१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बाढी, पहिरो प्रभावितको पीडा: ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

बाढी, पहिरो प्रभावितको पीडा: ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’
अ अ+ अ-

कमलामाई । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्‍यो ।

बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउथे । पहिरोले बुढेसकालको साहारा लुट्यो । घर माथिबाट झरेको पहिरोले घर थिच्यो । घरले विनय कोइरालालाई किच्यो ।

बचाऊ ! बचाऊ ! भनेर छोरोले हारगुहार गरेको आवाज बोधकुमार कोइराला र बिन्दा कार्कीको कानमा अहिले पनि तरङ्गिरहन्छ । हाँसिरहने छोरो आँखा अगाडि छाँया बनेर नाचिरहन्छ । छाँयामा छोरोलाई छुन खोज्दा पाउँदैनन् । झर्छन् आँशु, भक्कानो फुट्छ । यो कथामात्रै होइन, वास्तविक यथार्थ हो, सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकका कोइराला परिवारको । यतिबेला यो परिवार शोकमा डुबेका छ । “माथ्लो घरले लगाएको पर्खाल खसेर मेरो घर डल्यो, घरले थिचेर छोरोको ज्यान गयो”, आमा बिन्दाले भक्कानिँदै दु:खेसो गर्नुभयो, “हामीले तत्काल निकाल्न सकेनौँ । प्रहरीले २४ घण्टापछि निकाल्दा शरीर गन्हाउन थालिसकेको थियो ।”

बिन्दा र बोधकुमारका दुई छोरा थिए । जेठो सन्तान १२ वर्षीय विनयको १२ असोजमा पहिरोका कारण मृत्यु भयो । ज्वालादेवी सेकेन्डरी स्कुलमा कक्षा ६ मा पढ्दै गरेका विनय बितेपछि बिन्दा र बोधकुमारका काखमा कान्छो सन्तान विजय छन् । दुवैको काँधमा १० वर्षे विजयको पढाई र कपाल सेतै फूलेकी आमाको पालनपोषणको जिम्मेवारी छ ।

साढे तीन रोपनीमा लगाएको धान थन्क्याउने बेला भएको थियो । बाढीले सबै धानबाली सखाप बनाएको छ । गाईसहित गोठमा भएका पशुबस्तु पुरिए । दुई आनामा ढुङ्गामाटोले बनाएको घरगोठसहितको जग्गा पहिरोले प्रयोग नै गर्न नमिल्ने गराएको छ । यतिबेला यो परिवारको न बस्ने बाँसको ठेगान छ, न छ खाने गाँसको ।

“एउटा छोरो दैवले लगे पनि चार जना बाँचेका छौँ । खान त बनिबुतो गरेर खाउँला । बस्ने बासको व्यवस्था गरिदिएहुन्थ्यो”, बोधकुमारले भन्नुभयो । बाढी, पहिरोले घरगोठ रित्याएर विस्थापित भएका कोइराला परिवार हाल एक स्थानीयकै घरमा आश्रय लिएर बसेका छन् ।

यही असोज १० र ११ गते परेको मुसलधारे वर्षाका कारण आएको बाढी, पहिरोमा परेर जिल्लामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार एक जनाको बाढीमा र दुई जनाको पहिरोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा कमलामाई नगरपालिका–९ भिमानका ४६ वर्षीय कृष्णबहादुर बोगटी, सुनकोसी गाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइराला र सुनकोसी–२ गोख्रेनीका ४५ वर्षीय गणेश गुर्मछाने छन् ।

सिन्धुलीमा भौतिक क्षतिको अवस्था भयानक छ । सुनकोसी–१ नेपालथोक, दुम्जामा भुपाल घिसिङले दुई वर्षअघि नमुना पेट्रोलपम्पको अवधारणमा रु २० करोड लगानी गरेर सञ्चालनमा ल्याउनुभएको नमोबुद्ध आयलस्टोर बाढीले बगायो । पाँच रोपनीमा पेट्रोल व्यवसाय सुरु गरेको एक दशक बिते पनि लगानी थप गरेर नमुना बनाएको दुई वर्ष बितेको थियो ।

