धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यालय भरिभराउ भएर खुला आकाशमुनि क्वारेन्टाइन बनाएका खबर आइरहेका बेला उपमहानगरपालिका क्षेत्रकै क्वारेन्टाइन अस्तव्यस्त पाइएका छन् । तराईको ४२ डिग्रीको तापक्रममा पनि अधिकांश क्वारेन्टाइनमा पंखा उपलब्ध छैन । खानेपानीको अभाव छ । भारतबाट आएका नागरिकलाई खाना, खाजा, बास र स्वास्थ्य परीक्षण निःशुल्क भनिए पनि त्यो व्यवस्था हुन सकेको छैन । धनगढी उपमहानगरपालिका–१ का हर्कबहादुर चन्द पाँच दिनअघि भारतको राजस्थानबाट घर फर्किए । कैलालीको गौरीफन्टा नाकाबाट हजारौंको भीड छिचोल्दै आएका उनलाई धनगढीको मुख्य बजारस्थित त्रिनगर माविको क्वारेन्टाइनमा राखिएको छ । ‘बेसार र नुन हालेको भात मात्रै दिन्छन्, मैले खानै सकिनँ’, उनले भने, ‘घरबाट खाना मगाएर खाइरहेको छु ।’ क्वारेन्टाइन क्षेत्रबाट २० मिनेटमा उनको घर पुगिन्छ । ‘कोरोना लागिहाले पनि इम्युनिटी ९प्रतिरोध क्षमता० बढाउनुस् भन्छन् सबै’, उनले भने, ‘बेसार हालेको भात खाए के इम्युनिटी बढ्छ ? त्यसैले घरबाट खाना मगाइरहेको छु ।’
सोही वडाकै उमेशसिंह ठगुन्ना र उनका भाइ भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेको मंगलबार तीन दिन भयो । उनीहरूले त्रिनगर माविको भवनको बरन्डामा बेन्च राखेर खाट बनाएका छन् । ‘यो विद्यालयभित्र हुलिदियो । केही थिएन । सबै कोठा भरिभराउ थिए । काँ गएर सुत्नु त ? ’, उमेशले भने, ‘त्यसैले यो बरन्डामा बेन्च जोडेर पल्टिने जुक्ति निकालेका छौं ।’ उनीहरूलाई पनि बिहान नास्ता, दिउँसो र बेलुकीको खाना घरकाले ल्याइदिन्छन् । ‘नास्ता र खाना मात्रै होइन, ओढ्ने–ओछ््याउने र पंखासमेत हामीले घरबाट मगाएका छौं’, उमेशले भने, ‘सुरुको दिन त बिजुली पनि दिएन । कराएपछि मात्रै बल्ल बिजुली दियो । अहिले बरन्डामा सुतिरहेका छौं ।’
त्रिनगर माविमा वडा नम्बर १ र ४ का ६० जनाभन्दा स्थानीय क्वारेन्टाइन बसेका छन् । यही विद्यालयमा बसेका धनगढी–३ का ४७ वर्षका पुरुषको दुई दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । सँगै भारतबाट आएर एकै विद्यालयमा क्वारेन्टाइन बसेका व्यक्तिमा कोरोना पुष्टि भएपछि अरू नागरिक त्रासमा छन् । उनीहरूले कोरोनाका बिरामी बसेको कोठा छाडेका छन् । उनले प्रयोग गर्ने गरेको धारामा पनि जान छाडेका छन् । ‘संक्रमितहरूको पनि सीमामै छनोट गरिदिएको भए राम्रो हुन्थ्यो’, हर्कबहादुर चन्दले भने, ‘कोरोना लागेका र नलागेका एकै विद्यालयमा छन् । एकै धारा छ । शौचालय पनि सेयर गर्नुपर्छ ।’
