१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

दुई वर्षदेखि खेलमैदान अलपत्र

दुई वर्षदेखि खेलमैदान अलपत्र
अ अ+ अ-

ढोरपाटन । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो ।

स्थानीयको सक्रियतामा ठाडो खोल्सालाई सम्याएर मेलमैदान बनाउन थालिएको थियो । उक्त खेलमैदान निर्माण सुरु भएको नौ वर्षसम्ममा ७५ प्रतिशत मात्रै काम सकिएको ओडारचौर बहुउद्देश्यी खेलमैदानका अध्यक्ष रामप्रसाद आचार्यले बताउनुभयो ।

लामो समयदेखि काम रोकिएपछि बनेका संरचना जीर्ण भएका छन् भने प्याराफिटसमेत भत्किएका छन् । खेलमैदान निर्माणका लागि बागलुङ नगरपालिका, गण्डकी प्रदेश र स्थानीयले लाखौँ लगानी गरेका छन् ।

खेलमैदानका लागि उपयुक्त ठाउँ छनोट नहुँदा समस्या आएको स्थानीय बताउँछन् । ठोडो खोलामा बर्खाको समयमा भेल आउने हुँदा खेलमैदानसहित त्यहाँ बनेका संरचना बगाउने गरेको छ । यसबाट हरेक वर्ष लाखौँको संरचना नष्ट हुँदै आएको छ ।

बर्खाको भेलले सडकको माटो, ढुङ्गासहितको गग्रेटाले खेलमैदानको अस्तित्व मेटाइदिएको आचार्यको भनाइ छ । खेलमैदान वरपर झाडी पलाएको छ भने प्याराफिटमा लेउ लागेको छ । बीच भागमा हिलाम्मे हुँदा खेल खेल्न नमिल्ने बनेको छ ।

खेलमैदानका अध्यक्ष आचार्यका अनुसार खेलमैदान निर्माणका लागि हालसम्म स्थानीयबाट रु ३० लाख सङ्कलन भएको, प्रदेश र स्थानीय सरकारबाट रु ३० लाख र जनश्रमदानदान गरी करिब रु एक करोड लगानी भएको छ । “करोड लगानी भएको खेलमैदानमा अहिले खेल्नसक्ने अवस्था छैन । खेलमैदान प्रगति हालसम्म ७५ प्रतिशत सकिएको छ । बाँकी काम गर्न प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

खेलमैदानलाई पूर्णता दिन थप रु ८० लाख आवश्यक पर्ने अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । बागलुङ बजारस्थित निर्माणाधीन उक्त खेलमैदानमा विभिन्न कार्यक्रम, सभा, सम्मेलन गर्न सकिने उहाँले बताउनुभयो ।

“यहाँका युवाको सक्रियतामा खेलमैदान बनाउन सुरु गरिएको हो, धेरै वर्ष भयो बनाउन थालेको अहिलेसम्म पूर्णता पाउन सकेको छैन । बागलुङ बजार छेउमा रहेकाले यहाँ सभा, समारोह गर्न उपयुक्त मानिन्छ । बजेट अभावले कामलाई निरन्तरता दिन सकिएको छैन”, अध्यक्ष आचार्यले भन्नुभयो, “यो ठाउँमा ठूलो खाल्डो थियो, खाल्डो पुरेर खेलमैदान बनाउन थालेका हौँ, ओडारचौरवासीले श्रमदानसँगै आर्थिक सहयोग पनि गर्नुभएको छ । यहाँबाट विदेश गएका युवाले पनि रकम पठाएर सहयोग गर्नुभएको छ ।” बजेट विनियोजन गरी निर्माणलाई निरन्तता दिन सरोकार भएका निकायसँग माग गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

बागलुङ–४ का अध्यक्ष कुमार विक्रम क्षेत्रीले खेलमैदान निर्माण गरेको भूगोल नमिलेको भन्दै प्राविधिक कमजोरीका कारण अहिलेसम्म सम्पन्न हुन नसकेको बताउनुभयो । पहिले मैदान निर्माणमा सक्रिय कतिपय युवा विदेश पलायन भएको भन्दै अन्यले चासो नदिँदा समयमा काम हुन नसकेको उहाँको भनाइ छ । नगरपालिकाले पनि लाखौँ रकम यहाँ लगानी गरेको बताउँदै बर्खा लाग्यो भने खेलमैदान डुबानमा पर्ने अध्यक्ष क्षेत्रीले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यहाँ केही प्राविधिक कमीका कारण खेलमैदान सञ्चालन गर्न सकिएको छैन । अलपत्र परेको मैदान निर्माणका लागि प्राविधिक कमजोरी कसरी समाधान गर्ने भनेर सरोकार भएकासँग छलफल गर्ने योजना बनाएका छौँ । यसलाई पूर्णता दिन आर्थिक, प्राविधिक सहयोगका लागि नगरपालिका र प्रदेश सरकारसँग पहल गर्नेछु ।” रासस