३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सिर्जनामा उज्यालिएको चाँगुनारायणको शौन्दर्य र सम्पदा

सिर्जनामा उज्यालिएको चाँगुनारायणको शौन्दर्य र सम्पदा
अ+ अ-

चाँगुनारायण मन्दिर परिसर पुग्दा घाम चहकिलो भइसकेको थियो ।

मन्दिर परिसरकै एक कुनामा तयार थियो एउटा भव्य मञ्च । मञ्चसँगै बेञ्चमा सजाइएका छ २२ थान पेन्टिङ । यहि परिसरमा बसेर कलाकारहरुले बनाएका हुन् चाँगुनारायण नगरपालिकाका विभिन्न चित्रहरु ।

लिच्छवीकालीन राजा हरिदत्त वर्माले यो मन्दिर ईसापूर्व ३२३ मा निर्माण गरेको ऐतिहािसक मन्दिर परिसरमा कविहरु उत्साहित देखिन्छन् । हामीहरु फोटो खिच्दै मन्दिर डुल्दै गर्‍यौं । कवि प्रगति राईले दुई तीन वटा फोटो खिचिदिन करै गरिन् ।

अधिकांश फोटो उनले मन्दिर परिसरका विभिन्न ढोकाहरुमा खिचिन् । मलाई रमाइलो लाग्यो । यो ऐतिहासिक सम्पदा भन्दा पनि एउटा कवि बाहिर निक्लन मिल्ने ढोकाहरुमा रमाइरहेछ । त्यसो त खुला हुनका लागि ढोका आवश्यक छ । ढोका नखोली कसरी विश्वब्रम्हाण्ड निहार्न सक्नु ?

ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले उत्कृष्ट मानिएको उपत्यकामा रहेको सात विश्व सम्पदा सूचीमध्ये चाँगुनारायाण पनि एक हो । यसलाई सन् १९६९ मा युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गरेको हो । चाँगुनारायणलाई चम्पकनारायण, चाँगुनारायण र गरुडनारायण जस्ता नामले पनि चिनिन्छ । लिच्छवीकालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी रहेको र नेपाल भाषामा ‘चाँप’ लाई ‘च’ र ‘वन’ लाई ‘गुँ’ भन्ने गरिएअनुसार त्यो शब्द अपभ्रंश भएर चाँगुनारायण हुन गएको हो भन्ने भनाइ छ ।

मन्दिर परिसर नै बन्यो स्टुडियो

आज कविहरुको पालो हो । रंगहरुमाथि कविता लेख्ने । एक साता अघि यही परिसरमा कलाकारहरुले क्यानभाषमा रंग पोतेका थिए ।

चाँगुनारायण मन्दिरको उत्तरपट्टिको सत्तलको छेडोबाट सेतो क्यान्भासमा चर्चित कलाकार मुकेश श्रेष्ठले चाँगुनारायण नगरपालिका–१ स्थित मनोहरा फाँटमा देखिएका सुन्दर दृश्यहरुलाई क्यान्भासमा उतारेका थिए । फाँटभन्दा उनको पेन्टिङ दृश्य अझै सुन्दर र मनमोहक देखिन्थ्यो । कलाकार मुकेशकै छेउमा मध्यपुरथिमि नगरपालिका बाडे निवासी जुजुभाइ बाँस श्रेष्ठले पनि क्यान्भासमा चित्र उतारेका थिए ।

प्रत्येक वर्ष वैशाख २ गते बोडेमा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आठ पटक जिब्रो छेडाएर प्रसिद्ध कमाएका जुजुभाइको अर्को पहिचान चित्रकार पनि हो भन्ने धेरैलाई थाहा छैन । मलाई झन थाहै थिएन । एउटा धार्मिक आस्थिक भक्तको कला साधनाले म प्रभावित भएँ । उनले चाँगुनारायणमा मन्दिरको छेवैमा बसेर चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेलमा रहेको प्रसिद्ध सरस्वती मन्दिरलाई क्यान्भासमा उतारे ।

