२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ



अ+ अ-

दमौली (तनहुँ): पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ । विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउनुहुन्छ ।

उहाँले यहाँको सौन्दर्यका लागि घरका बाहिरी गल्ली (करिडोर) खुला राख्न र व्यापारिक भवन तथा पसल अगाडि सामान नराख्न आग्रह गरिएको बताउनुभयो । “ व्यवसायीले पसल अगाडिको सार्वजनिक क्षेत्रमै कारोबार गर्ने, टेबल, कुर्सी राख्ने समस्या छ । त्यसैले अधिकतम एउटा टेबल र तीनवटा कुर्सी मात्र राख्न पाउने व्यवस्था गरिएको छ”, अध्यक्ष थापाले भन्नुभयो,“व्यवसायीहरूलाई पसल बाहिर सामान राखेर बिक्री–वितरण नगर्न, ग्राहकले देख्ने गरी मूल्यसूची अनिवार्य राख्नुपर्ने नियम लागू गरिएको छ । बजार क्षेत्रका व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएका ‘फ्लेक्स बोर्ड’हरू तुरुन्त हटाएर काठ वा हस्तलिखित बोर्डहरू राख्नुपर्ने निर्णय भएको छ ।”

बजार क्षेत्रबाहिर टेबल कुर्सीमा मदिरा सेवन तथा धुम्रपान गर्न कडाइ गरिएको छ । यस निर्णयलाई कार्यान्वयन गर्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, राजस्व प्रमुख दिनेश पौडेल, राजनीतिक दलका प्रतिनिधिहरू, प्रहरी तथा पत्रकारहरूको टोलीले संयुक्त रूपमा बजार अनुगमन सुरु गरिएको छ । हालै भएको अनुगमनका क्रममा व्यवसायीहरूलाई नियम पालना गर्न आग्रह गरिएको छ भने नियम उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

यदि कसैले नियम उल्लङ्घन गरेको पाइएमा रु पाँच हजारसम्म जरिवाना गरिने अध्यक्ष थापाले बताउनुभयो । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणका केन्द्रका रूपमा रहेका छन् ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।