१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरुले पुराना दललाई अपमान गरिरहेको आरोप लगाउनु भयो । उहाँले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको बताउनु भयो । उहाँले नयाँ राजनीतिक दलहरुले बोल्दा हेक्का राखेर बाेल्नुपर्ने बताउनु भयो । पुराना दलहरुको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरुले आफूलाई जन्मदिने आमाबुबालाई अपमान गरेझैँ पुराना दलहरुको अपमान गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन, नेपालका पार्टी नेताहरु कोही पनि ठिक छैनन् । त्यसकारण नेपालमा बस्नु भन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञान वा मनोभावना वा त्यसलाई उत्प्रेरित गर्ने कोशिष भइरहेको छ । सच्चाइ त्यही बिल्कुल होइन । सच्चाइ त्यसको ठिक उल्टो छ । नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको उनीहरुले नै हो । र अहिले केही नयाँ नयाँ मानिसहरु हामी नयाँ, हामीले गर्छौं भन्ने ठाउँ दिएको पनि तिनै ठूला पार्टीहरुको त्याग, तपस्या र बलिदान हो । इमान्दारिता यही हुन्छ की, नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन । नयाँ आएर बोल्नेहरुको जिम्मेवारी हुन्छ की पुराना पार्टीहरुले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलढेको भए लाकतान्त्रिक गणतन्त्र र ति नयाँ मान्छेहरु आउने वातावरण बन्न सम्भव थियो त ? बिल्कुल थिएन । उनीहरुले त पुरानाहरुलाई सम्मान गर्नुपर्ने, तपाईंहरुको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायाँै भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाउआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि । आमा बाउलाई त बुढाबुढीलाई त सम्मान पो गर्नुपर्छ । तिनलाई अपमान गर्ने प्रवृत्ति देखापर्न खोजेको छ, यो प्रतिकात्मक रुपमा मैले भनेको हुँ । यसको सारतत्व वर्गीय नै छ ।’

प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले जीवनको उत्तराद्र्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको बताउनु भयो । उहाँले अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईं हामी कताकता पहिलाको जस्तो सक्रियता जीवन देख्ने पार्टी, आन्दोलन देख्ने लोकतन्त्रमा त्यसमा कमी आएकै छ । त्यो हामीले आत्मसमीक्षा गर्नुपर्छ । निराश हुनु हुँदैन । कयौँ साथीहरुलाई लाग्छ, पार्टी नेतृत्वको हैसियतले नेतृत्वले के गरिरहेको छ ? पहिलाको जस्तै छ की अर्कै छ की ? बिग्रियो की, साँच्चै हो की होइन भन्ने खालले विभिन्न रुपमा तपाईंहरुको मनमा पनि मुख्य नेतृत्वप्रति पनि प्रश्न उठ्छन् होला । बेस्सरी आलोचना हुँदा नमिठो लाग्छ होला । जीवनको उत्तराद्र्धतिर त लागिएकै छ । किनभने ७० तिरबाट अघि बढ्नु उत्तराद्र्ध नै हो । तर म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु । बरु जनयुद्धमा मेरो जीवन सरल थियो । अहिले अझ बढी खट्नुपर्ने । विभिन्न राजनीतिक दलहरु कहिले यता, कहिले उता पनि भन्छन् । तर मैले पार्टी आन्दोलन देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरु, बाहिर र सदन भित्र भएकाहरुलाई पनि संयोजन गर्नेकुरा गरिरहेको छु । कहिले कहीँ त मलाई यस्तो लाग्छ, मैले नेपाली काँग्रेस, नेकपा एमालेलाई पनि अरु पार्टीलाई पनि संयोजन गर्ने, उहाँहरु भित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपर्ने जस्तो गरी मैले काम गर्नु परिरहेको छ । मैले गरिरहेको पनि छु ।’

उहाँले वृहत्तर एकतातिर पनि आफू अघि बढिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल