१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसपछि एमाले पनि एक्लै चुनाव लड्ने, छटपटमा माओवादी



अ+ अ-

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले पनि आगामी चुनाव एक्लै लड्ने घोषणा गरेको छ । सत्तासहयात्री दल नेपाली कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको दुई दिन नबित्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेले पनि आगामी चुनाव एक्लै लड्ने घोषणा गरेका हुन् । एमालेको यो घोषणासँगै यसअघिका दुई वटा चुनावमा तालमेल गरेर अस्तित्व रक्षा गरेको माओवादी केन्द्रमा छटपटि बढेको छ ।

एमाले आगामी मंसिरमा हुने भनिएको स्थानीय तहको उपनिर्वाचनमा पनि एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । त्यसपछि २०८४ सालमा हुने संसदीय चुनावमा बहुमत ल्याउने गरी कार्ययोजना ल्याउने तयारी एमालेको छ । एमालेले मिसन २०८४ समेत सुरु गरिसकेको छ ।

एमाले एक्लैले बहुमतको सरकार बनाउने उद्देश्यसहित ‘मिसन ०८४’ घोषणा गरेको हो । प्रधानमन्त्री ओलीले पनि त्यही अनुसार लाग्न निर्देशन दिएका छन् । सरकारमा कांग्रेससँग सहकार्य भए पनि चु्नावमा एक्लै जाने घोषणा प्रधानमन्त्री ओलीले गरेका हुन् ।

गत आमनिर्वाचनमा कांग्रेस, माओवादी, एस र जसपाबीच चुनावी गठबन्धन भएको थियो भने एमाले, राप्रपाबीच केही स्थानमा सहकार्य भएको थियो । आगामी निर्वाचनमा भने कांग्रेस, एमाले र माओवादीले एक्लाएक्लै निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसका लागि तीन दलले आआफ्नो संगठन सुदृढ अभियान सुरु गर्ने भएका छन् ।

नेपाली कांग्रेसले सोमबार मात्रै केन्द्रीय कार्यसमितिमार्फत् चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको थियो । कांग्रेसले ‘आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्ने’ निर्णय गरेको थियो । ‘हामी भविष्यमा हुने निर्वाचनमा आफ्नै तागतमा एक्लै लड्नेछौं र हाम्रा मतदातालाई कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ कांग्रेसको निर्णयमा भनिएको छ ।

माओवादीले पनि यसअघि विभिन्न फोरमहरुमा एक्लै प्रतिस्पर्धा गर्ने शक्ति आर्जन गर्ने घोषणा गरिसकेको छ । एमाले र कांग्रेसको घोषणा माओवादीलाई थप दबाब परेको छ । अब उसले कुनै एक ठूलो दलको सहारा लिएर अस्तित्व रक्षा गर्ने अवसर गुमाएको छ ।

त्यसैगरी गत निर्वाचनमा कांग्रेस र माओवादीको फेर समातेरको नेकपा एकीकृत समाजवादी पनि अप्ठ्यारोमा परेको छ । उसको कुनै पनि जिल्लामा राम्रो संगठन छैन । तर गत निर्वाचनमा गठबन्धन गरेर प्रतिस्पर्धा गर्दा उसले १० सिट हात पारेको थियो । अब एक्लै चुनावी प्रतिस्पर्धा गर्नुपरे उसको पनि हालत खराव हुने देखिएको छ ।

ठूला दल एक्लाएक्लै प्रतिस्पर्धामा गएर जनमतको समेत सही परीक्षण हुने छ । पछि कुनै पनि दलको बहुमत नआएमा सरकारका लागि भने सहकार्य हुन सक्छ ।