२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या



अ+ अ-

बरहथवा । अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिममा रहेका आठवटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २९०  घर पूर्णरुपमा नष्ट भएको छभने ५७४ घरमा आंशिक क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, जिल्लामा एक हजार ६६९ घर बाढी पसेर डुबाएको छ । बाढी तथा डुबानमा परेर घरबास गुमाएका परिवार नजिकैका आफन्तकामा शरण लिएर बसिरहेका प्रजिअ अधिकारीले जानकारी दिनुभयो । केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेका छन् । विस्थापितहरुलाई प्रहरी प्रशासनले खानेपानी तथा चिउरा, चाउचाउलगायत खाद्यान्न समेत वितरण गरिरहेका उहाँले जानकारी दिनुभयो ।

बलरा नगरपालिकाको ११  वडामा १०६ वटा घर पूर्ण रुपमा र २८२ घरमा आंशिक क्षति पुगेको छभने ५०८ घर बाढीमा डुबेको छ । बाढीमा डुबेका घरमा समेत कम्मर कम्मरसम्म पानी जमेकाले बस्न सक्ने अवस्था नरहेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहले जानकारी दिनुभयो । जिल्लामा क्षतिको विवरण सङ्कलन गरिरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । स्थानीय तह, विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राहत पुर्‍याउने काम गरिरहेको प्रजिअ अधिकारीले बताउनुभयो ।

यस्तै, रामनगर गाउँपालिका–१, २, ६ र ७ का गाउँमा ८१ घरमा पूर्ण रुपमा र ९० घरमा आंशिक क्षति पुगेका छभने ३३० घर डुबानमा परेको छ ।

जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा पनि झिम नदीको बाढी पस्दा त्रिभुवननगर गाउँका ४० घरमा आंशिक क्षति पुगेको छभने १९० घर बाढीले डुबानमा पारेको छ । बागमती नदीको बाँध फुटेर पसेको पानीले बसवरिया गाउँपालिका–२, ढापटोलमा आठ घरमा पूर्ण क्षति पुगेको छभने ११७ घर डुबानमा परेको छ ।

यसैबीच, सोती खोलामा आएको बाढीले बरहथवा नगरपालिका–४, हरपुर्वा गाउँमा पाँच घरमा आंशिक क्षति पुर्‍याएको छभने चार घर डुबानमा परेको बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिनुभयो । चन्द्रनगर गाउँपालिका–१, २, ३, ४ र ५ का विभिन्न गाउँमा गरी ३२ परिवारको घर पूर्ण रुपमा र ५२ घरमा आंशिक क्षति पुगेको छभने ३७० घर डुबानमा परेको छ । गाउँको अधिकांश कच्ची घरमा झिम नदीको बाँध फुटेर बाढी पसेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।

जिल्लाको धन्कौल गाउँपालिका–३, ४, ५, ६ र ७ का गाउँमा बागमती खोलाको बाढी पसेको छ । यस पालिकामा ६३ वडा कच्ची घर पूर्ण रुपमा र १०५ वटा घरमा आंशिक क्षति पुगेको पालिकाले जनाएको छभने, ३०० वटा घर डुबानमा परेको छ । बागमती खोलामा आएको बाढी बाँध भत्काएर गाउँतर्फ सोझिएको स्थानीय रामविनय महतोले बताउनुभयो । बाढीले यस क्षेत्रमा तरकारी र धानबालीमा अत्यधिक क्षति पुर्‍याएको छभने उखुखेतीमा समेत आंशिक क्षति पुगेको स्थानीयको भनाइ छ ।

यस्तै, विष्णु गाउँपालिका–७, डुमला टोलमा पनि एउटा घरमा बाढीले पूर्ण रुपमा क्षति पुर्‍याइदिएको छ । बाढी तथा डुबानबाट प्रभावित अधिकांश स्थानमा अझै कम्मरसम्म पानी जमेका कारण स्थानीयलाई पकाएर खानसमेत समस्या भएको बताएका छन् । दाउरा भिजेको र ग्यास चुल्हो विपन्न परिवारको पहुँचमा नरहेका कारण समस्या भएको उनीहरुले गुनासो गरे । तत्कालका लागि खाना पकाएर खाने व्यवस्था गरीदिन बसबरिया गाउँपालिका–२, ढापटोलका दीपेन्द्र ठाकुरले अनुरोध गर्नुभयो ।

बाढी तथा डुबानमा रहेका अधिकांश गाउँका स्थानीयले स्वच्छ खानेपानी नपाएको गुनासो गरेका छन् । चापाकलहरु पानीमा डुबेका र खानेपानीको दिगो व्यवस्था नभएका कारण दुषित पानीका कारण स्थानीय सङ्कटमा रहेको बलरा नगरपालिका–१, निवासी चुनचुन महतोले बताउनुभयो । स्थानीयले पहिलो आवश्यकताअनुसारको राहतसमेत नपाएको उहाँले गुनासो गर्नुभयो । बाँस र माटोले बनेका खपडा, टायल र जस्ताको छाना भएका कच्ची घरहरु डुबानमा परेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । रासस