काठमाडौं । मुस्लिम समुदायका अगुवाहरुले नेपाल हज समिति २०७२ को कार्यविधि अनुसार तत्काल गठन गर्न माग गरेका छन् । सरकारले हज समिति गठन गर्ने तयारी गरेको बेला उनीहरुले समुदायको भावना विपरीत गठन नगर्न खबरदारी गरेका हुन् ।
हाल कार्यान्वयनमा रहेको कार्यविधिले समुदायको पक्षमा काम नगर्ने भन्दै उनीहरुले चरम असन्तुष्टि जनाएका हुन् । सरकारले नयाँ कार्यविधि अनुसार गठनको गृहकार्य गरेको जानकारी पाएपछि अगुवाहरुले भने एक त गठन प्रक्रिया नै गलत छ, दोस्रो जसलाई अघि सार्न खोजिएको छ उहाँ विवादास्पद पृष्ठभूमिको हुनुहुन्छ त्यसले भोलिका दिनमा समस्या पर्न सक्छ ।
गृह मन्त्रालयले मोरङका अताबुल मन्सुरीलाई समितिको अध्यक्ष बनाउने तयारी गरेपछि समुदायका अगुवाहरुले असन्तुष्टि जनाएका कारण मन्त्रालय सो निर्णय हाल स्थगन गरेको छ ।
मन्सुरीको विगतको पृष्ठभूमि विवादास्पद रहेका कारण मन्त्रालय निर्णय गर्न हच्किएको हो । २०७६ सालमा मन्सुरी हज कमिटिका सदस्य रहेका बेला हजयात्रीको राहादानी लुकाएको भन्दै मुस्लिम आयोगका तत्कालीन पदाधिकारीले कार्यकक्षमा नै हातपात गरेका थिए ।
साथै २०८१ सालमा जाजरकोट भूकम्पका बेला पीडितका नाममा संकलन भएको राहत रकम पनि वितरण नगरेको भन्दै मुस्लिम संघका पदाधिकारीले बताए । उक्त रकमको हिसाव किताब पटक पटक माग्दा पनि आलटाल गरी संघको प्रतिष्ठा माथी आँच आउने कार्य गरेको पनि ति पदाधिकारीले बताए ।
नेपाली कांग्रेस मुस्लिम संघका अध्यक्ष समेत रहेका मन्सुरीलाई एमाले र काग्रेसका केही विवादास्पद तथा बदनाम व्यक्तिहरुले साथ दिएको आरोप अगुवाहरुले लगाएका छन् । उनीहरुले २०७२ को कार्यविधि विपरीत गठन गर्दा सञ्चित कोषमा रहेको रकमको दुरुपयोग हुन सक्ने आशंका पनि उनीहरुले गरेका छन् ।
मन्सुरी बिरुद्ध २०७४ सालमा हज समितिको सदस्य रहँदा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा उनी पाँच लाख रुपिया धरौटीमा रिहा भएका थिए ।
पुरानो समितिको समय अझै १० महिना बाँकी रहेका बेला हतारहतार मन्त्रीपरिषद्ले पास गरेको गठन आदेश कानून विपरीत रहेको भन्दै अदालत जाने तयारी भएको एक अगुवाले जानकारी दिनुभयो ।










