२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल

कस्ता मूर्तिलाई मन्दिरभित्र राखिँदैन ?

कस्ता मूर्तिलाई मन्दिरभित्र राखिँदैन ?
अ अ+ अ-

देवीदेवताका प्रकृति एवं ऊर्जा नुसार मूर्तिलाई मन्दिरभित्र, पर्खालले घेरेर, वृक्षमुनि, खुल्ला ठाउँ वा नदी किनारमा राख्नुपर्छ । सूर्य, भैरव, नाग, नवग्रह, ऋषि र देवीदेवताले स्थापना गरेका, राक्षसहरूले पूजेका, तान्त्रिक देवीदेवता आदिका मूर्तिहरूलाई मन्दिरभित्र राख्न हुँदैन । मन्त्रात्मक ऊर्जा, यन्त्रात्मक बनोट एवं तन्त्रशक्ति प्रवाह हुने मूर्तिलाई खुल्ला ठाउँ, वृक्षमुनि वा जलभित्र राख्नुपर्छ ।

मूर्ति देवीदेवताको शरीर भएकाले सुरक्षितरूपमा, विधिपूर्वक, उपयुक्त स्थानमा स्थापना गरिन्छ । मानव शरीरमा नौवटा द्वार (प्वाल)  हुन्छन् जहाँ आत्मा व्यापक हुन्छ । आत्मासहितको मूर्तिलाई शास्त्रीय विधानपूर्वक नराख्दा अनिष्ट हुन सक्छ । बलि दिनुपर्ने, विशिष्ट प्रयोजनका लागि स्थापित, तान्त्रिक विधिले पूजा गर्नुपर्ने वा आकाशगामी देवीदेवताका मूर्तिलाई छाना नभएको, ढोका नलगाइने, आँखीझ्याल भएका मन्दिरमा राखिन्छन् । प्रकृतिसँग जोडिनुपर्ने, गतिशिल हुनुपर्ने, देवीदेवता वा सिद्धहरू दर्शन गर्न आउने मूर्तिलाई मन्दिरभित्र राख्न हुँदैन ।

वि. सं. २०७२को महाभूकम्पपछि प्राचीन मूर्तिको इतिहास र महत्व नबुझी, मन्दिर पुनर्निर्माणका क्रममा धेरै गल्ती भएका छन् । ठूला, अग्ला, आकर्षक बनाउन खोज्दा परम्परामाथि वज्रपात, पुर्खाको कला र ज्ञानमाथि प्रतिघात, साधनामाथि आघात हुन पुगेका छन् ।

मूर्तिकलामा शास्त्रलाई मात्र होइन भूगोल, जंगल, गुफा र नदी आदिको इशारालाई बुझ्नुपर्छ । यिनीहरूकै काखमा मूर्ति जन्मिए, देवीदेवता पुजिए, ऋषिहरू आराध्य बने । अग्लिएको पर्वतमा पवित्रता छ, उभिएको हिमालमा हीनता नाश गर्ने शक्ति छ, बगेको नदीमा दैवी ऊर्जा छ, वनस्पतिमा मन शुद्ध गर्ने तागत छ, पहाडमा पाप पखाल्ने जादु छ । मूर्ति राख्दा, मन्दिर बनाउँदा भूमिको स्वरूप, वातावरणको शक्ति, नदीको बहाव, समाजको संरचना आदिलाई ध्यान दिई बनाएमा देवीदेवताको दर्शन पाइन्छ, भाकल र साधना पूरा हुन्छ ।

भूऊर्जाका कारण मूर्ति एवं मन्दिरमा अद्भूत घटनाहरू देखिन्छन् । उदाहरणका लागि पश्चिम नेपालको जलजला क्षेत्रमा पूजा गर्ने ढुङ्का छनौट विधिलाई लिन सकिन्छ । पूजाको अघिल्लो रात आकाशबाट उल्का पिण्ड खसेझैँ उज्यालो आएर जुन ढुङ्कामा विलीन हुन्छ, त्यसैलाई धामीझाँक्री वा तान्त्रिकहरूले पत्ता लगाउँथे । यो ढुङ्का समाउनेबित्तिकै उनीहरू काम्थे र विधिअनुसार स्थापना गरी पूजा गर्दथे ।

