२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा शैक्षिक रूपान्तरणका लागि ‘नानीसँगै हामी’



अ+ अ-

बरहथवा । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थाल्नुभएको छ । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्यालयले नातिनीका लागि तपाईंले पनि पढ्नुपर्छ भनेपछि उहाँ पनि पढ्न जान थाल्नुभएको हो ।

पढ्ने उमेरमा विभिन्न समस्याका कारण विद्यालय पढ्न नपाएकाले आफूले अक्षरसमेत चिन्ने मौका नपाएको कृष्णकुमारी बताउनुहुन्छ । “आफूले नपढेर दु:ख पाएँ”, उहाँले भन्नुभयो, ‘‘छोराछोरी पनि पढ्न मानेनन् । उनीहरु अहिले दु:ख पाउँदैछन् । नातिनातिनालाई पढाउँछु भनेको तर आफूले पनि पढ्नैपर्ने रहेछ । नातिनीलाई गृहकार्य सिकाउन जानिन्छ की भनेर पनि पढ्न सुरु गरेकी छुँ”, उहाँले भन्नुभयो ।

कृष्णकुमारी जस्तै २३ वर्षीया रीता माझी पनि अचेल छोरीसँगै पढ्न जान थाल्नुभएको छ । घरमा पढेलेखेको व्यक्ति नहुँदा छोरीलाई पढाउन समस्या भएकाले आफैले पढ्न थालेको उहाँले बताउनुभयो । उमेर छँदै पढ्न नसकेकामा रीतालाई पछुतो छ । अब छोरीलाई उच्च शिक्षा पढाउने उहाँको रहर छ । नपढेकै कारण छोरीको गृहकार्य गराउन तथा सिकाउन नसकेको रीताको भनाइ छ ।

थोरै सिकाउने, उनीहरूले के पढिरहेका छन्, भनेर बुझन, उनीहरूले नजानेको कुरा सिकाउन पनि विद्यालय जान थालेको रीताले सुनाउनुभयो । विपन्न सुकुम्बासी परिवारको बसोबास रहेको यस क्षेत्रका नागरिक अधिकांश निरक्षर छन् । कृष्णकुमारी र रीता जस्तै १५ अभिभावकलाई बागमती नगरपालिका–१२, बथनीयास्थित जनजागृति प्राथमिक विद्यालयले पढाउन सुरु गरेको हो ।

बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पहिला अभिभावक शिक्षित बनाउनुपर्ने देखिएपछि अभिभावक शिक्षा सुरु गरेको विद्यालयका प्रधानाध्यापक हेरम्भराज सुवेदीले जानकारी दिनुभयो । ‘‘निकै प्रयास गरेपछि पनि साना कक्षाका बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउन थालेका हौँ”, उहाँले भन्नुभयो, ‘‘अभिभावक निरक्षर हुँदा बालबालिकाले गृहकार्य नै नगर्ने, घरमा नपढ्ने, स्कुल पनि नियमित नपठाउने भएकाले पहिला अभिभावकलाई पढाइको महत्व बुझ्ने र बालबालिकालाई गृहकार्य गराउन सक्ने बनाउन खोजेका हौँ ।’’

बालबालिकाको पठनपाठनमा घरको वातावरण र परिवारमा पनि आमाको भूमिका महत्वपूर्ण हुन्छ । तर, यहाँ अधिकांश आमा अशिक्षित रहेकाले बालबालिकाको पठनपाठन सुधारका लागि आमालाई पढाउन सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा माझीले बताउनुभयो । यसपछि आमाहरुले नानीहरुसँगै बसेर पढ्ने तथा सिकाउन सक्ने अपेक्षा गरेको उहाँको भनाइ छ ।

विद्यालयको पहलमा सुरु भएको ‘नानीसँगै हामी’ कार्यक्रमका लागि लुम(तान) नामक गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको विद्यालयले जनाएको हो । विद्यालयका अनुसार सहभागी आमा(अभिभावक)हरुलाई ५० दिनसम्म अनौपचारिक शिक्षा प्रदान गरिने छ । यसबाट सहभागीले सामान्य लेखपढदेखि बालबालिकाको पालनपोषण, सरसफाइ लगायतको ज्ञान प्राप्त गर्नसक्ने छन् । योसँगै महिला स्वास्थ्य, शिक्षा, अधिकारलगायत विभिन्न विषयमासमेत प्रशिक्षण प्रदान गरिने छ । पहिलो चरणमा १५ अभिभावकलाई समेटे पनि पछि अन्यलाई पनि सहभागी गराउने योजना रहेको विद्यालयले जनाएको हो । रासस