११ श्रावण २०८३, सोमबार
,
Latest
साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीलाई क्षमताअनुसार परिचालन गरेमा उचित लाभ हासिल गर्न सकिन्छ-प्रधानन्यायाधीश राउत



अ+ अ-

ललितपुर। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कर्मचारीको क्षमताअनुसार परिचालन गरेमा न्यायपालिकाले उचित लाभ हासिल गर्ने बताउनुभएको छ ।

न्यायपालिका अधिकृत समाजको आज ललितपुरमा आयोजित पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा अधिकृत समाजलाई संस्थागत उन्नयन र सामूहिक एकतामा आधारित रहेर काम गर्ने क्षमता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । देशभरिका अधिकृतले अपनत्व लिनसक्ने संस्थाको रूपमा अधिकृत समाज विकास हुनुपर्ने उहाँको भनाइ छ ।

न्यायपालिकामा क्रियाशील अधिकृतमा व्यवस्थापनदेखि प्रशासकसम्म समन्वय गर्नसक्ने भूमिका रहेने बताउँदै राउतले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सबै न्यायालयका कर्मचारीलाई आग्रह गर्नुभयो । “अधिकृत न्यायपालिकाको आधारस्तम्भ हो, यसको आधारमा सुधार गर्दै जानु जरुरी छ । मर्यादित, प्रतिष्ठित र निष्ठावान् न्यायपालिकाको कर्मचारी हुँदा सबैको शिर उँचो हुन्छ, यसमा ध्यान दिनुहुन मेरो आग्रह छ”, उहाँले भन्नुभयो ।

मुद्दा फछ्र्यौट, पेसी व्यवस्थापनमा उत्साह र क्रियाशीलता आवश्यक रहेको बताउँदै उहाँले संसदीय समितिमा दुई वर्षभित्र दुई वर्षभन्दा बढी अवधिका मुद्दा शून्यमा झार्ने प्रतिबद्धता जनाएकाले सो उपलब्धि हासिल गर्न समन्वय र सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो ।

प्रधानन्यायाधीश राउतले अधिकृत समाजले संस्थागत उन्नयन र सामूहिक एकताका आधारित रहेर काम गर्नुपर्नेमा जोड दिँदै न्याय क्षेत्रमा काम गर्ने अधिकृत समग्र न्यायपालिकाको ऐना भएकाले सोहीअनुसार कार्यसम्पादन गर्नुपर्ने धारणा राख्नुभयो । न्याय क्षेत्र गरिमामय सेवा भएको बताउँदै उहाँले न्याय सेवाका कर्मचारीप्रति राष्ट्र र समाजले विश्वास गर्ने भएकाले हामी इमान्दार र निष्ठावान् हुनुपर्नेमा जोड दिनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकाको गरिमा उच्च राख्न मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच शक्ति सन्तुलन कायम गरेको जनाउँदै यसको गरिमालाई उच्च राख्न न्यायपालिका इमान्दार र पारदर्शी हुनुपर्ने धारणा राख्नुभयो ।

न्यायपालिका अधिकृत समाजका संस्थापक अध्यक्ष न्यायाधीश विनोद शर्माले न्यायपालिकाको मेरुदण्ड अधिकृत भएको भन्दै अधिकृत मजबुत भए मात्रै न्यायसम्पादन सहज हुने बताउनुभयो । अधिकृतले आफ्नो आवाज प्रतिविम्बित गर्ने उपयुक्त माध्यम अधिकृत समाज रहेको उहाँको भनाइ छ ।

सर्वाेच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालले न्यायपालिकामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकृतले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै  तार्किक निष्कर्षमा पु¥याउने काम अधिकृतको भएको जानकारी दिनुभयो । उहाँले न्यायपालिकाका अधिकृतले काम र निष्ठाले न्याय सम्पादनलाई प्रभावकारी बनाउनुपर्ने भन्दै अधिकृतहरू न्यायपालिकाको कर्मशील व्यक्तित्व भएका धारणा राख्नुभयो ।

सर्वाेच्च अदालतका रजिस्ट्रार विमल पौडेलले न्यायसेवा क्षेत्रको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले न्यायपालिका अधिकृत समाजको स्थापना भएको जानकारी गराउँदै अवसरमा भन्दा पनि जिम्मेवारीलाई ध्यान दिएर लगनशीलतापूर्वक काम गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो ।

न्यायपरिषद्का सचिव यमबहादुर बुढाले ज्ञान, सीप र क्षमतालाई अधिकतम उपयोग गर्न न्यायपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले न्यायपालिकामा आउने सेवाग्राहीलाई सहज र शीघ्र, निष्पक्ष, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गरेर सकारात्मक छाप छोड्नुपर्नेमा जोड दिनुभयो ।

सर्वाेच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले साधारणसभाले भावी नेतृत्व चयन गर्दै कर्मचारीमा आपसी सद्भाव र समन्वय कायम गर्न मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

न्यायपालिका अधिकृत समाजका अध्यक्ष बाबुराम दाहालले न्यायपालिकाको निष्ठा र गरिमालाई उच्च राख्न सधैँ प्रयास गरिरहने प्रतिबद्धता जनाउनुभयो । महासचिव अशोककुमार क्षेत्रीले विसं २०६५ मा स्थापित यस समाजको पाँचौँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने जानकारी दिनुभयो । रासस