पाठ्यक्रम विकास केन्द्रको नोकरीसँगै चित्रमै प्रसिद्धि कमाएका भक्तपुर नगरपालिका खौमाका अर्का कलाकार दीपेन्द्रमान बनेपालीले क्यान्भास रङयाउँदै तामाङ्ग सेलो गीतमा डम्बु बजाउँदै नृत्य गरेको आकर्षक चित्र उतार्दै गर्दा नजिकै चाँगुनारायणकै स्थायी निवासी सरोज लामिछानेले नगरकोट क्षेत्रमा पर्यटकमाझ चर्चित बनेको रानीझुला (लामो झोलुङ्गे पुल) लाई क्यानभासमा उतारे ।

संयोग के भने यही रानीझुलामा कविता लेख्ने जिम्मा मलाई आएको छ । त्यसो त आज उपस्थित ३३ जना कविलाई २२ जना कलाकारले बनाएका चित्रहरुमाथि कविता कोर्नुपर्ने छ । बनेपालीले बनाएको चित्रमा कवि विना थिङ र लक्ष्मी रुम्बाले कविता कोर्दैछन् अहिले । कवि सुलोचना मानन्धर र मेरो भागमा कलाकार सरोज लामिछानेले बनाएको रानीझुलाको चित्र परेको छ । हतारमा कविता कोर्न नसक्ने म लेख्दैछु रानीझुलाको कविता —

… म आइपुगेको छु रानीझुलामा
र देखिरहेछु,
हिडिरहेका मानिस
पहाडको खोंचबाट झरिरहेको झरना
तल मुहानपोखरीको पानीमा
आफ्नो हल्लिरहेको अनुहार देखेर
रमाइरहेका बालकहरु
सेल्फी खिचिरहेकी किशोरी जो साटिरहेकी छिन्
स्न्यापच्याटमा भावना ।

स्थानीय कलाकार अञ्जन अधिकारीले बाँस्तोला गाउँको भूकम्प अगाडिको होमस्टेलाई हुबहु उतारेर इतिहासलाई जीवन्त बनाए । भूकम्पले भत्काएपछि पुरानो स्वरुप हटाएर बाँस्तोलाले गाउँको आधुनिक र ढलान घरमा देखिने होमस्टेलाई नभई पुरानो स्वरुपको होमस्टेलाई आकर्षक रुपमा चित्रमा उतारे ।

कलाकार पर्वत श्रेष्ठले सरस्वती स्थानमा रहेको महामञ्जुश्री मन्दिर, अशुराम खाईजुले नगरकोट भ्यू प्वाइन्ट, मङ्गलकृष्ण प्रजापतिले माउण्टेन रेञ्ज, राजन श्रेष्ठले ज्योतिर्लिङ्गेश्वर महादेव मन्दिर, रामशरण प्रजापतिले चाँगुनारायण मन्दिर, गौरीमाया कोजुले वाल्मिकेश्वर महादेव मन्दिर, दिपेशमान सिंप्रधानले बोझिनी ड्यामलाई चित्रमा निकै आकर्षक रुपमा उतारे । बोझिनी ड्याममाथि कवि डा गीता त्रिपाठीले निकै मीठो कविता लेखिन् ।

कलाकार झलक केसीले चाँगुनाराण मन्दिर, चन्द्रा श्रेष्ठले तामाङ जनजीवन, राधेश्याम कर्माचार्यले त्रिपुरासुन्दरी, किशोर नकर्मी गौतमले बुद्धलगायत विभिन्न चित्रहरु क्यानसमा उतारे ।

कविहरुलाई चित्र हेर्दै र कविता लेख्नै चटारो

विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिरमा नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको ‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ निकै आकर्षक देखियो । काठमाडौँबाट बिहान ९ बजे चाँगुनारायण मन्दिर परिसर पुगेका राष्ट्रियस्तरमा ख्यातिप्राप्त कवि एवं साहित्यकारहरुको जमघटले मन्दिर परिसर थप चहलपहलयुक्त बन्यो ।

