३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चोत्लुङ पार्क: गुराँसे पाखामा फुलेको रैथाने फूल

चोत्लुङ पार्क: गुराँसे पाखामा फुलेको रैथाने फूल
अ+ अ-

तेह्रथुम । गुराँसे पाखाको बीचमा रहेको सुन्दर चौर । रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरु । बाहाँ, सिकुवा, आँगन । बिना कङ्क्रिड ढुङ्गैढुङ्गा जोडेर बनाइएका फलैंचा र सिँढीमार्ग । मुन्धुममा वर्णन गरिए झै उभ्याइएका अग्लाअग्ला ढुङ्गाका स्तम्भ । सिङ्जाङ्गो (धसिङ्गरे), फुन्जिङ्बा (पैंयू), तेरुलासे (केरा), लिरुसिङ् फा (मलिबाँस) जस्ता हुर्किरहेका मुन्धुममा वर्णित वनस्पतीहरुले तेह्रथुमको पर्यटकीय बजार वसन्तपुर छेउको चोत्लुङ पार्क पुग्ने जो कोहीलाई पनि लोभ्याउँछ ।

यहाँको सुन्दरतामा हरेक दिन पर्यटकहरु रमाइरहेका भेटिन्छन् । चोत्लुङ पार्कमा भेटिएका सुनसरी धरानका रनबहादुर सुब्बाले झण्डै तीन दशकअघिको याक्थुङ (लिम्बू) गाउँ पुगेको अनुभूति भएको सुनाउनुभयो । ‘‘अहिले त गाउँघरले पूरै रुप फेरिसक्यो’’ उहाँले भन्नुभयो ‘‘यहाँ बनाइएका घर र अन्य संरचनाहरुले उहिलेको गाउँघरको याद दिलायो ।’’

चोत्लुङ पार्कमै भेटिएका इलामका चञ्चल लिम्बूले पनि यहाँ पुग्दा आफूले फरकपनको महसुस गरेको सुनाउनुभयो । अन्य ठाउँहरुमा घुम्दा आधुनिकताको सिको गर्दै बनाइएका संरचनाहरु देखिन्थे । तर चोत्लुङ पार्क पुग्दा भने मौलिक तरिकाबाट पनि पर्यटकीय पूर्वाधारहरु बनाउन सकिने रहेछ भन्ने लागेको उहाँले बताउनुभयो ।

लालिगुराँस नगरपालिका–३ मा रहेको यो ठाउँ २०७४ साल अघिसम्म यस्तो थिएन । वन क्षेत्रभित्रको एकान्तमा पर्ने यहाँ हमेसा मानिस नै पुग्दैनथे । पर्यटक आउने त कुरै भएन । यहीँ ठाउँमा चोत्लुङ पार्क निर्माण गरिएपछि अहिले हरेक दिन सयौंको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।

चोत्लुङ पार्कमा रहेका प्रकृतिमैत्री, कलात्मक र रैथाने शैलीका पर्यटकीय पूर्वाधारहरुको अवलोकन गरेर यहाँ पुग्ने पर्यटक आनन्दित हुन्छन् । छोरीको नामको पूजा गर्न पहिलोपल्ट चोत्लुङ पार्क पुगेकी धरानकी चन्द्रा लिम्बूले उहिलेको पहाडी गाउँले जनजीवन र जीवनशैलीको याद आएको बताउनुभयो । ‘‘यी घर, सिकुवा, आँगन, फुलबारी, गोरेटा, फलैंचा र कुवाले मलाई पुराना दिनहरुको सम्झना दिलायो’’ उहाँले भन्नुभयो । मौलिकताको संरक्षण गर्दै पर्यटन विकास गर्ने शैली उहाँलाई निकै मन परेको छ ।

मुन्धुमविद् एवं याक्थुङ (लिम्बू) इतिहासका अध्येतासमेत रहनुभएका लालिगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङकै परिकल्पनामा चोत्लुङ पार्क निर्माण गरिएको हो । विसं २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएपछि उहाँले पार्कको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) बनाएर निर्माणको काम अघि बढाउनुभएको थियो ।

विसं २०७९ मा भएको दोस्रो स्थानीय तह निर्वाचनबाट पनि उहाँ नै नगर प्रमुख निर्वाचित भएपछि चोत्लुङ पार्कले करीब करिब पूर्णता पाएको छ । नगर प्रमुख माबुहाङले त्यतिबेला आफ्नो योजना सुनाउदा इन्जिनियरले खरले छाउने घरको नक्सा बनाउन मानेका थिएनन् । ‘‘जबरजस्ती नक्सा बनाउन लगाइयो’’ उहाँले भन्नुभयो, ‘‘अहिले यहीँ हेर्न मान्छे आएको देख्दा र धेरैले यहीँ कामको प्रशंसा गरेको सुन्दा खुसी लाग्छ ।’’

चोत्लुङ पार्कमा युमा सङ्ग्रहालय छ । सङ्ग्रहालयमा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बुवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्काजस्ता ऐतिहासिक र दुर्लभ कागजात सुरक्षित गरेर राखिएका छन् । याक्थुङ ९लिम्बू० जातिसँग सम्बन्धित पुराना भेषभूषा, गरगहना, हातहतियार र विभिन्न उपकरण सङ्ग्रहालयमा सुरक्षित गरिएको छ । २०७६ पुस ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले सङ्ग्रहालयको उद्घाटन गर्नुभएपछि सर्वसाधारणका लागि अवलोकन गर्न खुल्ला गरिएको हो ।

