काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उहाँले महोत्तरीमा नेपालकै ठूलो ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ सञ्चालनमा ल्याउनुभएको हो ।
विशेषगरी बित्तीय, पर्यटन, अटोमोबाइल, सूचनाप्रविधि र उर्जाक्षेमा संलग्न रहेको व्यवसायिक घराना आइएमई ग्रुपले पहिलो पटक कागज उद्योग सञ्चालनमा ल्याएको हो ।
पछिल्लो समय नेपालमा बढ्दो कागज आयातलाई प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले ढकालले कागज उद्योग सञ्चालनमा ल्याउनुभएको हो । हाल उक्त उद्योगमा आईएमई समूहलगायतको २ अर्ब रुपैयाँ बढी लगानी रहेको छ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ स्थित रामनगरमा रहेको यस उद्योगमा नेपाली लगानीकर्ताहरूकै लगानी रहेको छ । २०७८ सालमा शिलान्यास भएको यो उद्योगको निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन शुरु गरिसकेको छ ।
उद्योगको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर्ने कार्यक्रम छ । यो उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने छ ।
नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन पेपर खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था छ ।
स्कुल कलेजमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । तर, उक्त उद्योग संचालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिव ३० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ । उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।
