पहिलो पटक मन्दिर पुगेका धेरै कवि लेखकहरुले आफ्नो भागमा परेको चित्र हेर्न र छलफलमा केही समय विताए । कवि सन्ध्या पहाडी र नारायण श्रेष्ठ मन्दिरको पछाडीपटि भागको सत्तलमा खुट्टा पसारेर कविता लेख्न थाले । म फोटो खिच्ने बहानामा नारायणको नजिकै पुगेर उसको कविता लेखन हेर्न थालेँ । बगिरहेको थियो कापीका सेता पानामा काला अक्षरका हरफहरु, जसरी कलाकारले क्यान्भासमा चित्र कोरेर सरसर रङ पोत्दा देखिएका आकर्षक दृश्य जस्तै कविहरुका रचनाले पहिलो पटक चाँगुनारायण पनि फुरुङ्ग बन्यो, सायद ।

पत्रकार दीपक सापकोटा मञ्चकै मेचमा घसिएर कविता कोर्न थाले । कवि सीता तुम्खेवा र अप्सरा लावतीले भने टिकटक बनाउने र कविता लेख्ने काम एकसाथ सके । राधिका कल्पित र लक्ष्मी थापा कविता कोरिहँदा निकै गम्भीर देखिन्थे ।
कवि अभय श्रेष्ठ, डा सरोज धिताल, हरिहर तिमिल्सिना, रंगकर्मी पुरु लम्साल ध्यानस्थ भएर कविता लेखनमा लीन थिए । कविता र कथामा निकै शक्तिशाली अभयले गीत नै तयार पारे ।

नेपालकै पुरानो ऐतिहासिक धरोहर एवं आस्थाका केन्द्रको रुपमा रहेको धार्मिकस्थल चाँगुनारायण र यहाँको सम्पदालाई विश्वमाझ पुर्‍याउँदै विश्वका पर्यटकको पहिलो रोजाइ बनाउन नगरपालिकाले भ्रमण वर्ष नै सञ्चालन गरेको छ यसपाली । भ्रमण वर्षकै छेको पारेर चित्रकला र कविता महोत्सव गरिएको हो ।

यहाँ कोरिएका चित्र र लेखिएका कविताहरुले चाँगुनारायण आएका विदेशी तथा स्वदेशी पर्यटक एवं पाहुनालाई मात्रै नभई स्थानीयहरुलाई समेत रमाइलो अनुभूति दिइरहेको आभाष हुन्थ्यो । प्रदर्शनीमा राखिएका चित्रहरुले नौलो अनुभूति दिइरहेको थियो ।

पाँच घण्टा चल्यो कविता वाचन

औपचारिक रुपमा कविता वाचनको कार्यक्रम सुरु भयो करिव ११ बजेतिर । मञ्चमा नगरकोटलाई आफ्नो मान्ने चार नगरपालिकाहरु चाँगुनारायण, मण्डन देउपुर, शंखरापुरा र बनेपाका प्रमुख र उपप्रमुखहरु छन् । स्थानीय तहका अन्य विभिन्न जनप्रतिनिधिहरु छन् । नेपाल पज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अथिति छन् ।

राष्ट्रगान पछि बज्यो दुई नगर गान । चाँगुनारायण नगरपालिका र बनेपा नगरपालिकाको । दुबै गान मेरा मित्र हरिहर तिमिल्सिनाले लेखेका । सुन्दा दुबै गज्जब लाग्यो । त्यसो त यिनी ख्यातिप्राप्त गीतकार हुन् । राष्ट्रगान लेखनसँग यिनका रमाइला स्मरणहरु छन् । भोलिका पुस्ताले सुन्नै पर्ने केही सन्दर्भ र घट्नाक्रमहरु पनि छन् । पछिल्लो समय हरिहरले लेखेको कखरा उपन्यान निकै चर्चित छ ।

चाँगुनारायणको ऐतिहासिक परिसरका ३३ मुर्धन्य कवि छन् र छन् २२ थान आकर्षक चित्रहरु । कविहरुले चाँगुनारायणका सम्पदा एवं पर्यटकीय क्षेत्रहरु चाँगुनारायण मन्दिर, ज्योतिर्लिङेश्वर, मत्स्यनारायण, नगरकोट भ्याली भ्यू, विष्णु नारायण, तामाङ समुदायको सांस्कृतिक नृत्य, त्रिशूल, रानीझुला, महामञ्जुश्री, वाल्मिकेश्वर, मुहानपोखरी, बोझिनी ड्याम, बाँस्तोला गाउँ होमस्टे, सरस्वती मन्दिर, मनोहराफाँटलगायत विभिन्न चित्रलाई कवितामा उतारे । त्यही कविता कविहरुले वाचन गरे । जनप्रतिनिधिहरुले उत्साहित भएर सुने । कवि श्रवण मुकारुङ र स्वप्निल स्मृतिले पुरानै कविता सुनाए । चित्रमाथिका कविता पछि लेखेर पठाउने सर्तमा ।

चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले मन्दिर परिसरमा पहिलो पटक कला र साहित्यको उत्सव भएको भन्दै निकै खुशी थिए । ‘चाँगुनारायणको वर्णन चित्र र शब्दमा पाउँदा नौलो अनूभूति भएको छ । यस्ता कार्यक्रमले सम्पदाको पहिचान बढ्ने र पर्यटकलाई आकर्षित गर्न मद्दत पुर्‍याउने छ ।’ उनले भने । उनी मसँगै रानीझुलाको पेन्टिङ हेरिरहेका थिए ।

मैले कविता सुनाएँ —

म रानीझुलाबाट नियाल्छु
शहर बन्दै गरेको आदीम गाउँ
त्यही गाउँमा छ
आँगन बेचेर नयाँ महल बनाउने सपना साँचिरहेको पुरानो घर
त्यो घरको भान्छामा अहिले पनि
चुल्हो नजिकै फैलिरहेछ
भाइभाइबीचको अविश्वासको अन्धकार
त्यसपछि देखिदैन केही
या म हेर्न सक्दिन
र बन्द गरेर आँखा सम्झिन खोज्छु तिमीलाई
पर कतै बजिरहेछ मञ्जुलको गीत
वारी पनि होइन म पारी पनि छैन
म त केवल पुल मात्रै मेरो कोही छैन ।

उनी मेरो नजिक आउँछन् र चपक्क मेरो हात समातेर भन्छन्, ‘कति मिठो कविता लेख्नु भएको चित्रजस्तै छल्लङ ।’

कवि अनन्त वाग्ले, लक्ष्मी माली, प्रगति राई, जुनु घिमिरे, रामगोपाल आषुतोष लगायत हामी सबै कविले सुनाएका कवितामाथि युवा पुस्ताका निकै संभावना बोकेका समालोचक कुमारी लामा र गुरुङ शुसान्तले टिप्पणी पनि गरे ।

श्रवणको बोलीले छेडिएको बहस

कवि श्रवण मुकारुङ चानचुने कवि होइनन् । यो अहिले हामी जुन संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं नि यसका लागि उनको कविता विसेनखर्चीको वयान को ठुलो योगदान छ । धेरै मानिस उनको यो कविता सुनेर सडकमा उत्रिएका थिए । त्यसो त उनी राम्रा गीतकार र अब्बल कवि हुन् । अहिलेका धेरै मै हुँ भन्ने कविहरुका आदर्श कवि ।

कविता पढ्न मञ्चमा उक्लिएका उनले कविहरुको योगदानलाई कसैले पनि कम आँक्न नहुने बताए, ‘चालिस वर्ष कविता साधनामा विताएको कविलाई कहाँनेर कसरी बोलाउने हरेक आयोजकले बुझ्न जरुरी छ ।’ दर्शक दिर्घाबाट ताली पड्किएपछि उनी जोशिए, ‘कवि प्रशासनिक मर्यादाक्रमभन्दा माथि छ ।’ उनको भनाइले कार्यक्रममा एउटा बहस नै छेडियो । हरेक वक्ता र अधिकांश कविले यसमा थप प्रशंग र चर्चाहरु गरिरहे । तर सबैको भाव एउटै थियो, ‘कवि लेखक सम्मानयोग्य छन् ।’

जोसिला र विनम्र नगरप्रमुख

चाँगुनारायणका नगरप्रमुख जीवन खत्री मलाई विछट्टै मन पर्‍यो । करिव पाँच घण्टा लामो कार्यक्रम अवधिभर उनी पुरै बसे । अरु नगरप्रमुखहरु आउने जाने गरिरहे । उनी पुरै कार्यक्रम भरि बसे र सबै कविता सुनेँ ।

‘कवि र कलाकारलाई सम्मान गरेर चाँगुनारायण नगरपालिकालाई विश्वसामु परिचित गराउने हाम्रो प्रयाय हो ।’ उनले भने, ‘तपाईहरुको सम्मानमा हामी कहीँ चुकेछौ भने कृपया हामी आफुलाई सुधार्नेछौं ।’ कति विनम्र हुन् यी नगरप्रमुख त ।
नेपालकै पुरानो ऐतिहासिक संरचना र धार्मिक धरोहरका रुपमा रहेको चाँगुनारायण र यहाँको सम्पदालाई विश्वमाझ पुर्‍याउँदै विश्वका पर्यटकको पहिलो रोजाई बनाउन नगरपालिकाले भ्रमण वर्ष आयोजना गरेको नगर प्रमुख जीवन खत्रीले बताए । त्यसै भ्रमण वर्षका अवसरमा चाँगुनारायणको प्रचारप्रसार र यसको महत्व विश्वमाझ पुर्‍याउने लक्ष्य कला र साहित्य महोत्सवले पूरा गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

नगर प्रमुख खत्रीले भने, ‘कलाकारले उतारेका चाँगुनारायणभित्रका सम्पदासँगै पर्यटकीय क्षेत्रको चित्रहरुको प्रदर्शनी मात्रै नभएर यो एउटा वरिष्ठ कलाकार र साहित्यकारको कला एवं साहित्यिक भ्रमण पनि हो, मन्दिरमा एक पटक पनि नआएका कलाकार तथा साहित्यकारले मन्दिरको आँगनमा बसेर गहिरो रुपमा मन्दिरलाई नियाल्न पाउनु भएको छ त्यो पनि प्रचार हो, यो महोत्सव नौलो र फरक ढङ्गले चित्रकारसँग कविलाई जोड्दै पर्यटनको आगमनमा टेवा पुर्‍याउने कडीका रुपमा लिएका छौँ ।’

प्रमुख अथिति प्रज्ञा–प्रतिष्ठानका कूलपति भूपाल राईले चाँगुनारायण मन्दिरको प्राङ्गणमा उभिएर इतिहास, धर्म, कला, संस्कृति र सम्पदालाई कलाकारको कुची र साहित्यकारको कलमले उतार्ने कार्यले कला, कलाकार, साहित्य र साहित्यकारलाई पनि बडो उत्साह मिल्ने बताए ।

चाँगुनारायणको कला, धार्मिक सम्पदा, ऐतिहासिक धरोहरलाई, यहाँका अनगिन्ती पर्यटकीय गन्तव्यलाई विश्व माफ फैलाउन अझै पछाडि परेको अबस्थामा नगरपालिकाले भ्रमण वर्षको आयोजना गरेको रहेछ । पर्यटकीय गन्तव्यलाई बढाउदै पर्यटकीय बसाइलाई लम्ब्याउने गरी पर्यटकलाई आकर्षित गर्न विभिन्न प्याकेजहरु पनि रहेछन् । नगरप्रमुख खत्रीले भने, ‘अहिले जेजस्तो भएपनि हामी भ्रमण वर्षको समापनमा विशेष कार्यक्रम गर्नेछौं र तपाईहरु सबैलाई बोलाएर भव्य कार्यक्रम र सम्मान गर्नेछौं ।’