सरकारले जारी गरेको क्वारेन्टाइन निर्देशिकामा बिहान ८ बजे खाजा, दिउँसो खाना, बेलुकी ४ बजे खाजा र राति ८ बजेभित्र खाना दिनुपर्ने तोकिएको छ । हरेक क्वारेन्टाइनमा बिहान र बेलुकी सबैको थर्मल गनबाट ज्वरो मापन गर्नुपर्ने, क्वारेन्टाइनमा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने उल्लेख छ । ‘मापदण्डअनुसारको सेवासुविधा कसरी दिने ? न प्रदेश सरकारबाट पैसा आएको छ न संघ सरकारबाटै’, धनगढी–१ का वडाध्यक्ष सन्तोष मुडभरीले भने । उनले खानेपानी अभाव भएको पनि स्वीकार गरे । सरकारले क्वारेन्टाइनमा बसेका व्यक्तिका लागि दैनिक ५ सय १० रुपैयाँ दिने भनेको वडाध्यक्ष मुडभरीले सुनाए । ‘हामीसँग रकम आएको छैन । क्वारेन्टाइनको निर्देशिका पनि बनेको छैन’, उनले भने, ‘त्यो रकम आएपछि नगदै बुझेर लैजानुहोला । अहिले घरबाटै खाना मगाउनुस् भनेका छौं ।’ घरबाट पनि खाना ल्याउन नमिल्नेहरूका लागि त्यसको बन्दोबस्त गरिरहेको उनको भनाइ छ ।
धनगढीका ४० वटा विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । ती क्वारेन्टाइनमा सोमबारसम्म १ हजार १ सय २८ जना बसेका छन् । सरकारी विद्यालयमा रहेका अधिकांश क्वारेन्टाइन अस्तव्यस्त छन् । उपमहानगरपालिकाले १९ वटै वडाका क्वारेन्टाइन व्यवस्थापन गर्न वडा नम्बर ८ का वडाध्यक्ष नारायणप्रसाद बराललाई संयोजक तोकेको छ । सीमा क्षेत्रबाट भित्रिने नागरिकलाई क्वारेन्टाइनसम्म पुर्याउने, त्यहाँको बाँकी व्यवस्थापनको जिम्मा पनि उनलाई नै दिइएको छ । ‘१ हजार १ सय २८ जना पुगिसके । अझ दैनिक २–३ सय थपिने क्रम जारी छ । प्रदेश र संघ सरकारले सुको रकम पनि पठाएका छैनन्’, संयोजक बरालले भने, ‘क्वारेन्टाइनको राम्रो व्यवस्थापन गर भनेर आदेश, निर्देशन मात्रै आउँछ । निर्देशनले कसरी व्यवस्था हुन्छ रु ’
निजीका क्वारेन्टाइन व्यवस्थित
त्रिनगर माविसँगै पर्खाल जोडिएको बी पोलिटेक्निक इन्स्टिच्युटले महिला र बालबालिकाका लागि क्वारेन्टाइन बनाएको छ । त्यहाँ सीमा नाका खुलेपछि १ सय जना महिला र बालबालिका आएर जाँदै गरेका छन् । मंगलबार पनि तीन जना बालबालिकासहित आठ जना महिला त्यहाँ बसिरहेका छन् । ‘खान र बस्नका लागि राम्रो व्यवस्था छ । सरसफाइ पनि राम्रो छ । कार्पेट लगाएका कोठाहरु छन् । नास्ता, खाना र बसाइ राम्रो छ’, धनगढी–१ की ६० वर्षीया बसन्ती देबलले भनिन् ।
महिला तथा बालबालिका बढी जोखिममा हुने भएकाले आफ्नो इन्स्टिच्युटलाई क्वारेन्टाइनका लागि दिएको सञ्चालक हीरा भण्डारीले बताइन् । इन्स्टिच्युटमा रहेका महिला र बालबालिकालाई बाहिरबाट पनि सहयोग भइरहेको उनको भनाइ छ । अन्नपुर्णपोष्ट दैनिक