काठमाडौँ। टिप टप इन्डो नेपाल एकेडेमी टी(२० क्रिकेट प्रतियोगिताको उपाधि टिपटप डीएभी क्रिकेट एकेडेमीले जितेको छ । मूलपानी (तल्लो) मैदानमा सम्पन्न फाइनलमा टिपटप डीएभी क्रिकेट एकेडमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ३४ रनले पराजित गरेको हो ।
दोस्रो इनिंग्समा १४० रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयन क्रिकेट एकेडेमीले १९ ओभरमा १०५ रनमा सबै विकेट गुमायो । ग्रेट हिमालयका सुप्रिम सुनारले सर्वाधिक ६१ रन बनाए । जुन क्रममा उनले ४९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । अभि थपलियाले ११ तथा प्रवल श्रेष्ठले १० रन बनाए ।
डीएभीको बलिंगमा प्रसिद्ध जैसीले सर्वाधिक ३ विकेट लिए । जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए । केशव अग्रवाल र तनिश्क कुमार शाहले समान दुई दुई विकेट लिए। कमल शाही र प्रसंग पौडेलले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिंग गरेको टिपटप डीएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो । डीएभीको ब्याटिंगमा ओपनर श्रेयश अग्रवालले सर्वाधिक ३९ रन बनाए । प्रसंग पौडेलले ३३, प्रसिद्ध जैसीले ३१ रन बनाए । कमल शाहीले अविजित १३ रन तथा कप्तान आरुष झाले ११ रन योगदान दिए ।
ग्रेट हिमालयको बलिंगमा वंश क्षेत्री र सामिप्य सापकोटाले समान २ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका डीएभीका प्रसिद्ध जैसी फाइनलको प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर ग्रेट हिमालय क्रिकेट एकेडेमीका वंश क्षेत्री घोषित भए । उत्कृष्ट बलर ग्रेट हिमालय क्रिकेट एकेडेमीका सामिप्य सापकोटा तथा उदीयमान खेलाडी अभिषेक कडायत घोषित भए । यस्तै उत्कृष्ट विकेटकिपर बोलपुर युथ टाउन क्लब, बङ्गाल भारतका अत्रिजो रोय घोषित भए ।
विजेता खेलाडीहरूलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार प्रदान गरे । डीएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा माघ १६ मा सुरु भएको प्रतियोगितामा कुल ६ टिम सहभागी रहेका थिए । टिपटपको मुख्य प्रायोजन रहेको प्रतियोगितामा १६ वर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाएका थिए ।