१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रतिनिधिसभा सदस्यहरुले सरकारलाई गराए जनसरोकारका विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभा सदस्यहरुले सरकारलाई गराए जनसरोकारका विषयमा ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले जनसरोकारका विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले जनसरोकारका महत्वपूर्ण विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म पनि अन्तर्राष्ट्रिय विमान उडान हुन नसक्नुको कारण के हो ? भनि प्रश्न गर्नुभयो । उहाँले सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न पहल गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले सरकारी अस्पतालमा अपरेशन गर्नका लागि महिनौँसम्म कुर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले समयमै उपचार गर्नका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र जनशक्ति व्यवस्थापको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘ठूला सरकारी अस्पताल जहाँ सामान्य अपरेशन हर्नियाको, पत्थरीको अपरेशन गर्नुपर्‍यो भने ९ महिनासम्म कुर्नुपर्छ । वर्षौं कुर्नुपर्ने अवस्था छ, सम्बन्धित अस्पतालको क्षमता अभिवृद्धि, जनशक्ति व्यवस्थापनका लागि विशेष पहल गरोस् । देशभरी अस्पतालको क्षमता अभिवृद्धि र जनशक्ति व्यवस्थापन गरोस् ।’

प्रतिनिधि सभा सदस्य मेनकाकुमारी पोखरेलले सेना, प्रहरीहरु हिंसाको घटनामा संलग्न रहने गरेका भन्दै उनीहरुलाई तालिम दिँदा नै मनोविमर्श पनि दिनुपर्ने बताउनु भयो । त्यस्तै विद्यालयको पाठ्यक्रमबाट नै मनोविमर्श दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सेना, प्रहरीजस्तो निकायबाट हिंसाका घटनाहरु हुने गरेका छन् । दाङमा मात्र ३ वटा घटना घटेका छन्, विभत्स घटना । यस्ता घटना घट्न नदिन मनोविमर्शको कुरालाई पनि पाठ्यक्रम बनाएर स्कुलबाटै मनोविमर्शका कुरा लिएर जानुपर्छ भनेर सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारी नुन खाँदाखाँदै विदेशीको नागरिकता लिएका कर्मचारीहरु रहेका भन्दै उनीहरुलाई चिन्न पाउनुपर्ने बताउनु भयो । उहाँले त्यस्ता कर्मचारीहरुलाई कारबाही गरेर संसदलाई जानकारी गराउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘पिआर भएका कर्मचारी लगायतको दोहोरो नागरिकता छ कि छैन ? छानविन गर्न भनेर अख्तियारले लेखेको चिट्ठीले प्रधानमन्त्री कार्यालयमा बाटो बिरायो रे । बल्ल बल्ला फेला त परेको छ रे, फेला परेर पनि कारबाहीका लागि अब लेखिएको छ भन्ने पढ्न पाइएको छ समाचार पत्रहरुमा । केही विशिष्ट श्रेणीका कर्मचारीहरु पनि त्यसमा छन् रे । नेपाली सरकारको नुन खाँदाखाँदै विदेशीको नागरिकता लिनपनि रहर लाग्ने महानुभावहरु को–को रहेछ ? त्यो हामीले चिन्न पाउनुपर्‍यो । अख्तियारको कारबाहीमा सम्बन्धित प्रशासनले छिटो कारबाही गरेर त्यसको जानकारी संसदलाई दिइयोस् ।’

प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले सरकारले ११ जना राजदुतलाई बिना कारण फिर्ता बोलाउनु कुटनीतिक असक्षमता भएको बताउनु भयो । उहाँले राजदुतहरु संसदीय सुनुवाई समितिमा सुनुवाई र अनुमोदन भएपछि मात्रै नियुक्त हुने गरेका भन्दै यसरी फिर्ता बोलाएको कुरा समितिलाई समेत ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य रामकृष्ण यादवले सरकारले राजदुत फिर्ता गर्नाले कुटनीतिक क्षेत्रमा अस्थिरता निम्तिएको भन्दै सरकारले संसदमा जवाफ दिनुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले मन्त्रीहरु बजेट विनियोजन गर्दा आफ्नो वडा, पालिका र जिल्लाभन्दा माथि उठ्न नसकेका बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको सम्बन्धमा संसदलाई जानकारी दिनुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा प्रोटोकल बाहिरको मान्छेसमेत उपस्थित रहेको भन्दै यसबारे पनि जवाफ माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य रोशन कार्कीले मन्त्रीहरुले आफ्नो जिल्लामा मात्रै बजेट लगेका भन्दै मन्त्रीहरुको बजेट फिर्ता गराएर बजेट शुन्य बनाउनुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य लालविर चौधरीले साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानबाट किसानहरुले प्रत्यक्ष रुपमा मल पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले विपन्न नागरिकलाई नि:शुल्क उपचार गर्नका लागि छुट्ट्रै विपन्न नागरिक अस्पताल खोल्न माग गर्नुभयो । उहाँले गरिबीको रेखामुनि रहेका नागरिकलाई परिचयपत्र दिनुपर्ने र सोही परिचयपत्रको आधारमा नि:शुल्क उपचार हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पछिल्लो समय नेपालमा क्यान्सर लगायतका गम्भीर प्रकारको रोगहरु आम नागरिकमा व्याप्त देखिन्छ । सरकारी अस्पताल सम्पन्न र पहुँचवालाको भएको छ । विपन्नले बेड पाउँदैन । आयसियु भेन्टीलेटर पाउँदैन । विपन्न नागरिकलाई गरिबी परिचयपत्र वितरण गरी गरिबीको रेखामुनी रहेका नागरिकलाई परिचयपत्र । परिचयपत्रका आधारमा विपन्न नागरिकले नि:शुल्क र गुणस्तरीय सेवा प्राप्त गर्ने उद्देश्यले विपन्न नागरिक अस्पताल खोल्ने र विपन्न नागरिकलाई मात्र उपचार गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिनिधि सभा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणको काममा ढिलाइ भइरहेको सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।