काठमाडौं । पूर्वराष्ट्रपति एवम् नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्व गर्दै शक्तिशाली पार्टी निर्माण गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
ईमेज च्यानलका लागि पत्रकार जगदिश खरेललाई दिनुभएको अन्तर्वार्तामा नेतृ भण्डारीले एमालेको ११औं महाधिवेशनबाट आफूले नेतृत्व लिन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीलाई नेतृत्व दिने कुरामा कुनै सन्देह छ र ?’
पार्टी सदस्यता नवीकरण गरेर आफू पुन: सक्रिय राजनीतिमा फर्किएको भन्दै उहाँले भन्नुभयो, राष्ट्रपतिको कार्यकाल सकिएपछि राज्यले दिएका सेवा सुविधा फिर्ता गरेर राजनीतिमा फर्किएर देश र जनताको सेवा गर्ने बाटो तय गरेको हुँ ।’ सक्रिय राजनीतिमा आएपछि पार्टीले के जिम्मेबारी दिन्छ र त्यो जिम्मेवारी अनुकूल हुन्छ हुँदैन भन्ने कुरा आगामी दिनले तय गर्ने उहाँले बताउनुभयो ।
उहाँले एमालेमा ७० वर्षको उमेरहद र दुई कार्यकालको व्यवस्था लागू हुने बताउनुभयो । अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक निरन्तर एउटै कक्षमा नबस्ने भनेका कारण पनि आगामी महाधिवेशनपछि उहाँले उत्तराधिकारी चयन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा भए पनि त्यसलाई अस्वाभविक रुपमा लिनु हुँदैन । हिजो झलनाथ खनाल , माधव नेपाल र केपी ओलीबीच पनि प्रतिस्पर्धा भएकै हो, प्रतिस्पर्धा भए पनि अन्यथा लिनु हुँदैन ।’ विधानमार्फत् तपाईको पार्टी प्रवेशलाई रोक्ने अवस्था आए के गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘त्यस्तो नहोला ,अँध्यारो कोठामा के–के कुरा भयो, त्यो चासो भएन तर त्यस्तो नहुनु पर्ने हो ।’
उहाँले आफू सक्रिय राजनीतिमा फर्कंदा एमालेका कार्यकर्ता मात्र नभई देशले नै सकारात्मकरुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘केपी ओली पनि झनै खुसी हुनुभएको होला ।’ उहाँले जनताको बहुदलीय जनवादलाई तीन चरणमा हेर्नुपर्ने बताउनुभयो । ‘यसको विजारोपण, सुदृढीकरण र अध्ययन गरेर सान्दर्भिकता अनुसार कार्यान्वयन गर्नुपर्छ’ उहाँको भनाइ थियो ।