शक्ति बर्सिएको ढुङ्का, भगवान् बसेको धातु, देवीदेवता रहेको रत्नलाई मूर्ति बनाउनुपर्छ । कतिपय मूर्ति वा भूमिको ऊर्जाले शरीर काम्न (हल्लिन) थाल्छ, मनमा तरङ उत्पन्न गर्छ, पत्याउनै नसक्ने अनुभूति हुन्छ । कतिपय मन्दिरले पूर्वजन्मको पापलाई नाश गर्छ, शान्तिको आभास दिलाउँछ, भावुक तुल्याउँछ र संस्कारलाई उजागर गराउँछ । केहीलाई वेद, गीता, चण्डीलगायतका ग्रन्थहरू छुँदा, शिवालय र देवीमन्दिर आदिमा जाँदा कम्पन आउँछ । मूर्ति र तीर्थस्थलमा दैवी शक्ति हुन्छ, प्रकृतिको सात्विक तरङ चल्छ, ग्रहहरूको अनुकूल ऊर्जा प्रवाह हुन्छ र सुषुप्त अवस्थामा रहेको शक्तिलाई उजागर गर्छ ।

जन्मकुण्डलीमा नवमेश वा वृहस्पतिको बसाई ठीक नहुँदा, पूर्वजन्मको खराब कर्मले गर्दा कतिपय तीर्थस्थल र मन्दिरमा जाने वातावरण मिल्दैन, गई हाले पनि अनेक अड्चन आउँछ, पूर्ण हुँदैन । देवीदेवतासहित अदृश्य शक्ति आउने हुँदा बस्न सजिलो होस् भनी कुण्ड र तीर्थस्थलमा भक्तजनहरूले माटोको ढिस्को बनाएर वा एकमाथि अर्को ढुङ्का राखेर पूजेको देखिन्छ । एउटामात्र ढुड्डा राखे परमात्मा, दुईवटा ढुड्डा खप्टाएर प्रकृति र पुरुषको रूपमा, तीनवटा राखे त्रिदेव, एघारले रुद्र र १४ ले चौध लोकका सम्पूर्ण देवीदेवता पुजिएको संकेत दिन्छ । सृष्टिको उषाकालदेखि सूर्य, जल, माटोका ढिस्का, अनौठा र ऊर्जावान् ढुङ्का, वनस्पति आदिमा दैवी शक्ति अधिक भएकाले पूजा गरिन्थ्यो ।

प्राचीन कालमा कुनै पनि धातु, रत्न, पत्थर आदिलाई काँट्छाँट् नगरी, आकृति नबनाई मूर्ति राखिन्थ्यो । द्वापरयुगको अन्त्यसँगै देवी, भैरव, विष्णु, महादेव आदिको स्वरूप बनाई मूर्तिहरू कुँद्ने क्रम व्यापक भयो । त्यसभन्दा पहिलाका मूर्तिमा कसैको आकार छैनन् । जबदेखि  ईश्वरलाई आकारमा देख्न चाहे, दैवी ऊर्जा, सशरीर लिन मिल्छ भन्ने विश्वास बढ्यो । ईश्वरलाई शरीरधारी संझन थालेदेखि विभिन्न स्वरूपका मूर्ति बनाई फलफूल आदि वृक्षका फेद, तीर्थ, दोबाटो, चौबाटोमा राखेर पुज्न थाले । बौद्ध धर्मावलम्बीहरूले पनि स्तूप, ऊर्जाशील मूर्ति आदिलाई मन्दिरभित्र राख्दैनन् । त्रिपुर दहन हुँदा मय दानवले खुल्ला ठाउँमा शिवलिङ्ग पूजा गरिरहेको वर्णनले प्राचीन कालमा मूर्तिलाई मन्दिरभित्र नराखेको पुष्टि हुन्छ । स्वस्थानी व्रतकथाले पनि बालुवाबाट शिवलिङ्ग बनाएको बताउँछ तर शिवालयमा राख्नेबारे बोल्दैन ।

मूर्ति निर्माणका लागि पुर्खाहरूले सजिलै पाइने, बलियो, ऊर्जाशील, तन्त्र र मन्त्रशक्ति छिट्टै हस्तान्तारण हुने पदार्थ ढुङ्कालाई छनौट गरे । ढुङ्काले सबैभन्दा पहिले देवीदेवताको स्वरूप लिने सौभाग्य पायो । ईश्वर संझेर पुजेका पदार्थ सुरक्षित होस्, दुषित नहोस्, सधैँ पूजा गर्न पाइयोस् भनी जुन स्थानमा राखियो त्यसलाई थान (स्थान) भनियो । कतिपय स्थानमा अहिलेसम्म थानी वा देउराली भेटिन्छन् ।

