१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

प्रदेश २ र ५ का तराईका जिल्लामा सलहका बथान

प्रदेश २ र ५ का तराईका जिल्लामा  सलहका बथान
अ अ+ अ-

काठमाडौँ । मुलुकको अन्न भण्डारका रूपमा रहेका प्रदेश २ र ५ का तराईका जिल्लामा शनिबार सलहका बथान आइपुगेको छ । बाली नष्ट गर्ने फट्यांग्राको हूल सर्लाही, बारा र पर्सामा शनिबार एकैसाथ देखिएको हो । सलह भेटिएलगत्तै प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्राविधिकको टोली खटाएको छ । प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल साँझपख कपिलवस्तु र पाल्पा पनि पसेको छ । शनिबार बिहान रूपन्देहीको भैरहवा, रोहिणी, ओमसतिया, तिलोत्तमा र देवदह क्षेत्रमा सलह देखियो । दिउँसो बुटवल, मर्चवार र लुम्बिनी क्षेत्रमा पनि देखिएको छ । मध्याह्नसम्म फाट्टफुट्ट देखिएको सलह दिउँसो साढे ३ बजेपछि हूलका हूल आकाशमा उडेको देखिएको थियो ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले दिउँसो ३ बजेपछि सीमा क्षेत्र हँुदै हूलका हूल सलह कीराले रूपन्देहीको आकाश ढाकेको बताए । बुटवल क्षेत्रमा धेरै देखिएको थियो । त्यो क्रम साँझसम्म पनि जारी छ । सलह बुटवलबाट पश्चिम र उत्तर दिशातर्फ लागेको निर्देशक देवकोटाले बताए । ‘पश्चिम गएको सलह कपिलवस्तु प्रवेश गरेको छ र उत्तरतिर पाल्पासम्म पुगेको छ,’ उनले भने । धेरै आकाशमै उडेको देखिएका छन् । रात परेपछि यी कीरा उड्न नसक्ने भएकाले शनिबार रूपन्देहीको आसपासमै धेरै बास बस्ने उनले बताए । उत्तरतिर चढेका सलह पहाड चढ्छन् वा फर्कन्छन् भन्नेमा विज्ञहरू अलमल छन् । ‘हूलका हूल सलह बुटवल र रूपन्देही जिल्लाका विभिन्न स्थानमा देखिएका छन् । साँझपख पाल्पा र कपिलवस्तुसम्म पुगेका छन्,’ कृषि विकास निर्देशक देवकोटाले भने, ‘यी रोकिन्छन् कि बाटो लाग्छन्, हामी त्यसको अध्ययनमै केन्द्रित छौं ।’

धान रोप्ने समय भएकाले तराईका धेरै खेत खाली छन् । खेतबारी खाली भएकाले धेरै कीरा आकाशमा मडारिएको हुन सक्ने विज्ञहरूको अनुमान छ । रूपन्देहीको देवदह, तिलोत्तमा, रोहिणीलगायत क्षेत्रका मकैबारी र तरकारी बारीमा भने सलह अडिएका छन् । देवदह सिक्टहनका अगुवा किसान राजेन्द्र यादवले खेतमा रहेको तरकारी सबै सलहले ढाकेको बताए । देवदहको चरंगे, खैरेनी, ओमसतियाको वनगाईलगायत क्षेत्रमा रहेका मकैबारी पनि सलह कीराले ढाकिएका छन् । रोप्न ठिक्क पारेको धानको बीउसमेत सलहले खान थालेपछि किसान पिरोलिएका छन् । ‘साँझपख धानको ब्याडभरि एक्कासि कीराले ढाक्यो,’ बुटवलको मोतीपुरकी किसान राधा बेल्वासेले भनिन्, ‘धपाउँदा पनि गएको छैन ।’

खबर प्राप्त हुनासाथ शनिबार नै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री, निर्देशनालय र रूपन्देहीका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसेको थियो । बैठकले सलह कीराबाट बालीमा हुने नोक्सानी जोगाउन तीन किसिमका सावधानी अपनाउन निर्देशन दिएको कृषिमन्त्री आरती पौडेलले बताइन् । उनका अनुसार धानको बीउ जोगाउन स्थानीय तहमा रहेका प्राविधिक तथा स्थानीय तहका पदाधिकारीमार्फत बीउ ढाक्न आग्रह गरिएको छ ।

