काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने दोहोर्याउनुभएको छ ।
महामन्त्री शर्माले मौन धारण गरेर सरकार सफल नहुने बताउनुभएको हो । उहाँले सरकार सफल हुने भनेकै कमी,कमजोरी केलाएर हुने भन्दै आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको बताउनु भयो । उहाँले वर्तमान सरकार कायमै रहने भएकोले सरकारको कार्यशैली बदलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार कायम रहन्छ । सरकार चल्नुपर्छ र सरकारले आफ्नो कार्यशैली बदल्नुपर्छ । सरकार सफल हुने भनेको मौन धारणा गरेर हो र ? सरकार सफल हुने त कमजोरी केलाएर हो नि । आफू संलग्न भएको सरकारको सफलताको लागि सरकार यहाँ तिमी चुक्दैछौ, यहाँ तिमी चुक्दैछौ । यहाँ तिमी ढिलाइ गर्दै छौँ भनेर बोल्ने कर्तव्य त पार्टीका पदाधिकारीहरूको बन्छ नि ।’
महामन्त्री शर्माले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री उसकै पार्टीको टिम हुनेगरी सहमत हुनुपर्ने प्रश्ताव राख्नुभयो । उहाँले एमालेबाट प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम र काँग्रेसबाट प्रधानमन्त्री हुने बेलामा काँग्रेस टिम हुनेगरी सहमत हुनेगरी विकल्प प्रश्तुत गर्नुभयो । शर्माले भन्नुभयो, ‘जो प्रधानमन्त्री उसैको टिम । यसमा सहमत होऔँ । काँग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीलाई भन्नुप¥यो । एमालेको प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम दिने टोटल । बरु, अरू साना दललाई गाँसौँला, काँग्रेस बाहिरिने । काँग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने । भोली काँग्रेसको प्रधानमन्त्री बन्ने बेलामा काँग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमीकमजोरीप्रति प्रश्न गर्छ ।’
उहाँले सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर गर्नुभयो । कुनैपनि बहाना बनाएर सरकारको कार्यसम्पादनमा भएको ढिलाइको दोष लगाउन नहुने बताउनु भयो । उहाँले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दिनुभएको अभिव्यक्तिको जवाफ दिँदै सरकारको आलोचनालाई आक्रमण कम र सरकारको गति रूपान्तरणको लागि बोलिएको रूपमा हेर्न आग्रह गर्नुभयो ।
शर्माले भन्नुभयो, ‘सबैभन्दा उत्तम विकल्प, सरकारको गति बढ्नुपर्छ । कुनैपनि यो वा त्यो, इन्तु–परन्तु, इफ–बट भनिराखेर सरकारलाई ढिलाइ भएको कुरामा कसैलाई दोष लगाएर हुँदैन । पूर्वप्रधानमन्त्री प्रचण्डलाई म भन्न चाहन्छु, सरकारमाथिको आक्रमण कम, सरकारको गति रूपान्तरणको लागि बोलिएको हो । यो सरकार रहन्छ, रहनुपर्छ ।’
उहाँले काँग्रेस सभापति शेरबहादुर देउवा समेत कामको गति बढाउनुपर्ने पक्षमा रहेको प्रस्ट पार्नुभयो । उहाँले शिक्षकका माग सम्बोधन गर्न, गभर्नर नियुक्ति, एआइजी नियुक्ति लगायतका कामहरूमा अब ढिलाइ गर्न नहुने समेत बताउनु भयो ।