“जापानमा १२ वर्ष बगाएको पसिनाको पौरख शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढीले बालुवामा मिलाइदियो । नगद पैसा पनि निकाल्न पाइन् । अघिल्लो दिनमात्रै तेल लोड गरेको थिए । त्यो तेलको तीन वटा टयाङ्की, चार वटा मेसिनसहित आयलस्टोर, अफिस कोठा, शौचालय, क्याफे केही बाँकी राखेन, सबै बगायो”, व्यवसायी घिसिङले भक्कानिँदै पीडा सुनाउनुभयो ।

सुनकोसी गाउँपालिका–२ रम्तेल टोलीकी सीता सार्कीको यतिबेला रुबाबासी छ । वडा सदस्यसमेत रहेकी सीताको टोल नै पहिरोको जोखिममा छ । घर माथि र आँगन तलबाट पहिरो खसिरहेको छ । केही घरमा क्षति भइसकेको छ । “यो विपद्को बेलामा म एक्लै छु । दुई छोराबुहारी काठमाडौँ छन् । बिहे गरेर दिएका छोरी आफ्नै घर छन् । आफू बसेको गाउँ नै पहिरोको चपेटामा छ । सुनकोसी नदीतिरको बस्ती बाढीले डुबाएको छ । अब म सुरक्षितसँग बस्न कहाँ जानु रु”, पहिरो प्रभावित सीता सार्कीले दु:खेसो गर्नुभयो ।

ठाउँठाउँमा खसेको पहिरो, खोला, खहरे र नदीमा आएको बाढीले गाउँबस्ती, बजार, होटल तथा रिसोर्ट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, खानेपानीका आयोजना, ठूलासाना पक्की तथा झोलुङ्गे पुललगायत सरकारी वा गैरसरकारी भवनमा हानी गरेको छ । बस्दै आएको घर भत्काउँदा तथा बगाउँदा बाढी, पहिरो प्रभावित विचल्लित भएका छन् ।

फिक्कल गाउँपालिकामा मात्रै तीन सय छ घरपरिवार बाढी, पहिरोका कारण प्रभावित छन् । उपाध्यक्ष राजु बरालका अनुसार पहिरोका कारण वडा नं ३ पोखरीमा ६० घर, वडा नं २ खोलागाउँमा २९ घर, वडा नं ४ खाङ्साङमा ६२ घर, वडा नं। ५ सोल्पाठानामा ७५ घर, वडा नं ६ रत्नावतीमा ७९ र वडा नं १ महादेवडाँडामा एक घरपरिवार पहिरोबाट प्रभावित छन् ।

छ सय ४६ रोपनीमा किसानले लगाएको धानबालीमा क्षति छ । एक सय २० रोपनी खेतीयोग्य जमिन कटान भएको छ । पाँच सय २६ रोपनी जमिन पुरिएको छ । बाढीले कृषि तथा पशुपक्षीका पाँच वटा फर्म, सात वटा फलफूल बगैँचा बगाएको छ । बाढी, पहिरोले ५० वटा विद्युत्का खम्बामा क्षति गरेपछि असोज ११ गतेदेखि विद्युत् अवरुद्ध छ । विद्युत् अवरुद्ध हुँदा फिक्कल गाउँपालिकामा आठ हजार नागरिक एक सातादेखि अँध्यारोमा बस्न बाध्य छन् ।

सुनकोसी नदीमा आएको बाढीले फिक्कलका पाँच वटा झोलुङ्गे पुलमा क्षति गर्दा ओखलढुङ्गासँगको सीधा सम्पर्क टुटेको छ । सुनकोसी नदीबाट लिफ्टिङ गरी खानेपानी तान्ने १५ वटा मोटर बगाउँदा पिउने पानीको समस्या भएको छ ।