कीरा बास बसेको स्थानमा नष्ट गर्न कीरा छोपेर ल्याउने जोकोहीलाई प्रतिकिलो २० रुपैयाँ वडा कार्यालयमार्फत रकम दिने भएको छ । कीरा नष्ट गर्न खेतीबालीमा बसेको वा बास बसेको ठाउँमा विषादी छर्न स्थानीय तह एवं किसानलाई निर्देशन दिएको छ । सलह कीरा मार्न मालाथिन र क्लोरोपाइडी फस्ट विषादी प्रयोग गरिन्छ । ‘कीरा बास बसेको वा खेतीमा बसेका बेला प्रतिलिटर पानीमा दुई एमएल विषादी राखेर घोल छरेमा सलह मर्छ,’ कृषि निर्देशक देवकोटाले भने, ‘पालिकाअन्तर्गतका प्राविधिकले यसबारे किसानलाई जानकारी दिइरहेका छन् ।’

प्रदेश २ का तीन जिल्लामा सलह

सर्लाही, बारा र पर्सामा एकै पटक सलह देखिएलगत्तै प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अध्ययनका लागि प्राविधिकको टोली परिचालन गरेको छ । कृषिमन्त्री शैलेन्द्र साहका अनुसार अहिले देखिएको सलहले ठूलो क्षति नल्याए पनि आउने क्रम नरोकिए अन्न भण्डारलाई तहसनहस गर्नेछ । ‘प्राविधिक टोलीले सलहबारे अनुसन्धान गरिरहेको छ,’ मन्त्री साहले भने, ‘नार्कका पदाधिकारीसँग पनि जुम बैठक गरेर समस्याबारे सेयरिङ गरिएको छ । उहाँहरूले नै सुझाएअनुसार कीटनाशक औषधि प्रभावित क्षेत्रमा छर्किन सुरु गरिएको छ ।’ सीमावर्ती भारतको विहार राज्यबाट प्रवेश गरेको सलह पर्सामा पनि देखिएको छ । पर्साको पर्सागढी नगरपालिका र वीरगन्ज महानगरपालिकाको केही स्थानमा सहल देखिएको हो । पर्सागढी नगरपालिकाको बढनियार र बिरुवागुठी क्षेत्रमा शनिबार साँझ सलह देखिएको कृषि संयोजक राजकुमार खत्रीले जनाए । ‘दिउँसो जाँदा अधिकांश उडिसेकका थिए,’ उनले फोनमा भने, ‘केही कृषकले कीरा समाएर सिसामा राखेका छन् ।’

स्थानीयका अनुसार सलह हूलमा देखिएको छ । वीरगन्जमा पनि फाट्टफुट्ट यो कीरा देखिएको स्थानीयले बताएका छन् । वीरगन्जका रामराज श्रेष्ठले दिउँसो घरकै छतबाट आकाशमा कीरा उडेको भिडियो कैद गरेका छन् । सर्लाहीमा पनि शनिबार सलह प्रवेश गरेको छ । शनिबार बिहान लालबन्दीस्थित तेलबाली अनुसन्धान कार्यक्रम कार्यालयको परिसरमा लगाइएका विभिन्न बालीहरूमा सलहको झुन्ड देखिएको हो । फौजी कीराले आतंक मच्चाइरहेका बेला सलहको पनि प्रवेशले किसानमा चिन्ता थपेको छ ।

हजारौंको संख्यामा रहेका सलह कीरा सर्लाहीमा तेलबालीको अनुसन्धानका लागि लगाइएका बालीमा छन् । ती कीराले हरियो पात खाइरहेका छन् । ठूलो आवाजसहित दक्षिण–पश्चिम क्षेत्रबाट शनिबार बिहान सलह आइपुगेको तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डा. विशेश्वरप्रसाद यादवले बताए । ‘शनिबार बिहान झिसमिसेमै ठूलो आवाजसहित केही आएको सुनियो । बिहान फिल्डमा घुमेर हेर्दा अनुसन्धानका लागि लगाएका बदाम, घैंचा, धानका बेर्नालगायतमा सलह कीराले झ्याप्पै छोपेको देखियो,’ उनले भने, ‘हिजो साँझ केही पनि थिएन, बिहान हजारौंको संख्यामा कीरा आएको रहेछ । यसले हरियो पात खाइरहेका छन् ।’

कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख देवानन्द रायले तेलबालीमा देखिएको कीरा सलह नै रहेको बताए । उनले यो कीराले किसानको बालीमा निकै नै क्षति पुर्‍याउने भएकाले यसको नियन्त्रणको प्रयासमा लागेको जानकारी दिए । ‘शनिार बिहान तेलबालीमा हजारौंको संख्यामा देखिएको सलह कीरा नै हो । यसले बालीमा निकै नै क्षति पुर्‍याउँछ,’ रायले भने, ‘फौजी कीराभन्दा पनि खतरनाक भएकाले यसको नियन्त्रणको प्रयासमा हामी लागेका छौं ।’ बारामा चारकोसे जंगल आसपासको आकाश र खेतबारीमा सलहको झुन्ड देखा परेको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए । राजमार्ग छेउको जंगल आसपासमा पर्ने सिमरा एयरपोर्ट र निजगढ क्षेत्रको आकाशमा सलह देखिएको हो । ‘शुक्रबार सलहको एउटा मात्र झुन्ड देखा परेका थिए,’ उनले भने, ‘स्थानीयबाट जानकारी आएपछि त्यस क्षेत्रमा पुग्दा बथान नै देखियो ।’ सानो बथान आउँदैमा डराइहाल्नुपर्ने नभए पनि लगातार धेरै आए क्षति बढ्ने उनको भनाइ छ ।

नेपाल–भारत सीमा क्षेत्रभन्दा करिब ३५ किलोमिटर उत्तर चुरे र जंगल आसपासमा पनि यो कीरा देखिएको छ । यो कीराको प्रकोप भारत, थाइल्यान्ड, पाकिस्तानमा देखा परेपछि कृषि तथा पशुपक्षी मन्त्रालयले रोकथाम र अनुसन्धानका लागि केही महिनाअघि कार्यदल बनाएको थियो । जिल्लामा सलह कीरा प्रवेश गरेपछि भने उक्त कार्यदल स्थलगत अध्ययनमा निस्किएको छैन ।

वाग्मती प्रदेशका मकवानपुर, सिन्धुली र काभ्रेमा पनि शनिबार सलह देखिएका छन् । मकवानपुरको पूर्वी क्षेत्रको बकैया गाउँपालिकाको १ र २ धियाल र हात्तीसुढे क्षेत्रमा सलह देखिएको गाउँपालिका कृषि शाखाका प्रमुख शिवराज पौडेलले बताए । ‘हात्तीसुढेबाट सलहका बथान छिमेकी वाग्मती गाउँपालिकातर्फ गएको छ, धियालमा देखिए त्यहीँ खेतबारीमा छन्,’ उनले भने । मकवानपुरगढी गाउँपालिकाका २, ३ र ७ नम्बर वडामा पनि सलह आएको पाइएको गाउँपालिका अध्यक्ष विदुर हुमागाँईले बताए । ७ नम्बर वडाको सुकौराका बासिन्दाले सलह धपाउन आगो बालेर धूवाँ लगाउने काम गरिरहेका छन् ।

सिन्धुलीको कमलामाई नगरका विभिन्न क्षेत्रमा पनि सलह देखिएको किसानले बताए । भडार, भिमान र करकरे क्षेत्रमा सलहको सानो झुन्डमा खेतबारीमा भेटिएको स्थानीय कृषक पदम तामाङले बताए । कमलामाई–२ को मुडेखर्क, सिरवानी, निबुवाटार, कुसुमटारका किसानहरूले मकैबालीमा सलहको झुन्ड रहेको खबर गरेको वडाध्यक्ष नवराज थिङले बताए ।काभ्रेको खानीखोला गाउँपालिकाको तालढुंगाबाट शनिबार दिउँसो वडा नम्बर २ तिर सलहका बथान उडेको देखिएको कृषि शाखा प्रमुख मनीष वडले बताए । ‘साँझ साढे ५ बजेतिर तालढुंगाको आकाशमा सलहको हूल उडेको देखिएको छ,’ उनले भने । बेथानचोक–१ च्याम्राङबेंसीका सागर दाहालले पनि गाउँमा सलह देखिएको बताए । कान्तिपुर दैनिक