११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल



अ+ अ-

दमौली । दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।

राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी चुडामणि दाहालले बताउनुभयो । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ पर्यटकको बढी घुइँचो हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दसैँ लागेपछि यहाँ पर्यटक आउने क्रम बढेको छ । दसैँका बेला विद्यालय तथा कार्यालयहरु बिदा हुने भएकाले आन्तरिक पर्यटक बढ्न थालेका हुन् । दुर्गापक्षअन्तर्गत सप्तमीदेखि पर्यटकको आगमन अझै बढ्ने अनुमान गरेका छौँ ।”

स्थानीय अनिल अधिकारीले बिहानै यहाँबाट देखिने सूर्योदय र कुहिरोले पर्यटक लोभिने गरेका बताउनुभयो । उहाँले भन्नुभयो, “दमौली बजारलाई ढपक्क कुहिरोले ढाकिएको सुन्दर दृश्य हेर्न एकपटक आएकाहरु पुन: आउने गरेका छन् ।”

मानुङकोट घुम्न पुग्नुभएका व्यास–४ का मनोज राउतले यहाँबाट देखिने कुहिरो, सूर्योदय र हिमशृङ्खलाको दृश्यले मोहित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो ठाउँ कोरोनाको समयदेखि चर्चामा आएको हो । यहाँको पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जनसँग जोड्दै धेरै पर्यटक भित्र्याउन जरुरी छ ।”

मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ नयाँ र आधुनिक होटल सञ्चालन हुन थालेका छन् । विगतमा एउटा पनि नरहेको यस ठाउँमा अहिले एक दर्जन बढी होटल सञ्चालित छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छभने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ निर्माण गरी व्यवस्थित गरिएको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने आन्तरिक पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुन: फर्किएर व्यवसाय गर्न थालेका छन् । यसअघि खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको होटल व्यवसायी दाहालले बताउनुभयो । उहाँका अनुसार कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ । रासस