१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ

पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
अ अ+ अ-

म्याग्दी । जिल्लाको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका खेलाडीले मौरिस हर्जोग पदमार्ग र संसारको सातौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरेका छन् । घराम्दीका भलिबल खेलाडीको १९ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलाबाट त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेका फोहर व्यवस्थापन गरेका हुन् ।

कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर जलाइएको सरसफाइ कार्यक्रमको अगुवाई गर्नुभएका धनकुमार पाइजाले बताउनुभयो । यही असोज १७ गते आधार शिविरतर्फ गएको १९ जनाको टोली आज बिहान फर्किएको छ ।

“पर्यटक आगमन बढ्न थालेसँगै मौरिस हर्जोग पदमार्गमा फोहर बढ्न थालेकाले सरसफाइका लागि सन्देश दिन कार्यक्रम गरिएको हो”, पाइजाले भन्नुभयो, “यहाँको सुन्दरतालाई कायम गर्न फोहर व्यवस्थापनप्रति पर्यटकसहित सरोकार भएका सचेत हुनुपर्ने छ । अहिले गरिएको सरसफाइ कार्याक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।”

घराम्दी गाउँको विकास र प्रवर्द्धनमा सहयोग गर्दै आउनुभएका हाल बेलायत निवासी पाइजा र फगामीले भ्रमण तथा सरसफाइ टोलीको सबै खर्च व्यक्तिगत रुपमा व्यवस्थापन गर्नुभएको थियो । आठ हजार मिटर अग्लो पहिलो मानव पाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं–४ मा पर्दछ ।

फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो ।

मौरीस हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पछिल्लो दुई वर्षयता आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले बताउनुभयो ।

गत वसन्तयाममा २५ जनाले अन्नपूर्ण आरोहणको अनुमति लिएका पर्यटन विभागले जनाएको छ । चालु शरदयाममा भने कसैले पनि अन्नपूर्ण आरोहणको अनुमति लिएका छैनन् । मौरिस हर्जोग पदमार्गका अभियान्ता गुरुङले दैनिकजसो आन्तरिक पर्यटकहरु आधार शिविर जान थालेका बताउनुभयो ।

हुमखोला हुँदै गुरासेडाँडा, फुतफेते झरना, सम्धीखर्क, भुसकेत, नारच्याङ पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामाकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

नारच्याङबाट ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किमी सडकको मार्ग खोलिएको छ । विसं २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सवसमेत आयोजना गरिएको थियो ।

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँको थप आकर्षणको रुपमा रहेको छ ।

होटल तथा लजको सुविधा नभएको यस पदमार्गमा पदयात्रीले आफैँ खाने सामग्री लैजानुपर्छ । पाँच ठाउँमा आश्रयस्थल निर्माण भएका छन् । अष्ट्रेलियामा रहेकी रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा आश्रयस्थल, सार्वजनिक शौचालयलगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको रु एक करोड बजेट कार्यान्वयनको तयारी भइरहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिने जानकारी दिनुभयो । रासस