हरे, कति कवि कलाकारलाई सम्मान गर्न उत्साहित भएका यी मेयरसाव । सम्मान त आजकै पनि कम थिएन । पारिश्रमिकसहित सम्मानपत्र र यो आथित्य ।

चाँगुनारायणको ऐतिहासिक पक्ष

नेपालको प्रसिद्ध तीर्थस्थलमध्येको एक र प्राचीन पुरातात्विक शिलास्तम्भ समेत रहेको चाँगुनारायण मन्दिर परिसरमा छौं हामी ।यस मन्दिरको निर्माण लिच्छवीकालमा राजा हरिदत्त बर्माले गरेका भएता पनि अर्का राजा मानदेवले ५२१ सालमा चाँगुनारायण मन्दिरको गरुडको मूर्ति स्थापना गराएका थिए । चातुष्कोण आकारको दुई तलाको यस मन्दिरमा तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ भने यसै तल्लाको चार दिशामा चार ढोकाहरु रहेका छन् ढोकामा गङ्गा, यमुना तथा अन्य देवीदेवताका मूर्तिहरु राखिएका छन् । ढोकाहरुको माथि धातुबाट बनेका तोरणहरुमा विभिन्न कलाकृतिहरु कुँदिएका छन् ।

मन्दिरको भित्री गर्भगृहमा गरुडासनमा विराजमा चतुर्बाहु, शङ्ख, चक्र, गदा र पद्म समेतका आयुधहरु धारण गरेका भगवान नारायण नेर पूजा गरिन्छ भने बौद्धहरुले समेत हरिहर वाहन लोकेश्वरका रुपमा पूजा गर्दै आइरहेका छन् । मन्दिरको प्रवेशद्धारमा दायाँबायाँ ढुङ्गे हात्ती छन् । तीन द्वारमध्ये बीचकोमा ढलौटको तोरण रहेको छ । छानाको कुन एवं अन्य सीमान्त भागमा घण्टहरु एवं दियोहरुले गर्दा मन्दिर शोभायमान देखिन्छ ।

मन्दिरका टुँडालहरु बहुहस्त भएका देवदेवी एवं झल्लरहरु विशेष किसिमले सजिएको छ । मन्दिर बाहिर ढुङ्गे चोकहरुमा घण्टाहरु रहेको छ । मन्दिरमा १० फिट अग्लो स्तम्भमा ठूलो शङ्खलगायत विष्णुका अन्य प्रतीक चिन्हहरु राखिएका छन् । धातुकै सानो बारभित्र १७ औँ शताब्दीको भूपतिन्दै मल्ल तथा उनकी रानीको शालिक रहेका छन् ।

चोकमा मन्दिरभन्दा पर शृङ्खलाबद्ध रुपमा साना मन्दिर तथा प्राचीन मूर्तिहरु रहेका छन् । मन्दिरमा विभिन्न शताब्दीमा स्थापना भएका अवलोकितेश्वर, गरुड नारायण, दुर्गा, विष्णुका दुई मूर्ति, सूर्य, शिवलिङ्ग, गणेश, छिन्नमस्त लगायत थुप्रै प्राचिन एैतिहासिक सम्पदाले भरिपूर्ण छ ।

गोपालराज वंशावलीमा उल्लेख भएअनुसार इस्वीको १४औँ शताब्दीमा चारनारयण अर्थात काठमाडौँ उपत्यका भित्रका चाँगु, इचंगु, शेष र विशङ्खुमध्ये एक चाँगुनारयाण स्थापना भएको हो । काठमाडौँबाट करिब १६ किमी पूर्व भक्तपुर जिल्लामा रहेको यो मन्दिर समुद्री सतहबाट करिब पाँच हजार फिटको उचाइमाथि डाँडामा अवस्थित छ ।

