१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चम्पादेवीको सालक मार्गमा ऐतिहासिक पोखरी पुनःनिर्माण सुरु



अ+ अ-

कीर्तिपुर। दशकौँ अघि अस्तित्वमा रहेको कीर्तिपुर नगरपालिका–४ को सालक पदमार्गमा पर्ने ऐतिहासिक पोखरी पुनःनिर्माण सुरु भएको छ ।

हरेक नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते मेला लाग्ने उपत्यकाको तेस्रो अग्लोडाँडा चम्पादेवीस्थित मन्दिर जाने पदमार्गको मध्यमा यो पोखरी भञ्ज्याङ अवस्थित छ ।

यो मार्ग दुर्लभ एवं सङ्कटापन्न वन्यजन्तुमा सूचीकृत सालकको बासस्थान भएकाले सालक मार्गका रूपमा परिचित छ । कीर्तिपुर–४ वडा कार्यालयबाट बाघभैरव मन्दिर हुँदै करिब एक घण्टको उकालोपछि भेटिने यो पोखरी बाघभैरव सामुदायिक वन क्षेत्रभित्र पर्दछ ।

स्थानीय वन्यजन्तुको पानी स्रोतका रूपमा रहेको यो पोखरी लामो समयदेखि पुरिएको अवस्थामा थियो । ठाउँको नाम पोखरी भञ्ज्याङ भए पनि पोखरी नदेखिएको विषयमा स्थानीय व्यवसायी तथा पर्यटकले कुरा उठाउन थालेपछि पोखरी उत्खनन गरी पुरानो अवस्थामा ल्याउने पहल गरिएको स्थानीय अभियन्ता मुरारी विष्टले बताउनुभयो ।

यसलाई पुनःनिर्माण गर्न सके वन्यजन्तु, चराचुरूङ्गीलाई पानी खान सहज हुनुका साथै खानेपानी मुहान पनि रिचार्ज हुन्छ भन्ने उद्देश्यले पहल थालेका हौँ”, उहाँले भन्नुभयो ।

चम्पादेवीको सालक मार्गमा आज बाघभैरव उपभोक्क्ता समूह, रेडक्रसकर्मी, स्थानीयलगायतको सहभागितामा करिब चार फिट गहिराईसम्म उत्खनन गरिएको थियो । रासस