२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका ठूला आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह



अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशमा सञ्चालित ठूला विकास आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज सम्पन्न भर्चुअल बैठकका क्रममा कर्णाली प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री कँडेलले बजेट अभावका कारण कर्णालीमा सञ्चालित ठूला आयोजनाहरूको निर्माण सम्पन्न हुन नसकेकाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएको मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ ।

कर्णाली करिडोर, कर्णाली राजमार्ग र भेरी करिडोरको स्तरोन्नतिमा हाल देखिएको बजेट अभाव र काममा भएको ढिलाइका सम्बन्धमा मुख्यमन्त्री कँडेलले बैठकमा जानकारी दिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।

उनका अनुसार पुष्पलाल (मध्य पहाडी) लोकमार्ग अन्तर्गत जाजरकोट खण्डमा पर्ने मान्साभिरको सडक र भेरीमा पुल निर्माणमा जोड दिनुपर्ने, कोहलपुर–सुर्खेत एक सय ३२ केभिए प्रसारण लाइनको विस्तारमा हाल देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने, सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति, जाजरकोट भूकम्पपछिको पुनःनिमार्णमा भइरहेको ढिलाइबारे पनि मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र रुख कटानमा देखिएको ढिलाइका कारण बड्डीचौर-खम्बागाढे, तेलपानी-भुरीगाँउलगायत सडक आयोजनामा निर्माण र विस्तारमा देखिएका समस्या, अलपत्र रानीघाट पुल निर्माण अघि बढाउन, प्रदेश तथा स्थानीय तहले सडक तथा अन्य आयोजना बनाउँदा रुख कटानमा तिर्नुपर्ने शुल्क हटाउने व्यवस्था मिलाउन उनले प्रधानमन्त्रीसँग अनुरोध गरेको गौतमले बताए ।

संघीय सरकारले ठेक्का लगाएको भेरी बबई डाइभर्सन आयोजनाको कामलाई समयमा सम्पन्न गर्नुपर्ने, आसन्न चैत २३–३० गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा संघीय सरकारबाट हुनुपर्ने मागसहित कर्णाली प्रदेश सरकारद्वारा चालु आर्थिक वर्षमा भइरहेका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह र सुशासनको अवस्थाबारे पनि उनले बैठकमा प्रधानमन्त्री ओलीलाई अवगत गराएको थिए ।रासस