एजेन्सी । हलिउड अभिनेता टम क्रुजलाई गभर्नर अवार्डमा मानार्थ ओस्कारबाट सम्मानित गरिने भएको छ ।
फिल्म एकेडेमीले मंगलबार घोषणा गरेको छ कि टम क्रूज, कोरियोग्राफर डेबी एलेन र ‘डू द राइट थिंग’ प्रोडक्सन डिजाइनर विन थोमसलाई गभर्नर अवार्डमा मानार्थ ओस्कार स्ट्याचुएट्स प्रदान गरिनेछ ।
गायिका डली पार्टनले शिक्षा र साक्षरताको क्षेत्रमा दशकौंदेखि सामाजिक कार्य गरेकोमा जीन हर्शोल्ट मानवीय पुरस्कार पनि प्राप्त गर्नेछिन् ।
‘यस वर्षको गभर्नर अवार्डले चार जना दिग्गजहरूलाई सम्मान गर्नेछ जसको असाधारण करियर र फिल्म उद्योगप्रतिको समर्पणले दिगो प्रभाव पारेको छ’ ओस्कार आयोजना गर्ने एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेस का अध्यक्ष जेनेट याङले भनिन् ।
यी पुरस्कारहरू कला, चलचित्र विज्ञान र एकेडेमीको सेवामा जीवनभर योगदान पुर्याउनेहरूलाई दिइन्छ । छनोट फिल्म एकेडेमीको बोर्ड अफ गभर्नर्सले गर्छ ।
पुरस्कारहरू नोभेम्बर १६ मा लस एन्जलसको रे डल्बी बलरूममा एक निजी समारोहमा प्रदान गरिनेछ ।
गत वर्ष यो पुरस्कार क्विन्सी जोन्स, बन्ड शृङ्खलाका निर्माता बारबरा ब्रोकोली र माइकल जी. विल्सन, निर्देशक रिचर्ड कर्टिस र कास्टिङ निर्देशक जुलियट टेलरलाई प्रदान गरिएको थियो ।










