काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भइरहेको बताईएको छ । साथै, दुईबीच नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तको विषयमा पनि कुराकानी हुने बुझिएको छ ।
गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ मा सकिएको थियो । त्यसयता गभर्नर पद रिक्त रहेको छ । सभापति देउवाले यसअघि नै गभर्नरमा अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका बताईएको छ ।
सरकारले गत बुधबार अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थमन्त्री पौडेलसहित पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे पनि रहेका छन् ।
समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद बैठकले एक जना नियुक्त गर्ने व्यवस्था छ । तर, गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन ।










