२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार



अ+ अ-

वालिङ । साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णोद्धार गरिएको हो ।

धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वको स्थलका रुपमा रहेको मड्किनास्थित आश्रम तथा मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको थियो । धेरै वर्ष पुरानो भएको र ढुङ्गै ढुङ्गाले बनाइएकाले विनाश भएपछि त्यसको संरक्षणका लागि पुरातत्व विभागले जीर्णोद्धार गरिदिएको हो ।

सन्यास सन्यासीहरुको आश्रमस्थलका रुपमा पहिचान बनाएको यो ठाउँ आयुर्वेदसम्बन्धी औषधोपचार केन्द्रका हिसाबले ख्याति पाएको आश्रमका संरक्षक एवं पशुपतिनाथका महन्त वेदान्तचार्य स्वामी गोकुलानन्दले बताउनुभयो । लेखपढ गर्ने सिकाइ केन्द्रका साथै धर्म संस्कार संस्कृतिको केन्द्रका रुपमा आश्रमको छुट्टै पहिचान रहिआएको थियो ।

तत्कालीन समयमा तीर्थव्रत गर्न जाने श्रद्धालु भक्तजन यही आश्रमको बाटो हुँदै जाने गरेको उहाँले बताउनुभयो । गुठी संस्थानमा दर्ता भई सञ्चालनमा रहेको यो नारायणश्वर शिवजी मन्दिर तथा आश्रम पुरानो र जीर्ण हुँदै गएपछि जीर्णोद्धारको काम अगाडि बढेको हो ।

“धर्म संस्कार संस्कृति तथा ऐतिहासिक दृष्टिले यस ठाउँको छुट्टै पहिचान रहेको छ”, उहाँले भन्नुभयो, “इतिहासको रक्षा र यस ठाउँको पहिचान नामेट हुन नदिन प्रयासरत छौँ ।” ऐतिहासिक महत्वको यो ठाउँमा रहेका आश्रम तथा मन्दिर जीर्ण भई लथालिङ्ग हुँदै गएपछि यसको संरक्षणका लागि चासो दिएर पुन:निर्माण गरिएको आश्रम निर्माण समितिका सचिव कृष्ण गिरीले बताउनुभयो ।

जीर्ण अवस्थामा रहेको आश्रम र शिवजी मन्दिरको पुन:निर्माण तथा जीर्णोद्धार गरिएको छ । सोही ठाउँमा साधुसन्तको आवासगृह, व्यवस्थित गौशाला, हवनकुण्ड, यज्ञकुण्ड, शौचालयलगायत भौतिक संरचनाहरु निर्माण गरिएको उहाँले बताउनुभयो । “समितिसँग निर्माण कार्य गर्न रकम नभएकाले सहयोगी सङ्घसंस्थाबाट आर्थिक सङ्कलन गरी निर्माण कार्य गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यस ठाउँको प्रचारप्रसारसँगै आर्थिक सङ्कलनका लागि यसअघि महायज्ञसमेत सञ्चालन गरेका थियौँ ।”

गाउँपालिकाले यस ठाउँको महत्वका बारेमा जानकारी गराउन स्थानीय पाठ्यक्रममा चम्पा गिरी जन्मआश्रम तथा नारायणश्वर शिवजी मन्दिरको विषयवस्तुलाई समावेश गरेको छ ।