काठमाडौँ । मोरङमा सोरुमबाट गाडी चोरी भएको छ ।
शुक्रबार बिहान विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रालिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरी भएको हो ।
चोरीको घटनामा संलग्नलाई एक जनालाई प्रहरीले शुक्रबार नै पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ४ बस्ने मन्तोष कुमार बिन रहेका छन् ।

काठमाडौँको शाखा कार्यालयको रूपमा रहेको उक्त सोरुमको ढोकाको सिसा फुटाई खुला घर्रामा रहेको चाबी झिकेर बिनले टाइगुन मोडलको कार र १ थान ल्यापटप चोरेर फरार भएका हुन् ।
घटनापछि सोरुमका मेनेजर इन्द्रराज श्रेष्ठले प्रहरीमा खबर गरेसँगै चोरीमा संलग्नको खोजतलास सुरु भएको थियो । प्रहरीका अनुसार मन्तोषले शोरुमबाट चोरी गरेको नयाँ गाडी भारततर्फ लैजान खोजेका थिए । तर, पेट्रोल सकिएकै कारण अघि बढ्न नसक्दा उनी पक्राउ परे ।
पक्राउ परेका बिनमाथि आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










