११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकारकर्मी बाटै मानवअधिकार संस्था बन्द !



अ+ अ-

काठमाडौ ।  वर्षौंदेखि आफूलाई मानवअधिकारकर्मीको रुपमा परिचित गराउँदै आएकाहरुले ३७ वर्षअघि स्थापना भएको एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ३, काठमाडौँ बन्द गरेका छन् । यही माघ ७ गते काठमाडौँमा भएको साधारणसभाबाट बन्द गर्ने निर्णय संस्थाका केही पूर्वसंयोजक र सदस्यहरुले गरेका हुन् । विश्वव्यापी मानवअधिकारको क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलको नेपालमा पनि शाखा छ । एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ३ लण्डनबाट स्वीकृति लिएर ३७ वर्षअघि नेपालमा स्थापना भएको संस्था हो ।

पूर्वसंयोजक समेत रहेका अधिकारकर्मी भवानी खरेलले साधारणसभाको माइन्युटसहित आफ्नो फेसबुकमा राखेर संस्था बन्द भएको बारे सार्वजनिकरुपमा जानकारी गराएका छन् । खरेलले सार्वजनिक गरेको संस्था बन्दसम्बन्धी माइन्युटमा केन्द्रको राजनीतिले मानवअधिकार अभियान राम्रो नभएको र केन्द्रका गतिविधि राम्रो नभएकाले संस्था बन्द गरिएको उल्लेख छ । मानवअधिकारकर्मीहरु डा. गोपालकृष्ण शिवाकोटी, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य प्राध्यापक कपिल श्रेष्ठलगायत अधिकारकर्मीहरु रहेको समूह ३ नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित थियो ।

केन्द्रबाट न्यूजपोलरलाई जानकारी प्राप्त भएअनुसार हाल यो समूहमा ७५ जना सदस्य थिए । पूर्वसंयोजक खरेलको बोलवाला रहेको यस समूह उनकै योजनामा बन्द गरिएको सो समूहका अन्य सदस्यहरुले बताएका छन् । कोभिड–१९ को तेस्रो लहरका कारण सरकारले २५ जनाभन्दा बढी उपस्थित नहुन, सभा सम्मेलन नगर्न आदेश जारी गरेका बेला आफ्ना ‘एसम्यान’हरुको उपस्थिति गराएर अन्य सदस्यहरुलाई जानकारी पनि नदिई साधारणसभा आयोजना गरेर हठात् संस्था बन्द गराएको देखिन्छ ।

केन्द्रको राजनीतिमा पराजित भएका खरेलले त्यही रिस साँध्न संस्था नै बन्द गरे 

२०७३ सालमा पोखरामा भएको एम्नेस्टी इन्टरनेसनल नेपालको निर्वाचनमा पत्रकार राजन कुइँकेलसँग पराजित भएका खरेलले त्यसकै बदला लिन ७५ जना केन्द्रीय सदस्यका लागि मानवअधिकारकर्मीको सदस्यमा नै ढोका लगाइदिएको चर्चा अहिले समूह ३ लगायत अन्य समूहका सदस्यहरुले गरेका छन् ।

सस्था बन्द गर्ने निर्णय  सामाजिक संञ्जाल मार्फत सार्बजनिक भएपछि कुईकेलले खरेलको पोष्ट माथी टिप्पणी गर्दे लेख्नु भएको छ- साह्रै दुःखद निर्णय । एउटा इतिहास बोकेको समूह बन्द हुनु राम्रो होइन । पुनर्विचार गर्नु होला, साथिहरू ।

खरेलको स्टाटस प्रति टिप्पणी गर्दे अधिकारकर्मी शेषकुमार निरौलाले लेख्नु भएको छ -दु: खद खबर,मानव अधिकारको क्षेत्रमा अहम भूमिका निर्वाह गरिरहेको ए.आई. समूह ३ बन्द हुनु भनेको एमनेष्टि इन्टरनेशनल नेपाललाई ठूलो क्षति हुनु हो, यस बिषयमा पुनर्विचार गर्न अनुरोध छ I

पोखराको निर्वाचनको प्रसङ्ग उनले साधारणसभामा पनि निकालेका थिए । राजनीतिक दलका नेता प्रयोग गरेर आफूलाई हराएको गुनासो पनि गरेको साधारणसभामा सहभागी एक महिला सदस्यले बताइन्। केन्द्रको राजनीति छ भन्दैमा स्थापित मानवअधिकार संस्था बन्द गर्न नमिल्ने वरिष्ठ मानवअधिकारकर्मीहरु बताउँछन् । केन्द्रको राजनीतिले यो समूहलाई के असर गर्यो भन्ने कहीँ पनि स्पष्ट किटानी गरिएको छैन । संस्था नै बन्द गर्ने यस किसिमको कार्य एम्नेस्टी इन्टरनेसनलको नियमविपरीत हो ।

डाक्टर शिवाकोटीसमेत सदस्य रहेको यो अन्तर्राष्ट्रिय संस्थाले पञ्चायती व्यवस्थाको बेलामा बन्दी बनाइएको नेपालका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई तथा अन्य धेरै तत्कालीन राजनीतिक नेताहरुको विनाशर्त रिहाइका लागि ठूलो भूमिका खेलेको थियो । विभिन्न पेशाकर्मी तथा पत्रकारहरु समेत रहेको यस संस्थामा पछिल्लो समय सक्रिय हुन खोज्ने सदस्यहरुको सदस्यता नै नवीकरण गराइएको थिएन ।

