काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी प्रवेश नगर्न आग्रह गर्नुको पछाडि अध्यक्ष केपी शर्मा ओलीको स्वार्थ जोडिएको छ ।
ओलीले आफूलाई एमालेको निर्विकल्प अध्यक्षका रुपमा दाबी गरिरहनुभएको छ । उहाँलाई ठक्कर दिनेहरु कोही देखिएका छैनन् । आफूमाथि प्रश्न उठाउनेहरुलाई उहाँले एकपछि अर्को गर्दै ठेगान लगाउँदै आउनुभएको छ ।
ओलीलाई चुनौती दिने माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम हुन् या भीम रावल नै किन नहुन् सबैलाई एकपछि अर्को गर्दै पार्टीबाट पन्छिनु परेको छ ।
एमालेमा ओलीले १० वर्षदेखि एकछत्र राज गर्दै आउनुभएको छ । उहाँले जे बोल्यो त्यो नै पार्टीको नीति बन्ने गरेको छ । सरकार सञ्चालनका विषयमा होस् या पार्टी चलाउने मामिलामा नै किन नहोस् ओलीलाई चुनौती दिने नेता एमालेमा छैनन् ।
विरोधीलाई तह लगाएर छाड्ने ओली प्रवृत्तिका कारण नेताहरु आजित छन् । तर पार्टीमा राम्रो पकड बनाएर बसेका ओलीविरुद्ध उनीहरु बोल्न तयार देखिँदैनन् । त्यही कारण एमालेमा ओली निर्विकल्प जस्तै देखिनुभएको हो ।
पछिल्लो समयमा ओलीलाई चुनौती दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनरागमन गर्ने प्रयास गर्नुभयो । उहाँले एमालेको पार्टी सदस्यतासमेत नवीकरण गर्नुभएको थियो । तर त्यो सदस्यता ओलीकै निर्देशनमा होल्ड भएको छ । भण्डारीलाई पार्टीमा अघि बढ्न ओलीले नै रोक लगाइदिनुभएको छ ।
ओलीले पार्टीमा आफ्नो एकाधिकार कायम राख्न चितवनमा भएको १० औं महाधिवेशनमा ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी अध्यक्ष हुनु नपाउने विधानको व्यवस्था संशोधन गर्नुभयो । उहाँले आफ्नै लागी पार्टी विधान परिवर्तन गर्नुभएको हो । अहिले पनि पदाधिकारी, पोलिटब्यूरो हुँदै केन्द्रीय कमिटीबाट पारित नयाँ विधानको मस्यौदामा ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाइने व्यवस्था राखिएको छैन । त्यो ओलीलाई नै लक्षित गरि भएको हो ।
पूर्वराष्ट्रपति भण्डारी र उहाँ निकट केही नेताहरुले उमेर हद र कार्यकाल तोक्नुपर्ने कुरा उठाउँदै आएका छन् । पार्टीमा फर्कने चाहना पनि भण्डारीले राख्दै आउनुभएको छ । तर ओलीले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किने कुरालाई पूरै नकारी दिनुभएको छ ।
केन्द्रीय कमिटी बैठकलाई समापन सम्बोधनका क्रममा ओलीले पूर्वराष्ट्रपतिको राजनीतिमा फर्किने कुरालाई सदस्यता नवीकरणमा लगेर अड्काइ दिनुभएको हो ।
भण्डारीलाई ‘गणतन्त्र गौरव’को सम्मान दिइएकोसमेत स्मरण गर्दै उहाँले पार्टीको राजनीतिभन्दा माथि रहेर बस्नुपर्ने धारणा राख्नुभएको छ ।
उहाँले पार्टी विधानको धारा ८ र ९ उद्धृत गर्दै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको बताउनुभएको छ ।
भण्डारीले पार्टीको ११ औँ महाधिवेशनबाट नेतृत्व लिने तयारीसहित गत असार १४ गते राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो । तर एमालेले विधानको प्रावधानको किचलो झिकेर तगारो हालेको छ ।
भण्डारीका हकमा तगारो हालेको एमालेले अन्य नेताका हकमा यो प्रावधान लागू गरेको छैन । संविधानसभाको अध्यक्षदेखि सभामुखसम्म बनेका स्वर्गीय सुवास नेम्वाङ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना एमालेले पार्टीमा फर्किन रोकेन । नेम्वाङ पार्टी सदस्यता त्याग गरी पछि पुन: नवीकरण गरेर १०औँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
ओलीले अहिले आफू निर्विकल्प बन्न अनेक हथकन्डा अपनाउँदै आउनुभएको छ । उहाँले विचार र सिद्धान्तका आधारमा मात्र अरुलाई निषेध गरे निर्विकल्प बन्नुभएको हो । ओलीको यो नीति कहिलेसम्म काम गर्छ भन्न सकिने अवस्था छैन ।










