेका पूर्वउपाध्यक्षको हैसियतमा उपस्थित हुनु भयो भने ब्यानरसमेत एमालेकै प्रयोग गरिएको थियो । यसअघि केही पार्टी कार्यक्रममा सहभागी भए पनि एमालेको ब्यानरमा भण्डारी पहिलोपटक उपस्थित हुनुभएको हो ।सूर्य चिह्न, नारामा जबज र मदन भण्डारीको तस्वीर राखिएको ब्यानर मुनि बसेर भण्डारीले आफू पूर्वराष्ट्रपतिबाट पूर्वउपाध्यक्ष बनेको सन्देश दिनुभयो ।

पत्रकार सम्मेलनमा छोटो मन्तव्यमार्फत भण्डारीले एमाले नेतृत्वको निर्णयबाट आफू विचलित नभएको सन्देश दिनुभएको छ । ‘म सम्पूर्ण पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरुलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आह्वान गर्दछु’, भण्डारीले भन्नुभएको छ । यसको अर्थ उहाँले एमालेलाई नै माया गरिरहनुभएको छ । बरु उहाँले आफ्नो राजनीतिक यात्रा अघि बढाउन कुनै कठोर निर्णय गर्नुभएन । शान्तशैलीमा आफ्ना भनाइ राखेर उहाँले आफ्नो पत्रकार सम्मेलन टुंग्याउनुभयो ।

भण्डारीले कसैलाई लाग्दैमा आफ्नो सदस्यता खारेज गर्न नसक्ने विश्वास व्यक्त गर्नुभयो । ‘२०३७ सालमा लिएको हो (सदस्यता), त्यतिखेर जननेता मदन भण्डारी कोशी–सगरमाथाको इन्चार्ज हुनुहुन्थ्यो, उहाँले शपथ खुवाउनुभयो मलाई । अब यहाँ कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो लाग्दैन’, उहाँले भन्नुभयो ।

उहाँले आफ्नो सदस्यता निष्क्रिय बनाउनेहरुप्रति आक्रोश नै पोख्नुभएको छ । ‘केही मुठ्ठीभर मित्रहरुले, हुलहुज्जतको भरमा, उत्तेजनामा आएर यस्तो गर्न मिल्दैन । पार्टीको पनि आफ्नै प्रक्रिया हुन्छ’ भण्डारीले भन्नुभएको छ, ‘हाम्रो पार्टी एउटा प्रणालीमा चल्छ । कसलाई कतिखेर के मन लाग्यो, त्यो गर्नु राम्रो विषय होइन ।’

भण्डारीले आफ्नो पार्टी सदस्यता निष्क्रिय बनाउन कुनै संवैधानिक, कानूनी आधार नभएकाले त्यसका विरुद्ध आवाज उठाउन पार्टी पंक्तिमा आग्रह गर्नुभएको छ । एमाले नेतृत्वविरुद्ध कडा रुपमा नभई नरम नीति प्रयोग गरेकी भण्डारीले अब आफ्नो आगामी यात्राका बारेमा पनि खुलस्त बनाउनुभएन । बरु उहाँले एमालेमै कार्यकर्ता तहमा बसेर काम गर्न तयार रहेको संकेत गर्नुभयो ।

नेतृत्वमा पुग्ने कुनै लालसा नभएको दाबी गर्ने भण्डारीले एमाले पार्टीलाई राम्रो बनाउन आम कार्यकर्तालाई आह्वान गर्नुभयो ।

त्यसो त पत्रकार सम्मेलन भइरहँदा देखिएको दृश्य र सुनिएको अभिव्यक्ति हेर्दा भण्डारीले केही अर्थपूर्ण सन्देश पनि दिनुभएको छ । एमाले निर्माणमा आफ्नो योगदान बुझाउन पार्टी सदस्यता प्राप्त मिति र निर्वाह गरेको जिम्मेवारी उहाँले सम्झाउनुभएको छ ।

भण्डारीले कडा कदम चाल्न सक्ने अनुमानका बीच भएको पत्रकार सम्मेलन सहज भयो । न उहाँले एमाले नेतृत्वको चर्को आलोचना गर्नुभयो न त आफ्नो महत्वाकांक्षा नै प्रस्तुत गर्नुभयो । बरु एमालेलाई मिलेर बढाउन आह्वान गर्नुभयो । यसले पनि अब एमालेमा केपी ओली र विद्या भण्डारीबीचको द्वन्द्व साम्य पार्न सहयोग पुग्ने देखिएको छ । एमालेजनमा देखिएको कालोबादल अव विस्तारै फाट्न थालेको देखिन्छ । एमालेमा धमिलिएको पानी संग्लिन थालेको संकेत देखिएको छ । आम कार्यकर्तामा उत्साहसमेत सिर्जना गरेको छ ।