निर्णय प्रति असन्तुष्टि जनाउनेहरुलाई खरेल पुत्र कञ्चनले पनि स्पष्टिकरण दिनु भएको छ । उहाँले लेख्नु भएको छ- मानव अधिकारको अभियान बन्द भएको छैन, यो त निरन्तर चलिरहन्छ, तर Amnesty Nepal समुह ३ बन्द हुनु भनेको नेपालमा मानब अधिकारको नाममा राजनीतिक दलका कार्यकर्ताको राजनीति गर्ने थलोको रुपमा बिकास भएको अवस्थाको बिरोधको अन्तिम स्वरुप हो! Candle 🕯 बल्छ भने निभ्छ पनि, घाम झुल्किन्छ र आस्थाउन्छ पनि! यो अभियानमा लाग्नु भएका सम्पुर्ण निस्पक्ष र असल साथीहरुलाई हार्दिक बधाई र शुभकामना I

यसै गरी अर्का अधिकारकर्मी ध्रुब कार्कीले लेख्नु भएको छ- गहन छलफल बेगर यस्तो निर्णयमा अवश्य पनि पुगिएन होला।एउटा सबल ,सक्षम र एम्नेष्टीको ऐतिहासिक पृष्ठभूमि बोकेको समूहले समुहगत हिसाबमा यो संस्थाबाट अलग हुनु अवश्य पनि दुस्खद कुरो हो।थप टिप्पणी नगरी यति मात्र भन्न चाँहे।

एम्नेस्टी इन्टरनेसनल नेपाल पूर्व अध्यक्ष तथा वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईले संस्था बन्द गरेर सदस्यहरुको मानब अधिकार नै हनन् गरेको .बताउनु भयो । उहाँले भन्नुभयो व्यक्तिको महत्वकाक्षा  र  असन्तुष्टिको शिकार संस्था बन्नु हुदैन । 

संस्था बन्द गर्ने प्रस्तावमा वरिष्ठ अधिकारकर्मी शिवाकोटीको पनि हस्ताक्षर

नेपालमा मात्र होइन अन्तर्राष्टिय क्षेत्रमा समेत मानवअधिकारकर्मीका रुपमा आफ्नो परिचय स्थापित गरेका समूह ३ का पूर्वसंयोजक डा. गोपालकृष्ण शिवाकोटी समेतले संस्था बन्द गर्ने प्रस्तावमा हस्ताक्षार गरेका छन् । ७५ सदस्य रहेको संस्थाका जम्मा २६ जनाले संस्था बन्दसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका छन् । वर्तमान कार्यसमितिका सचिव माधवप्रसाद नेपाल र पूर्वसंयोजक गणेशप्रसाद घिमिरेले हस्ताक्षर गरेका छैनन् ।

पूर्व संयोजकद्वय शिवाकोटीले आफू अध्यक्ष रहेको इन्हुरेड इन्टरनेसनल र खरेल अध्यक्ष भएको राष्ट्रिय मानवअधिकार प्रतिष्ठान भने यथावत चलाइरहेका छन् । आफ्नो नेतृत्वको मानवअधिकारसम्बन्धी संस्था यथावत राखेर साझा र पुरानो संस्था बन्द गर्न सक्रिय भूमिका निर्वाह गर्ने दुवै पूर्व संयोजकमाथि नै अहिले मानवअधिकारकर्मीहरुले शङ्काको दृष्टिले हेरेका छन् ।

पूर्वसंयोजक खरेलले आफ्नो फेसबुक वालमा सार्वजनिक गरेको संस्था बन्द गर्ने निर्णयबारे व्यक्त चासो र चिन्तामा उनैले संस्था बन्दको पक्षमा स्पष्टीकरण दिइरहेका छन् । उनले अन्य समूहको साधारणसभामा पनि संस्था बन्द सही निर्णय भएको भनी वकालत गरिरहेका छन् । कमेण्टको स्क्रीनसट राख्ने खरेलले माघ ९ गते सदस्यता नरहेको जानकारी दिई एमनेस्टी इन्टरनेशनल नेपाल शाखालाई पठाएको पत्रमा मिति ११ गतेको राखिएको छ ।

समुह ३ बन्द गर्ने निर्णयलाई लिएर नेपालका मानवअधिकार क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुले समेत गम्भीर चासो व्यक्त गरेका छन् । आफैँले जन्माएको मानवअधिकारको लामो इतिहास बोकेको संस्था बन्द गर्नमा नाइके भएर अघि सर्नुमा पूर्वसंयाेजककाे भित्री मनसाय के छ ? भन्ने विषय अहिले अधिकारकर्मीहरुबीचको बहसको विषय बनेको छ । समूह ३ का पूर्वसंयोजक खरेलकी श्रीमती इन्दिरा चुडाल खरेल झण्डै दुई दशकभन्दा बढी एम्नेस्टी इन्टरनेसनल नेपाल शाखामा कर्मचारीको रुपमा काम गरिसकेकी थिइन् । उनका छोरा कञ्चन खरेल समूह ३ कै युथ नेटवर्कका पूर्वसंयोजक हुन् । यसबाट खरेलको परिवार नै पूरै एमनेस्टी अभियानमा संलग्न देखिन्छ ।

केन्द्रको निर्वाचनमा पराजित भएपछि पूर्वसंयोजक खरेलले एम्नेस्टी अभियान राम्रो नभएको, राजनीति भएको जस्ता टिप्पणी गर्दै आएको एम्नेस्टी इन्टरनेसनल नेपालका एक जना बोर्ड सदस्यले बताए । जे जस्तो कारण देखाए पनि व्यक्तिगत स्वार्थले मानवअधिकार जस्तो पवित्र संस्थालाई बन्द गर्नु भनेको एम्नेस्टीको अन्तर्राष्टिय मूल्य मान्यताविपरीत छ ।