विमला र हरिहरको संयोजनलाई सलाम

जो कोहीले भए यति अब्बल कार्यक्रम गर्नै सक्दैन । ठुलै परिश्रम विना यो संभव पनि छैन । विमला र हरिहर भएर मात्रै यो कार्यक्रम यसरी सफल भएको हो । अन्यथा यति विशिष्ट कविहरुको एकसाथ जमघट हुनै सक्दैनथ्यो । यति सुन्दर रचना सृजना हुनै धौ धौ पथ्र्यौ ।

चाँगुनारायण कला र साहित्य महोत्सवका लागि विमला र हरिहरले कति फोन गरे कति । उनीहरुको तारम्तारको आग्रह र नगरपालिकाका कर्मचारीहरुको लगातारको फोन नै हो मलगायत धेरै कविहरुदे एउटा सिंगो दिन कला र कविताका लागि छुट्याएको ।

मैले कविता लेख्न थाल्दाका साथी हुन् विमला तुम्खेवा र हरिहर तिमिल्सिना । विमला, म, नारायण श्रेष्ठ र अनमोलमणि मिलेर कविता क्लव नै खोल्यौं कुनैबेला । विभिन्न कार्यक्रमहरु गर्‍यो । त्यातिखेर हामी आआफ्नो कविताको स्वरुप बनाउन उद्दत थियौं । अहिले समग्र नेपाली कवितालाई जोगाउन र फैलाउन संवेदनशील छौं ।

हरिहर, म र अभय मिलेर कुनैबेला हामीले सिर्जना र दृष्टिकोण कार्यक्रम चलाथ्यौं । नयाँदेखि पुराना सबै कविहरुलाई एक ठाउँमा भेला पारेर प्रत्येकका कवितामाथि प्रत्येक सहभागी कविका दृष्टिकोण लेखाउँथ्यौं हामी र त्यसलाई वाचन गरेर भव्य कार्यक्रम गथ्र्यौं । कवितामा त्यतिबेलाका यी अनेक प्रयास र सक्रियताले नै हामीलाई कविताप्रति गम्भीर र सचेत बनाएको भन्ने लाग्छ ।

यी दुबै साथीको संयोजनले राम्रा कविहरु ऐतिहासिक स्थानमा जुटेका थिए र राम्रा कविताहरु सुनाएका थिए । यो उपलब्धिपूर्ण कार्यक्रमको संयोजनका लागि दुबैलाई सलाम ।

बोस्टनका नारायणसँग भृकुटीमण्डममा बन सिलाम

बिहान सात बज्नु अघि नै काठमाडौंको भृकुटीमण्डपमा श्रवण मुकारुङ दाजु, मित्र धमेन्द्रविक्रम नेम्वाङ र नारायण श्रेष्ठ चिया पिउँदै थिए । म पुगेँ र एक कप चिया थप मगाइयो ।

कवि नारायण श्रेष्ठसँग भेट हुन्छ भन्ने सोचेको थिइन । उनी अमेरिकाको बोस्टनबाट एक महिने छुट्टीमा काठमाडौं आएका । उनी गोरखा ध्याल्चोक हुँदा नै भेट्ने कुरा भएको हो । तर यसरी यहाँ भेट हुन्छ सोचेको थिइन ।

चिया अघि धमेन्द्रले बोकेर ल्याएको भिजाएको चियासिड पानीमा हालेर एक एक गिलास खायौं । ‘यो वन सिलाम हो । पहिले हामी अचार खान्थ्यौं ।’ नारायणले भन्यो ।

‘अहिले चियासिडका नाममा यो भिजाएर बिहान बिहान खाने फेशननै भएको छ ।’ मैले थपेँ । विमला तुम्खेवा, अप्सरा लावती, सीता तुम्खेवा आएर हामीलाई गाडी चढ्न आग्रह गरे । गाडीमा अरु धेरै कविहरु थिए । र हामी चागुनारायण माध्यामिक विद्यालयको पहेँलो गाडीमा चढ्यौ । र लाग्यौं चागुनारायणतर्फ । बाटामा थपिदै जान्छन् कवि प्रगति राई, दीपक सापकोटा, रामगोपाल आशुतोषहरु ।