यहाँ पुज्दा परमात्मा प्रसन्न हुन्छन्, दर्शनले छिट्टै शक्ति, साधना गर्दा लक्ष्य पूरा हुन्छ । थानी वा देउराली संझिएर आकारबिहीन ढुड्डाका मूर्तिलाई डाँडाको टुप्पो, भञ्ज्याङ, चौतारो, जलाशयनजिक वा फल्ने–फूल्ने–औषधिजन्य वृक्षमुनि राखिन्छ । तनहूँ जिल्लाको थानीदेवी, अर्घाखाँचीजिल्लाको सुपादेउरालीमा अथाहा शक्ति भएकाले भक्तजनको भीड लाग्छ । यस्ता मूर्तिले आकाश, धर्ती र जमिनमुनिका दैवी ऊर्जालाई तानेर भक्तहरूलाई दिन्छन्,  प्रकृतिको संरक्षण गर्दछन्, दैवी विपत्तिलाई रोक्छन् ।

द्वापरयुगसम्म मूर्तिपूजाको अभ्यास भइसके पनि मन्दिरभित्र राखेको पाइँदैन । महङ्गा धातु, पत्थर, रत्न आदिबाट मूर्ति बन्न थालेपछि चोरिने, फोरिने, बिगार्ने हुँदा सुरक्षार्थ मन्दिरभित्र राख्न थालियो । पाथीभरादेवी, गौरीदेवी (गौरीघाट), कलङ्गीदेवी, वनकाली, दक्षिणकाली, कालभैरव, छाब्दीबराह, आलमदेवीलाई मन्दिरभित्र राखिएको छैन । कतिपय मूर्तिमा देवीदेवताहरू आकाशमार्गबाट दर्शन गर्न आउँछन्, केही मूर्तिको सम्बन्ध विभिन्न लोक र अन्तरिक्षसँग हुन्छ, केही मूर्तिले ब्रéमुहूर्तमा आकाशबाट मोतीले अभिषेक गर्ने वा तीनको तीनै प्रहर स्नान गर्ने हुँदा मन्दिरभित्र राख्न हुँदैन ।

मूर्तिसँग साधकले कुराकानी गर्दथे, सहयोग माग्दथे, रहस्य बुझ्थे । पाशुपतक्षेत्रमा शंकराचार्य र अमर गिरिबिच शास्त्रार्थ हुँदा सरस्वतीको मूर्ति बोलेको चर्चा छ । पचलीभैरवसँग राजाले खड्ग आदानप्रदान गर्थे । कुमारीसँग राजा वा उच्चसाधकले कुरा गर्थे । देवीसँग पासा खेलेर राष्ट्रलाई आइपर्ने अवस्थाको पूर्वजानकारी राजाले लिन्थे । शक्तिसञ्चार भइरहने सूचना आइरहने मूर्तिलाई छोप्न, ढाक्न, थुन्न मिल्दैन ।

मूर्ति र मन्दिर, पूजा र ध्यान, तीर्थस्थल र साधनास्थलको गोप्य रहस्य साधकलाई थाहा हुन्छ । तिनीहरूको पहिचान छालाका आँखा र भौतिक उपकरणबाट हुन सक्दैन । मूर्तिकै शक्तिले असम्भव कार्यलाई सजिलै सम्पन्न गर्थे । वि. सं. २०१७ कार्तिक ९ गते गोरखाकाण्ड घटेको तीन दिनमा योगी नरहरिनाथ गोरखादेखि जुम्ला पुगेको, महागुरु फल्गुनन्द हिमालमा सामान्य लुगा लगाई खाली खुट्टा हिँडेको, बालागुरु षडानन रुमाल ओछ्याएर कोशी तरेका विषय हामीबिच छँदैछन् । साधकहरू मन्त्र, तन्त्र, क्रिया, द्रव्य, काल आदिको शक्तिबाट आकाशमा जान आउन सक्छन्  ।

