३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला



अ+ अ-

जानकी । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आउनुभएको छ । एक सय ३० घार मौरीपालन गर्नुभएकी उहाँले मह बेचेर वार्षिक रु १४ लाख नाफा हुने गरेको बताउनुभयो ।

एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताउनुभयो । उहाँ बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रुपमा चिनिनुहुन्छ । नन्दकलाले आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताउनुभयो ।

उहाँले घरमा मह प्रशोधनका उपकरणसमेत राख्नुभएको छ । श्रीमान् भारतीय सेनामा कार्यरत भए पनि सानैदेखि परिश्रममा रमाउने नन्दकलाले महिला आर्थिक रुपमा सक्षम हुनुपर्ने धारणा राख्नुभयो । महिला आर्थिक रुपमा समृद्ध भए समाज समृद्ध हुने धारणा राख्ने उहाँले परिवार, समाज र सरोकार भएका निकायले महिलालाई स्वरोजगार बनाउने सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

“स्वास्थ्यका लागि मह सेवन गर्नु रामो मानिने चिकित्सकहरु पनि बताउँछन् । मौरीपालन र मह उत्पादन गर्न भने सजिलो छैन”, नन्दकलाले भन्नुभयो, “प्राकृतिक रुपमा परिवर्तन भइरहने ऋतुहरुले यसमा प्रत्यक्ष असर पार्दछ ।” उहाँले बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउँन कठिन हुने अनुभव सुनाउनुभयो । फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्ने उहाँले जानकारी दिनुभयो ।

एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउनलाई ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताउनुभयो । जङ्गलमा फूलेका प्राकृतिक फूलहरुको रस खुवाउनलाई चराउन जाँदा वनमा अरिङ्गाल, कमिला, बिछ्यू, चिवेचरा, मलसाँप्रोलगायत जीवबाट मौरीलाई बचाउन गााह्रो हुने उहाँको अनुभव छ ।

“समयसमयमा हाडनाता नहोस् भनेर रानीमौरीको नश्ल सुधार गरिरहनु पर्दछ”, नन्दकलाले भन्नुभयो, “नश्ल सुधारिएको रानीमौरीको मूल्य रु पाँच–छ लाखमा किन्नु पर्दछ । जुन सामान्य किसानलाई सजिलो छैन ।” जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्र्सासम्म मौरीलाई चराउन लग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

एक सय ३० घार मौरीबाट वार्षिक करिब ३० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँदै नन्दकलाले तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमश: रु छ सय, रु सात सय र रु आठ सयपर्ने जानकारी दिनुभयो । मौरीको चाकाबाट निस्कने मैन, कुटलगायतको मूल्य पनि राम्रो पाइने उहाँको अनुभव छ ।

सात वर्षअघि रु ४० हजार लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई सुरु गर्नुभएकी नन्दकलाले अहिले करिब रु २० लाखको मह बिक्री गर्ने गरेको बताउनुभयो । सबै खर्च कटाएर वार्षिक रु १४ नाफा हुने गरेको उहाँले जानकारी दिनुभयो ।

महको बजारमा माग बढी भएकाले बजारीकरणको समस्या नरहेको नन्दकलाले सुनाउनुभयो । “काठमाडौँ, पोखरा, बुटवललगायत सहरबाट पनि माग आइरहन्छ । हालसम्म कोहलपुर र नेपालगञ्जको माग पुर्‍याउन नै सकिएको छैन”, उहाँले भन्नुभयो ।

नन्दकलाले आगामी दिनमा मौरीलाई बस्न घारको सङ्ख्या बढाउँदै जाने योजना रहेको बताउनुभयो । स्थानीय सरकारले व्यवसायलाई विस्तार गर्न आर्थिक, प्राविधिक सहयोग गर्नुपर्ने भन्दै उहाँले आवश्यक सीप तथा तालिम पनि दिनुपर्नेमा जोड दिनुभयो ।