३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरो क्षति: काभ्रेमा छ जना बेपत्ता, ७८ को मृत्यु



अ+ अ-

काभ्रेपलाञ्चोक। गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छभने छजना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

बाढीपहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ छन् । उनीहरु पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन् । त्यस्तै, चौँरीदेउराली गाउँपालिका–६ का ४० वर्षीया शान्ता रिमाल बेपत्ता छिन् । एक हप्तासम्म खोजी गर्दा उनी फेला नपरेको प्रहरीले जनाएको छ ।

धुलिखेल नगरपालिका–८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ पनि अझै बेपत्ता रहेको जनाइएको छ । बेथान्चोक गाउँपालिका–४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की ३७ वर्षीया देवीमाया सिंतान अझै बेपत्ता छन् । बेपत्ताको खोजतलास गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोमा परी ७५ जना घाइते भएका थिए ।

बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १८ जना छन् । रोशी गाउँपालिकाका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात/सात तथा बनेपा र भुम्लुका तीन/तीनजनाले ज्यान गुमाए । धुलिखेल नपाका दुई र चौँरीदेउरालीका एकजनाले बाढीपहिरोमा ज्यान गुमाए । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।

काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । यसमध्ये २१ विद्यार्थी हुन् ।

सरकारद्वारा बाढीपहिरो र डुबानबाट अतिप्रभावित स्थानीय तह घोषित गरेकामध्ये ‘विपद् सङ्कटग्रस्त क्षेत्र’अन्तर्गत यहाँको रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।

सरकारले बाढीपहिरोमा मृतक परिवारलाई तत्काल उपलब्ध गराउने रु दुई लाख जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालकाअनुसार मृतक परिवारलाई सरकारद्वारा उपलब्ध रकम दसैँअघि बुझाइएको हो । बेपत्ताको हकमा कुनै निर्णय भएको छैन ।