१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित
अ अ+ अ-

म्याग्दी । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।

उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति । प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका गुफाहरु । जता फर्किए पनि पृष्ठभूमिमा देखिने सेताम्मे हिमाल र नीलो आकाश । माटोका छाना भएका मौलिक घरहरुसँगै बस्ती वरिपरि देखिने हरियाली । पहाड छिचोलेर बगिरहेका कालीगण्डकी र सहायक नदीहरु । निलो रङका मनमोहक ताल ।

पाखामा रमाउँदै गरेका भेटिने नाउर, बनखरायोका बथान । चरन खर्कमा भेडाच्याङ्ग्रा, घोडा र याकका गोठ । लटरम्म पाकेर मगमग बास्न आउने स्याउ बगैँचा । बस्तीपिच्छे ऐतिहासिक दरबार र धार्मिक महत्वका गुम्बा तथा तिब्बती रहनसहन र जीवनशैली । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड ।

लोमान्थाङका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले बर्खायाम सकिन थालेसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको बताउनुभयो । “बर्खा सकिन र हिउँद सुरु हुन लागेको यो मौसम हावापानी र वातावरणका हिसाबले पनि मुस्ताङ घुम्न उपयुक्त समय हो”, उहाँले भन्नुभयो, “अन्य समयमाभन्दा असोज–कात्तिकमा यहाँ धेरै पर्यटकहरु आउने गर्छन् ।”

जर्मनका पाँच जना पर्यटक घुमाउँदै लोघेकर दामोदरकुण्ड गाउँपालिकाको लोघेकर गुम्बामा पुगेका पोखराका पथप्रदर्शक सञ्जय अधिकारीले पदयात्राका क्रममा भेटिएका नाउरका बथानले पाहुनाहरु खुसी भएका सुनाउनुभयो ।

सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवर्द्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधायुक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रासम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो ।

पर्यटक आगमन बढ्यो

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले गत आर्थिक वर्षमा एक लाख २१ हजार तीन सय ५२ पर्यटकले मुस्ताङ भ्रमण गरेका जानकारी दिनुभयो । उहाँका अनुसार सार्कराष्ट्रका ९८ हजार दुई सय ५३ र तेस्रो मुलुकका २३ हजार ९९ पर्यटक रहेका छन् ।

आव २०७९र८० मा ७१ हजार सात सय सात र आव २०७८र७९ मा ३८ हजार आठ सय ९६ पर्यटक मुस्ताङ घुम्न आएका एक्यापले जनाएको छ । चालु आवको साउन र भदौमा सात हजार पाँच सय ९९ पर्यटकले मुस्ताङ घुमेका छन् । गत आवको साउन र भदौमा मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या पाँच हजार एक सय ७५ थियो ।

अन्नपूर्ण चक्रीय पदमार्गको साहासिक गन्तव्य थोराङ्ला झञ्ज्याङ पार गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटकको सङ्ख्या पनि बढ्दो क्रममा रहेको रेग्मीले बताउनुभयो । समुन्द्री सतहबाट पाँच हजार चार सय १६ मिटर उचाइको थोराङ्ला झञ्ज्याङ पार गरेर मनाङ हुँदै मुस्ताङ जाने पदयात्रालाई साहासिक मान्ने गरिन्छ ।

आव २०७९र८० मा पाँच हजार छ सय ४८ पर्यटक उक्त पदयात्रामार्फत मुस्ताङ आएकामा गत आवमा उक्त सङ्ख्या बढेर १३ हजार पाँच सय सात पुगेको थियो । बेनी–जोमसोम सडक र पोखरा–जोमसोम हवाई मार्ग भएर मुस्ताङमा पर्यटक भित्रिन्छन् । मुस्ताङ आवतजावत गर्ने पर्यटकले सडक र हवाई मार्गबाहेक बेनी–जोमसोम, थोराङ्ला, धौलागिरि चक्रीय र डोल्पा पदमार्गको प्रयोग पनि गर्ने गरेका रेग्मीले उल्लेख गर्नुभयो ।

कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले १० दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको एक्यापका प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

बेनी–जोमसोम सडक प्रयोग गरी गत आवमा चार लाख २७ हजार पर्यटक यहाँ आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटकको विवरण राख्ने गरेको छ । चौकीका अनुसार तीन लाख १८ हजार आठ सय १४ स्वदेशी पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न आएका थिए । आव २०७९र८० मा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख तीन हजार आठ सय थियो ।

पूर्वाधार थपिँदै

पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले नयाँ गन्तव्यको पहिचान तथा प्रवर्द्धन गर्नु, निजी क्षेत्रले होटल तथा लजको क्षमता विस्तार गर्नुलगायत कारणले पर्यटकको आगमन बढ्दै गएको बताउनुभयो ।

उहाँका अनुसार पर्यटकस्तरका सुविधायुक्त १६ होटल रहेको मुस्ताङमा चार सयको हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालित छन् । पौडेलले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो ।

उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायम राखिनु र पर्यटकले महँगो शुल्क तिर्नुपर्ने बाध्यता मुस्ताङको पर्यटन विकासमा चुनौती बनेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताउनुभयो । “अर्धनिषेधित क्षेत्र कायम राखिनु, झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शुल्क तिर्नुपर्ने भएपछि पर्यटक चाहेर पनि उपल्लो मुस्ताङ आउन नसक्दा व्यवसायीहरु पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङमा दैनिक एक हजार पाँच सय पर्यटक बस्नसक्ने होटलको क्षमता भए पनि वार्षिक तीन हजारको हाराहारीमा मात्रै पर्यटक आउँदा पर्यटन व्यवसायी समस्या छन् ।”रासस