काठमाडौँ। आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्दै छ ।
जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ ।
उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयका सम्बन्धमा छलफल गरिनेछ, सो बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११:०० बजे बोलाइएको छ, जुन बैठकमा । समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल गरिनेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे शुरु हुनेछ।
मध्यान्ह सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकको कार्यसूचीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने भनिएको छ। बैठक दिउँसो साढे १ बजे शुरु हुनेछ।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूमाथि छलफल गर्ने कार्यसूची छ। बैठक साढे ११ बजेका लागि बोलाइएको छ।
यस्तै विधायन व्यवस्थापन समितिको ४५ औँ बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ। बैठक दिउँसो १ बजे बस्नेछ।










