काठमाडौँ । नेकपा (एमाले)की सांसद सुनिता बरालले नेपाली जनताले वाचा नभई जवाफदेहीता खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद बरालले यस्तो धारणा राख्नुभएको हो । उहाँले राज्यका निकायहरु निश्प्रभावी हुँदै गएको कुरामा सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
उहाँले केही गैरसरकारी संस्थाहरुले असम्बन्धीत व्यक्तिहरुलाई विदेशी कार्यक्रममा पठाउने विषय समेत निकै संवेदनशील रहेको बताउनु भयो । यसअघि प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गैरसरकारी संस्थाबाट गएका नागरिकहरु नफर्किएका समाचारहरु सार्वजनिक भएका थिए । उहाँले संस्था वा व्यक्तिको लाभका लागि असम्बन्धित कार्यक्रममा पठाउने संस्थाहरुमाथि छानविन गरी कानूनी कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘कतिपय विदेशी कार्यक्रममा कर्मचारी, नेता, कलाकार, खेलाडी जाने कुरा स्वभाविक छ । विदेशी मुलकले भिसा एप्रोच गरेका व्यक्तिलाई भिसा दिने कि नदिने भनेर नेपाल सरकारलाई सोध्ने गर्दैन । तर अहिले केही गैरसरकारी संस्थाहरुले असम्बन्धीत व्यक्तिहरुलाई विदेशी कार्यक्रममा पठाउने गरेको समाचार निक्कै संवेदनशील छ । यदि त्यस्तो हो भने संस्थाले आफ्नो वा व्यक्तिको लाभका लागि यस्तो गरेको हो भने राज्यका निकायहरुमार्फत छानविनको दायरामा ल्याइनुपर्छ । र दोषिलाई कारबाही गर्नुपर्छ । आज राज्यका निकायहरु कमजोर हुने र निश्प्रभावी भएको हुन कि भन्ने कुरमा सरकारको ध्यान जानुपर्छ । आज नेपाली जनताले वाचा होइन जवाफदेहीता खोजेको कुरामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उहाँले सेवा प्रवाह, सुशासन लगायतका कुरामा ध्यान दिन जरुरी रहेको समेत बताउनु भयो ।