यहाँ रहेका ऐतिहासिक कागजात, दस्तावेज र अन्य वस्तुहरुले लिम्बुवानको इतिहास र सभ्यतालाई जीवन्त राख्ने नगर प्रमुख माबुहाङले बताउनुभयो । उहाँका अनुसार तत्कालीन लिम्बुवान क्षेत्रका विभिन्न ठाउँहरुबाट धेरै दुःख गरेर यी ऐतिहासिक कागजात र सामग्री सङ्कलन गरिएका हुन् । समयक्रमसँगै हराएर जाने वा नष्ट भएर जाने खतरा बढेकाले यी वस्तुहरुलाई सुरक्षित र व्यवस्थित गरिएको छ ।

सङ्ग्रहालयले संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुलाई ठूलो सहयोग पु¥याउने म्याङलुङ बहुमुखी क्याम्पस तेह्रथुमका उप प्राध्यापक दिपक कट्टेलले बताउनुभयो । यसबाट भावी सन्ततिले आफ्नो इतिहास, संस्कृति, समाज र समाज विकासका चरणबारे जानकारी प्राप्त गर्ने उहाँको भनाइ छ । यस किसिमका अन्य विभिन्न जातजातिका धर्म, संस्कृति रीतिरिवाज झल्काउने सङ्ग्रहालयहरु समेत निर्माण गरिए संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुलाई अझ ठूलो सहयोग पु¥याउने उपप्राध्यापक कट्टेलको भनाइ छ ।

सङ्ग्रहालय, मौलिक संस्कृति र सभ्यता झल्काउने प्रकृतिमैत्री पूर्वाधार, स्वच्छ परिवेश र सुन्दर प्रकृति चोत्लुङ पार्कको मुख्य आकर्षण हुन् । किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले चोत्लुङ पार्क गुराँसे पाखामा फुलेको रैथाने फूल भएको टिप्पणी गर्नुभयो । चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत तेह्रथुमको लालिगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर बजार छेउमा रहेको चोत्लुङ पार्क सवारी साधनबाटै सहजै पुग्न सकिन्छ ।

लालिगुराँसको राजधानी घोषणा गरिएको तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र प्रवेशद्वारको रुपमा रहेको वसन्तपुरमै रहेको छ, चोत्लुङ पार्क । त्यसैले पनि चोत्लुङ पार्कमा पर्यटकीय चहलपहल भइरहन्छ । गुराँस फुल्ने समयमा त चोत्लुङ पार्कमा पर्यटहरुको ठूलो घुइँचो लाग्ने गर्छ । तिनजुरे–मिल्के–जलजले जाने पर्यटक जाँदा वा फर्किदा चोत्लुङ पार्क पुगेर मात्र फर्किन्छन् । यस क्षेत्रमा ३२ प्रजातिकामध्ये २८ प्रजातिका गुराँस पाइन्छ ।

फुल्ने यामबाहेक अन्य समयमा पनि चोत्लुङ पार्कमा दैनिक दर्जनौं पर्यटक आउँछन् । पूर्वी नेपालका सबैजसो जिल्ला तथा भारतको सिक्किम, दार्जलिङ र कहिलेकाहीँ अन्य विदेशी पर्यटक पनि चोत्लुङ पार्क पुग्ने गरेका पार्कका साम्बा (पुजारी) रुद्रबहादुर तिलिङ लिम्बूले बताउनुभयो । ‘चोत्लुङ’ याक्थुङ (लिम्बू) भाषाको अर्थ ‘सिद्धि’ अर्थात ‘पूर्णता’ हुन्छ । त्यसैले सिद्धीस्थलको रुपमा चोत्लुङ पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङ बताउनुहुन्छ ।

पार्क निर्माणका लागि हालसम्ममा लालीगुराँस नगरपालिका, नयाँ शहर आयोजनाको कार्यालय वशन्तपुर तेह्रथमु र अन्य निकाय अनि मनकारी सहयोगीहरुको गरी दुई करोड बढी रकम खर्च भएको नगर प्रमुख माबुहाङले बताउनुभयो । पार्क सञ्चालनका लागि नगरपालिकाले रु.५० रुपैंयाँ प्रवेश शुल्क तोकेको छ । सङ्ग्रहालय समेत अवलोकन गर्न चाहनेहरुले भने रु.एक सय तिर्नुपर्छ । पार्क र सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटकबाट वार्षिक रु १३ लाख राजश्व संकलन हुने गरेको नगरपालिकाले जनाएको छ ।

गाउँ बनाउने अवधारणाअन्तर्गत चोत्लुङ पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङले बताउनुभयो । ‘‘अहिले सबै शहर बनाउनेतिर लागेका छन्, गाउँ बनाउने एजेण्डा कसैसँग छैन’’ उहाँले भन्नुभया,े ‘‘त्यसैले गाउँको सम्भावनाहरुलाई मर्न नदिन र उपेक्षामा परेको गाउँप्रति मानिसहरुलाई आकर्षित गर्न यो काम गरिएको हो ।’’ चोत्लुङ पार्कले पछिल्लो समय पर्यटकहरुलाई पूर्वी पहाड उकाल्ने काम त गरेको छ नै, स्थानीय सरकारले पहलकदमी लिन सके केही गर्न सकिन्छ भन्ने उदाहरण पनि पेश गरेको छ ।