२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डढेलोबारे अझै छैनन् सचेत



अ+ अ-

दमौली, (तनहुँ) । जिल्लामा गत चैतदेखि मात्रै १६२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । त्यसबाट ठूलो क्षति भएको छ । यहाँका पालिका र सरोकार भएका निकायले सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरे पनि डढेलोका घट्ना भने भइरहेका छन् ।

डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी सहायक वन अधिकृत राजकुमार श्रेष्ठले यस अवधिमा जिल्लाका विभिन्न १२ वटा सामुदायिक वनमा डढेलो लागेको जानकारी दिनुभयो । यसबारे एकीकृत विवरण सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो ।

वनमा डढेलो लगाउनु हुँदैन भनेर जिल्लास्थित दशवटै पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि डढेलो लाग्ने क्रम नरोकिएको श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “स्थानीय तहको सहयोगमा सामुदायिक वनका पदाधिकारी र सदस्य राखेर सचेतना फैलाउने काम निरन्तर भइरहेकै छ तर पनि वर्षैपिच्छे डढेलोका घटना बढिरहेकै छन् । यसमा हामी सबै चिन्तित छौँ ।”

जिल्लामा ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ भने दशवटा स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन र छवटा धार्मिक वन रहेका छन् । गर्मीयाम सुरु भएसँगै यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको र सो कार्य मानवीय असावधानीकै कारण भए पनि त्यसमा सङ्लग्नको पहिचान गर्न नहुँदा कारबाहीको दायरामा ल्याउन नसकिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

यहाँ घर नजिकैको पातपतिङ्गर सफा गर्ने नाममा जलाउने, गाईबाख्राका लागि घाँस पलाउँछ भन्दै वनमा आगो लगाउने प्रवृत्ति कायमै छ । त्यसलाई निरुत्साहित गर्न सचेतनाका कार्यक्रम गरिए पनि त्यसको प्रतिफल आउन सकेको छैन । डिभिजन वन कार्यालयले जिल्लाका आठवटै सब डिभिजनमार्फत वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

त्यसक्रममा वनमा अग्निरेखा बनाउने, पात भर्ने समयमा सफा गर्ने, वनजङ्गल बाहिर लगेर मात्र गोल पोल्ने, आगो बल्ने चीज लिएर वनमा नजाने, सुकेका र ढलेका रूख तथा हाङ्गाबिङ्गाहरु सुक्खा मौसम अगावै हटाउने विषयमा सामुदायिक वनका उपभोक्तालगायतलाई सचेत गराउने गरिन्छ । “गर्मी मौसममा बिँडी, चुरोट खाएर ननिभाइ  फाल्नाले, वन्यजन्तु भगाउन आगो लगाउनाले, नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलोको प्रकोप बढ्न सक्छ”, श्रेष्ठले भन्नुभयो, “गोठालो तथा केटाकेटीहरूले मनोरञ्जनका लागि वनमा आगो बाल्ने, वन नजिकका खेतबारीमा झारपात जलाउने र ननिभाउने गर्नाले पनि आगलागीका घटना हुन सक्छन् । यसतर्फ सचेत हुनुपर्छ भनेर जानकारी दिइरहेकै छौँ ।”

डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । वन ऐनमा  राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीन वर्ष कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । रासस