
काठमाडौँ । सुएज नहर प्राधिकरणले गाजामा भएको छोटो युद्धविराम पछि फेब्रुअरीदेखि १६६ जहाजहरू केप अफ गुड होप मार्गबाट सुएज नहरमा फर्किएको बताएको छ । जसले लाल सागरमा तनाव कम गर्न मद्दत गरेको छ ।
विश्वव्यापी विश्लेषण फर्म केप्लरको तथ्याङ्कलाई उद्धृत गर्दै युरोपेली संघको इन्धन ढुवानीको ५० प्रतिशत मार्चमा नहरबाट गुज्रिएको थियो । सुएज नहर राजश्वमा २०२४ मा ६० प्रतिशतभन्दा बढीको गिरावट आएको छ । जुन लगभग ७ अर्ब अमेरिकी डलर बराबर हो ।
हमास–इजरायल द्वन्द्वको समयमा गाजासँग ऐक्यबद्धता प्रदर्शन गर्न यमनका हुथीहरूले अक्टोबर २०२३ मा इजरायली–सम्बद्ध जहाजहरूमा आक्रमण गर्न थालेपछि लाल सागरमा तनाव उत्पन्न भयो । जनवरी १९ मा गाजामा युद्धविराम सम्झौता लागू भएपछि जहाजहरूमा हुथी आक्रमणहरू रोकिएपछि लाल सागर क्षेत्रमा स्थिरता फर्किएको छ ।
गत हप्ता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले क्षेत्रीय अवस्थाका कारण इजिप्टले सुएज नहर राजश्वमा मासिक लगभग ८० करोड अमेरिकी डलर गुमाउने गरेको बताउनु भयो ।