काठमाडौं । महानगरीय प्रहरी परिसरले काठमाडौं महानगरपालिकाले गैंडाको खागसहित चारजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ९ सिनामङ्गलस्थित एक क्याफेबाट सोमबार खाग बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको हो । खागको बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा खटिएको टोलीले खानतलास गर्दा बुद्धि क्षेत्रीको झोलाबाट गैंडाको एउटा खाग बरामद गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका ४ घर भई ललितपुर गोदावरी नगरपालिकाको टौखेल बस्ने ६० वर्षीय सरोज गुरूङ, सिन्धुलीको दुधौली ११ घर भई भक्तपुर नयाँठिमी बस्ने २७ वर्षीय बुद्धि क्षेत्री, सुर्खेतको विरेन्द्रनगर ११ घर भई काठमाडौंको सिनामंगल बस्ने ३५ वर्षीय पूर्ण परियार र सिन्धुली खुर्कोट घर भई काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने २५ वर्षीया शिखा गिरी बराल रहेका छन् ।
पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि बरामद खागसहित डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।