सुनकोसी र गोलञ्जोरमा बाढी, पहिरोले गरेको क्षति विवरण सङ्कलन भइरहेको छ । सुनकोसी गाउँपालिका उपाध्यक्ष कपिलकुमार कोइरालाका अनुसार पालिका र प्रहरीले क्षति विवरण सङ्कलन गरिरहेका छन् । हालसम्म सुनकोसी गढ्तीर क्षेत्र र आसपासमा बसोबास गरिरहेका दुई सय छ घरपरिवार बाढी, पहिरोका कारण विस्तापित भएको विवरण सङ्कलन भएको छ । घर पूर्ण रुपमा क्षति हुनुका साथै धानबाली भएको खेत बाढी, पहिरोले सखाप बनाएपछि विस्थापित भएका हुन् । यहाँ पनि खानेपानीको चरम समस्या छ ।

सुनकोसी गाउँपालिका–५ मुल्कोट बजार क्षेत्रका मात्रै चार वटा रिसोर्ट, ३५ वटा होटललगायत विद्यालयको भवन र घरको पहिलो तल्ला बाढीको बालुवा माटोले पुरिएको स्थानीय व्यवसायी पुर्छमान श्रेष्ठले बताउनुभयो । उहाँका अुसार नदी किनारका अधिकांश संरचनाहरु बाढीले कटान गरेर बगाएको छ ।

यता, गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार क्षेत्रको अवस्था पनि उस्तै छ । गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने ९पुकार० का अनुसार यहाँ मात्रै ३५ घरका ६० परिवार विस्थापित भएका छन् । बाढीले विस्थापित भएका परिवार बजार क्षेत्रमा व्यापार, व्यवसाय गरेर बसेका थिए ।

सुनकोसी नदीमा आएको बाढीले गोलञ्जोर–६ मा ११ वटा घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयको दुई वटा भवन, विद्यालयको भवन, र्‍याफ्टिङसहित सरकारी भवन १४ वटा, तीन वटा मन्दिर र दुई वटा पार्टीमा क्षति भएको छ । हैवारदेखि बलेनीसम्मको लिफ्टिङ खानेपानीको नौ वटा इनार बगाउँदा तीन सय घरधुरीलाई खानेपानीको समस्या भएको छ ।

विपद्को यो दु:ख घडीमा नागरिकको प्रतिरक्षा गर्न स्थानीय तहको स्रोतसाधनले मात्रै नभ्याउने गोलञ्जोर गाउँपालिका उपाध्यक्ष न्यौपानेले बताउनुभयो । बाढी, पहिरो प्रभावितको जीवनस्तरलाई पुरानै लयमा फर्काउन प्रदेश र सङ्घीय सरकारको भूमिका विशेष हुन आवश्यक रहेको उहाँको भनाइ छ । गैरसरकारी सङ्घसंस्थालाई पनि यो विपद्को द:ुखद् घडीमा सकेको सहयोग गर्न उहाँको अनुरोध छ ।

बाढी, पहिरोले पारेको क्षति र प्रभावितको अवस्था बुझ्न बाढी, पहिरो प्रभावित क्षेत्र पुग्नुभएकी जिल्ला समन्वय समिति, सिन्धुली उपप्रमुख शान्ता कार्कीले आआफ्नो ठाउँबाट सकेको सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बाढी, पहिरोले सिन्धुलीका सबै पालिका प्रभावित छन् । बाली लगाएको खेतीयोग्य जमिन सखाप भएको छ । सयौँ घरपरिवार विस्तापित छन् । बाढी, पहिरो प्रभावितको यतिबेला विचल्ली भएको छ । खानेपानीको समस्या बढेको छ । यो द:ुखद् घडीमा प्रदेश, सङ्घ र स्थानीय तह, गैरसरकारी सङ्घसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।”

विपद्ले विचल्ली बनाएको अवस्थामा पनि सरकार भएको अनुभूति गर्न नसकिएको बाढी, पहिरो प्रभावितको गुनासोसँगै आक्रोश पनि छ । यहाँका स्थानीय सरकार, सुरक्षा निकाय र गैरसरकारी सङ्घसंस्थाले आआफ्नो ठाउँबाट सकेको सहयोग गरिरहेका छन् । यद्यपि, स्रोत साधनको अभाव हुनुका साथै कतिपय सेवा प्रवाह गर्ने निकाय आफैँ बाढी, पहिरोबाट प्रताडित हुँदा नागरिकले आवश्यकताबमोजिमको सहयोग पाउन सकेका छैनन् । रासस