२० माघ २०८१, आईतवार
,
Latest
बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको निर्णय पालना भए मुलुक जलविद्युत उत्पादनमा २० वर्ष पछि धकेलिन्छः अध्यक्ष… नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’ उदित नारायणले लाइभ शोमा एक युवतीलाई ओठमै किस गरेपछि… मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर कोरोना संक्रमण बढ्यो, सरकारद्वारा थप कडाइ



अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल र रेस्टुरेस्टमा बसेर खान नपाइने निर्णय गरेको हो भने ‘टेक अवे’ सुविधा भने खुला गरेको छ । अब होटल र रेस्टुरेस्टबाट सामान प्याक गरेर लैजान मात्र पाइने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले १५ साउनदेखि होटल तथा रेस्टुरेस्ट सञ्चालन गर्न अनुमति दिएको थियो ।

सरकारले अत्यावश्यकबाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने निर्णय पनि गरेको छ । यस्तै, दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ संस्थालगायत प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्र्ने सबै कार्यालयलाई ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ भने विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । सरकारले चाडपर्वहरू आआफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरू पालना गरेर आ–आफ्नो परिवारका सदस्यले मात्र मनाउन पाउने निर्णय पनि गरेको छ ।

सरकारले शैक्षिक संस्थाहरू, सबै प्रकारका सभा, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, चिडियाखानाको निषेध यथावत् राख्ने निर्णय गर्दै पालनामा कडाइ गर्ने निर्णय गरेको छ । यस्तै, फुटपाथ(खुला ठाउँ र ठेलागाडा(साइकल सञ्चालनमा भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ता कपडाको व्यवसाय निषेध गर्ने निर्णय पनि गरेको छ ।

सरकारले लामो दुरी (अन्तरजिल्ला) सञ्चालन हुने यातायात सेवा पनि तत्काल नखुलाउने भएको छ । यसअघि १ भदौदेखि सञ्चालन गर्न दिने निर्णय गरेकामा सोमबारको मन्त्रिपरिषद् बैठकले १६ भदौसम्म सञ्चालन गर्न नदिने निर्णय गरेको हो । सरकारले भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडान नखुलाउने निर्णयसमेत गरेको छ । सरकार प्रवक्ता, अर्थ, सूचना सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले सोमबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय उडान ३१ भदौ राति १२ बजेसम्म बन्द गरिएको र स्वदेश आउनैपर्नेलाई सहजीकरण गरेर ल्याइने जानकारी दिए ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूमध्ये ५ सयलाई मात्र उद्धार गर्ने भएको छ । सरकार प्रवक्ता खतिवडाले दैनिक अधिकतम ५ सय जना नेपाली नागरिकलाई मात्रै उद्धार उडान अनुमति दिने निर्णय भएको जानकारी दिँदै नेपालीहरूलाई संक्रमण मुक्त भएको यकिन भएपछि मात्रै गन्तव्यस्थल जान दिइने बताए । सरकारले भारतबाट कामदार ल्याउन पनि प्रतिबन्ध लगाएको छ । सरकारी निर्णय अटेर गरेर उद्योगहरूले लुकीछिपी कामदार ल्याए कारबाही गरिने डा. खतिवडाले बताए । सरकारले भारतबाट नेपाल छिर्ने नाका २० बाट दशमा झार्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता खतिवडाका अनुसार अब झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कैलालीको गड्डा चौकी नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइनेछ । सरकारले अन्तर्राष्ट्रिय नाकाहरू तथा खुला सिमानाहरू भने ३१ भदौसम्म बन्द गर्ने निर्णय गरेको छ । राजधानी दैनिक