३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए
अ+ अ-

तम्घास, (गुल्मी) । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिएका छन् । गुल्मीका विभिन्न स्थानमा पाँच दिनसम्म सराँय नाच हुँदै आएको छ । रोजगारीका सिलसिलामा देशका विभिन्न स्थान एवं विदेशमा रहेकाहरू दसैँ मान्न घर आएका हुन्छन् । जसले गर्दा पनि गुल्मीका शक्तिपीठमा भीड बढेको थियो ।

धुर्कोट गाउँपालिका–४ जैसीथोकको सम्भीर कुँवरका अनुसार पछिल्लो समय सराँय व्यवस्थित हुँदै गएको छ । जैसीथोकको बाहुनगाउँमा त्रयोदशीका दिनमा सराँय हुने गर्दछ । दुई वर्ष कोरोना एवं एक वर्ष र त्यसपछिका तीन वर्ष खासै राम्रो सराँय बाहुनगाउँमा भएको थिएन । तर यसपालि भने गत वर्षभन्दा निकै राम्रो भएको छ ।

गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा सराँय नाच निकै पुरानो तथा ऐतिहासिक नाच हो । यस वर्ष अष्टमी र नवमी एकैदिन परेकाले बलि दिने बेला मन्दिरमा कम मात्रै उपस्थिति भयो । तर सराँयमा भने उल्लेख्य सहभागिता देखियो । एकादेशीदेखि पूर्णिमासम्म गुल्मीका सयभन्दा बढी शक्तिपीठमा सराँय हुने गर्दछ ।

पूर्णिमाका दिन धुर्कोट कोटलगायत कोतहरूमा हुने सराँय झनै महत्त्वपूर्ण मानिन्छ । “सराँयका लागि धुर्कोट कोटमा प्रत्येक वर्ष उल्लेख्य मात्रामा नागरिकको उपस्थिति रहने गर्दछ, पछिल्लो समय स्थानीय सरकारले समेत केही संरचना निर्माण गरेर सराँयाका लागि सहज बनाइ दिएको छ”, धुर्कोट–६ का युवा हरिबहादुर केसीले भन्नुभयो, “गाउँमा रौनक बढेको छ, पूर्णिमा सकिएलगत्तै गाउँ आएका मानिस सहर फर्कन्छन् ।”

हतियार प्रदर्शनमा रोक, संस्कृति लोप

मन्दिरमा भक्तजनले चढाएका पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, तरबार, खुँडा, खड्ग आदि हतियार एकापसमा ठोक्याउँदै ‘वाख्खै वा’ को भाषामा सराँय खेलिन्छ । ‘खड्गछत्र देवताले रक्षा गरुन्’, ‘बाँचे आइसल’ जस्ता भाका सराँय नाचमा प्रयोग हुन्छन् । केही समय पहिले हतियार नै नचाएर सराँय खेलिन्थ्यो । पछिल्लो सयम त्यो छैन । हतियार प्रदर्शन गर्दा दुर्घटना हुने डर बढी हुने भएकाले यो पछिल्लो समय छाडिएको छ । अहिले प्रशासनले पनि सकेसम्म हतियार प्रदर्शन नगर्न भनेको छ । पहिलेपहिले राति अबेरसम्म हुने सराँय नाच पनि अहिले बेलुका बढीमा पाँच या छ बजेसम्म मात्रै हुन्छ । यो कुराले बूढापाका भने सन्तुष्ट छैनन् । “हतियारबिना त सराँय नै खल्लो लाग्यो, साँझ पनि अबेरसम्म खेल्न नपाइने”, इस्मा गाउँपालिका मैदानमा सराँय खेल्न पुगेका नारायण कुँवरले भन्नुभयो, “यस्ता कुराले मनमा नरमाइलो लाग्दोरहेछ ।”

सोही ठाउँकै गोविन्द महतले पनि सुरक्षा व्यवस्थामा ध्यान दिँदै सराँयका आधारभूत हतियारलाई प्रदर्शन गर्न दिइनुपर्ने बताउनुभयो । “हतियार वर्षमा एकदिन देखाउने हो, यो हाम्रो संस्कृति हो, निश्चित मापदण्ड बनाएर भए पनि प्रदर्शन गर्दा राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो ।

