बुटवल। आज मंगलबार प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा प्रदेशसभामा मतदान हुँदैछ । मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप जारी गरेको छ ।
प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए ।
प्रमुख प्रतिपक्षी दलको नाराबाजीकाबीच प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमाथिको छलफल सोमबार नै सकिएको थियो । आज मध्यान्ह्न १२ बजेपछि बस्ने बैठकमा नाम र राजधानीको प्रस्तावमाथि मतदान प्रक्रिया सुरु हुने प्रदेश सभामुख पूर्णकुमार घर्तीले जानकारी दिए ।