जुन मन्दिरमा छाना छैन, यन्त्र वा दीयो आदि राखिएको छ, जमिनको सतहमुनि वा तलामाथि मूर्ति राखिएको मन्दिर शक्तिशाली हुन्छन् । छाना राख्दा अनिवार्य रूपमा शास्त्रविधिअनुसार गजुर बनाउनुपर्छ  । मन्दिरमा कतिवटा देवीदेवताको पूजा हुन्छ गजुरले बताउँछ । एउटा गजुर भएको मन्दिरभित्र एउटामात्र मूर्ति, तीनवटा गजुर भएको मन्दिरभित्र तीनवटा मूर्ति, ५ गजुरले पाञ्चायन देवता, ९ गजुरले नवदुर्गा भएको सूचना दिन्छन् । गजुरलाई मन्दिरको शोभा बढाउन होइन यसले ईश्वर, प्रकृति, प्राणीबिच सम्पर्क स्थापित गराउँछ । गजुर एक प्रकारको राडर वा एन्टिना हो ।

कतिपय अवस्थामा मूर्तिमा भन्दा गजुरमा दैवी ऊर्जा एवं संचार गर्ने क्षमता बढी हुन्छ । यसैले प्राय: गजुरचाहिँ सुन वा महङ्गो धातुको राखिन्छ । मूर्तिको दर्शन गर्न नमिले गजुरको दर्शन गर्दा पनि पूर्णफल मिल्छ । गजुरमाथि घण्टी, कमलको फूल, पूर्णकलश र टुप्पोमा विभिन्न मणि आदि राखिन्छ जसले विभिन्न ऊर्जालाई तान्छ । कस्ता धातुले कुन शक्ति तान्छ भन्ने ज्ञान हाम्रा पुर्खालाई भएकाले तिनै धातुबाट गजुर बनाउँथे ।

नवग्रहहरूका मूर्तिलाई मन्दिरभित्र राखिँदैन । भारतको प्रसिद्ध शनिमन्दिर यसको उदाहरण हो । सामान्यत: सूर्यको मूर्ति मन्दिरभित्र राखेमा सूर्यको किरण छिर्ने हुनुपर्छ । भक्तपुरस्थित च्यामासिंनजिकै रहेको ब्रम्हयणी मूर्तिलाई छानाले सुरक्षा दिए पनि ढोका राखिएको छैन । ललितपुरमा रहेको सुनको मूर्तिका पुजारी सानो उमेरको हुनुपर्छ । तान्त्रिक मूर्तिको आफ्नै विधि, भिन्न शक्ति र अलग्गै प्रकृति हुनाले गुह्वेश्वरी, किरातेश्वर, भद्रकाली, पाथीभरालगायतका मन्दिरको छाना छैन ।

देवीलाई देव्यास्त्र, मन्त्र, तन्त्र, यन्त्र आदिका स्वरूपमा पूजा र प्रयोग गरी अनेक लाभ लिन सकिन्छ । ज्वरो निको पार्नका लागि ज्वरेश्वरोमहादेव, दाँत दु:खेमा वास्या:द्य:, विफर आएमा शितलादेवी, सन्तान प्राप्तिका लागि सन्तानेश्वरमहादेव, शत्रुनाशका लागि छिन्नमस्ता वा भैरवी, राम्रो बोली आओस् भन्नका लागि वागेश्वरीदेवी वा वक्रेश्वरमहादेवको पूजा गर्ने परम्परा थियो । नेपालमा अलौकिक शक्ति भएका, अनेकौँ स्वरूपका मूर्तिहरू छन् ।

गोरखास्थित हनूमान्भञ्ज्याङमा सरस्वतीको एक हातमा खड्ग बोकेको मूर्ति छ । उग्रकालीले महादेवको छात्तीमा टेक्नै लागेका मूर्तिहरू प्रशस्त पाइन्छन् । युधिष्ठिरले देवीबाटै अक्षयपात्र (हजारौँलाई खान पुग्ने भोजन दिने भाँडो) पाएका थिए । अज्ञानवश नेपालका केही मूर्तिहरूलाई मन्दिरभित्र राख्न खोज्दा पटकपटक भित्ता भत्कने, छाना उडाइदिने, आगो र चट्याङको प्रकोप भएका छन् । मर्म बुझेर, रहस्य जानेर, भाव बुझेर, ऊर्जालाई ध्यानमा राखेर मन्दिर बनाउन र मूर्ति राख्ने गर्नुपर्छ ।