काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई दलको गठबन्धन सरकार २०८४ सालसम्मै चल्ने बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको आज समापन गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन सरकार पूरा समय चल्ने बताएका हुन् ।
उनले दुई ठूला दलबीच गठबन्धन भएकाले बेलाबेलामा समस्या आउने भए पनि त्यसलाई समाधान गरेर लैजाने बताए । ‘यो गठबन्धन पूरा–पूरा समयसम्म जान्छ, हामीसँग समस्याहरू भएमा मिलाएर जान्छौँ,’ उनले भने ।
सभापति देउवाले संविधान संशोधनको विषयलाई सरकारले अघि बढाउने विश्वास दिलाए । कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रधानमन्त्री र मन्त्रीको कार्यशैलीका विषयमा अधिकांश सदस्यहरूले धारणा राखेका थिए ।
देउवाले सरकारका विषयमा सदस्यहरूले राखेका धारणाका विषयमा कुनै जवाफ नदिइ गठबन्धन पूरा समय टिक्ने बताएका हुन् । ‘दुई ठूला पार्टीबीच गठबन्धनमा समस्या आउनुलाई ठूलो ठान्न हुँदैन । समस्यामा छलफल गरेर हामी मिलाउन सक्छौं,’ सभापति देउवाले भने, ‘केही कुरा आए पनि हामी त्यो समस्याको रुपमा आउन दिने छैनौं ।’
दुई दलबीच सल्लाह र सहमतिमै काम कारबाही अघि बढिरहेको उनले बताए ।










