१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद

एक्काइस वर्षपछि इलाका प्रशासन कार्यालय सञ्चालनमा, सेवाग्राही खुसी

एक्काइस वर्षपछि इलाका प्रशासन कार्यालय सञ्चालनमा, सेवाग्राही खुसी
अ अ+ अ-

जानकी । ‘आज आफ्नै पालिकाबाट नागरिकता पाउँदा निकै नै खुसी लागेको छ ।’ बाँकेको नरैनापुर वडा नं ४ का १८ वर्षीय मोहम्मद साहिल खाँले लुम्बिनी प्रदेश सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीको हातबाट नागरिकता लिँदै भन्नुभयो, “यही बनाउन मलाई नेपालगञ्ज जानुपथ्र्यो । जानआउन र नास्तापानीमै खर्च हुन्थ्यो । तर अब आफ्नै पालिकामा नागरिकता बन्ने भएपछि हाम्रो त खर्च नै नहुने भयो ।”

उहाँ बुवा इसराफिल खाँसँग नागरिकता बनाउन स्थानीय नरैनापुर गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय आउनुभएको थियो । विसं २०४७ मा स्थापना भएको उक्त इलाका प्रशासन तत्कालीन सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको थियो । बिहीबार मन्त्री केसीले उद्घाटन गरेसँगै २१ वर्षपछि पुन:सञ्चालनमा आएको छ ।

मोहम्मद जस्तै आफ्नै पालिकाबाट नागरिकता बन्छ भन्ने थाहा पाएपछि सोही वडाकी ३४ वर्षीय फूल जहाँ पनि काखमा छोरा च्यापेर ससुरासँग नागरिकता बनाउन आउनुभएको थियो । नेपालगञ्ज जाने दु:खले ३४ वर्षको उमेरसम्म नागरिकता नबनाउनुभएकी फुल जहाँ घर छेउस्थित कार्यालयले नागरिकता बनाइदिन्छ भन्ने कुराले खुसी लागेको बताउनुहुन्छ ।

“फाराम भर्दा मेरो जन्ममिति गलत भरिएछ । म जन्मदर्ताको प्रमाणपत्र लिन घर जाँदैछु”, उहाँले भन्नुभयो, “अहिले नेपालगञ्ज गएर यही गल्ती भएको भए पूरै दिन जान्थ्यो । कहाँ यति चाँडै घर गएर लिन पाइन्थ्यो र रु” हतारहतार दुई वर्षको छोरालाई काखमा च्यापेर गाउँपालिकाको गेट पारगरी फूल जहाँ जन्मदर्ता लिन जाँदै हुनुहुन्थ्यो । जान र आउनगरी झण्डै ९० किलोमिटरको दूरी पारगरी नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हटेकामा उहाँमात्र नभई नागरिकता बनाउन आएकाहरु खुसी बाँडिरहेका थिए ।

मोहम्मद र फूल जहाँ जस्तै सोही गाउँपालिका–२ गङ्गापुरका ७२ वर्षीय छोटु खाँ नागरिकताको प्रतिलिपि बनाउन आउनुभएको थियो । विसं २०४२ मा बनेको नागरिकताको अक्षर मेटियो र चिन्नै गाह्रो भयो भन्दै छोटु नागरिकताको प्रतिलिपि बनाउन तीन किलोमिटरको दूरीमा रहेको इलाका प्रशासन कार्यालय, नरैनापुरमा आउनुभएको थियो । “आजदेखि हाम्रै यही पालिकामा नागरिकता बन्छ रे भन्ने सुनेर आएको छु । कहाँ बनाइन्छ रु” भनी उहाँ पालिकाका कर्मचारीलाई सोध्दै हुनुहुन्थ्यो । मुसलमान समुदायको बाहुल्य रहेको सो नरैनापुर गाउँपालिकामा कारणबस लामो समयदेखि नागरिकताको प्रमाणपत्र नलिएका व्यक्तिको चहलपहल देखिन्थ्यो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री केसीले उक्त इलाका प्रशासन कार्यालयको बिहीबार उद्घाटन गर्दै नेपालगञ्जबाट पूर्वमा पर्ने दुर्गम क्षेत्रका रूपमा चिनिएको नरैनापुर गाउँपालिकाका सेवाग्राहीलाई नेपालगञ्ज धाउनुपर्ने समस्या अन्त्य भएको बताउनुभयो ।

“इलाका प्रशासन कार्यालयबाट हुने काम कारबाहीलाई केन्द्रीय सरकारको प्रत्यक्ष रूपमा उपस्थिति रहेको मैले महसुस गरेको छु”, उहाँले भन्नुभयो, “गाउँगाउँमा सिंहदरबार भनेको यही हो । जनताले पाउनुपर्ने सबैखाले सुविधा पाउनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध भएको यो एउटा उदाहरण पनि हो ।”

यसैबीच गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले आफ्नो पालिकामा प्रशासन कार्यालयको सेवा प्रवाह गर्न सुरू भएपछि उत्साहित भएको बताउँदै लामो समयदेखि उठाउँदै आएको माग पूरा गरिदिएकामा सरकारलाई धन्यवाद दिनुभयो ।

उद्घाटनपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सङ्घीय सरकारको नीतिअनुरुप घरदैलोबाटै नागरिकलाई सेवा पुर्‍याउने उद्देश्यका साथ इलाका प्रशासन सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले स्थानीय पालिकाबाट कार्यालय भवन प्राप्त भएपछि आवश्यक कर्मचारीको व्यवस्थासहित कार्यालय सञ्चालनमा आएको जानकारी क्रमश: अब नापी र मालपोत कार्यालयको काम पनि स्थानीय गाउपालिकाबाटै सञ्चालन गर्न पहल गरिने बताउनुभयो ।

उक्त पालिकामा ३४ हजार नौ सय ४२ जनसङ्ख्या रहेका छन् । नागरिकता वितरण निर्देशिका, २०६३ नेपाल नागरिकता ऐन, २०६३ तथा नेपाल नागरिकता नियमावली, २०६३  समेतको प्रक्रिया पुर्‍याइ बंशजका आधारमा नागरिकता वितरण गर्ने काम इलाका प्रशासन कार्यालयले गर्ने व्यवस्था छ । रासस