राष्ट्रकै गहना, पर्यटन प्रवर्द्धनमा सहयोग

सराँय नाच नेपालका पश्चिमी जिल्लामा मात्र नाच्ने गरिन्छ । सराँय हेर्नकै लागि बसाइँ सरेकासमेत केही दिनको लागि आफ्नो घर फर्कन्छन् । सराँय नाच्ने शक्तिपीठमा हेर्ने र नाच्नेले आनन्दमात्र लिँदैनन्, धेरैले व्यापार गर्ने अवसरसमेत पाउँछन् ।

सराँय नाच्ने शक्तिपीठमा विशेषगरी जेरीको व्यापार धेरै हुने गर्दछ । त्यस्तै चनाचटपटे, अम्बा, किराना, बालबालिकाका खेलाउनालगायत सामग्रीको राम्रो व्यापार हुन्छ । दसैँमा पाइने यस्ता खानेकुरा र शक्तिपीठको महत्त्व अरुलाई पनि बुझाउनसके पर्यटक प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने रेसु्ङ्गा बहुमुखी क्याम्पसका उपप्रध्यापक रामप्रसाद खनाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सराँय र शक्तिपीठको महत्व विभिन्न माध्यमबाट प्रचार गर्नु जरुरी छ, यसबाट ठूलो मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।” सराँयले गर्दा पर्यटक भित्र्याउन सके रोजगारीसमेत सिर्जना हुने र आम्दानीको स्रोत बढ्ने उपप्रध्यापक खनालले बताउनुभयो ।

यसरी सुरु भयो सराँय

पौराणिक भनाइअनुसार घटस्थापनादेखि नौ दिनसम्म देवीको पूजा गर्दा महाकाली उत्पत्ति भइन् । पछि महाकाली ठूली हुँदै गइन् र राक्षसलाई मारिन् पनि । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पूजा गरी राक्षसलाई मारेको उत्सवस्वरुप दसैँको टीका लगाउने प्रचलन बस्यो भने राउण्डेलाई मारेको उत्सवमा हजारौँ वर्षअघि द्वापरयुगमा सराँय खेल्न थालिएको पौराणिक इतिहास छ ।

एकादशीका दिन गुल्मीको इश्मा मैदान र धुर्कोट वस्तुमा सराँय नाच्ने गरिन्छ । द्वादशीका दिन बुल्म, त्रयोदशीको दिन जैसीथोकको बाहुनगाउँ, चतुर्दशीको दिन छिलिम्टे तथा पूर्णिमाको दिन धुर्कोट कोत, चोयघालगायत क्षेत्रमा सराँय नाच्ने गरिन्छ ।

संरक्षण गर्ने प्रयासमा स्थानीय तह

अहिले गाउँगाउँमा स्थानीय सरकार छन् । त्यसैले पनि सराँयजस्ता मौलिक धर्म संस्कृतिलाई जोगाउने दायित्व अब सरकारले पनि बहन गर्नुपर्छ । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफूहरूले धुर्कोट कोटलगायत मन्दिरमा संरचना थप, मर्मत गर्नेलगायत काम गरेर सराँय नाचलाई व्यवस्थित गर्न लागिपरेको बताउनुभयो । “बसाइँसराइले गर्दा गाउँमा नागरिकको सङ्ख्या कम छ”, उहाँले भन्नुभयो, ‘दसैँमा घर आउने भएकाले सराँयमा उल्लेख्य सहभागिता देखिन्छ ।”

यस्तै इस्मा गाउँपालिकाका प्रमुख भगतसिंह खड्काले गाउँपालिकाभित्रका विभिन्न कला, संस्कृति र परम्परा जोगाउन आफूहरू योजनाबद्ध रूपमा लागेको बताउनुभयो । उहाँले अहिले तीज गीत प्रतियोगिता, पञ्चेबाजा संरक्षण, मठ मन्दिरको संरक्षणलगायत काम भइरहेकाले अब विस्तारै ऐतिहासिक कला संस्कृतिको प्रचारप्रसार र जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो । रासस